कर तथा भन्सारसम्बन्धी कानुनी ज्ञान अभावले व्यवसायी जोखिममा, सचेतना बढाउन अभिमुखीकरण


पालिका पत्र

2 August, 2026 12:00 pm मा प्रकाशित

कपिलवस्तु, साउन १७ । कर तथा भन्सारसम्बन्धी कानुनी व्यवस्था, बदलिँदो कर प्रणाली तथा भन्सार प्रक्रियाबारे व्यवसायीलाई अद्यावधिक जानकारी गराउने उद्देश्यले उद्योग व्यापार संघ कपिलवस्तुले शनिबार कर तथा भन्सारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

व्यवसाय सञ्चालनका क्रममा कानुनी प्रक्रियाको जानकारी अभाव, नीतिगत परिवर्तनबारे समयमै सूचना नपाउँदा व्यवसायीहरू अनावश्यक जरिवाना, कानुनी झन्झट तथा आर्थिक क्षतिसमेत व्यहोर्न बाध्य हुने अवस्था बढ्दै गएको भन्दै संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमनारायण पराजुलीले मुलुकको आर्थिक समृद्धिको आधार निजी क्षेत्र भएकाले कर प्रशासन र व्यवसायीबीच विश्वास, पारदर्शिता तथा सहकार्यको वातावरण निर्माण हुनुपर्ने बताए । उनले कर तिर्नु व्यवसायीको दायित्व भए पनि कर प्रणाली सरल, पारदर्शी र व्यवसायमैत्री हुनुपर्नेमा जोड दिए । व्यवसायीलाई कानुनी जानकारीबाट सशक्त बनाउँदै राजस्व प्रणालीप्रति सकारात्मक सोच विकास गर्न यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

कृष्णनगर भन्सार कार्यालयका प्रमुख फणिन्द्र खतिवडाले भन्सार प्रणालीलाई पछिल्ला वर्षहरूमा थप प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी बनाइएको उल्लेख गर्दै वैध व्यापार प्रवर्द्धन गर्नु भन्सार प्रशासनको प्राथमिकता रहेको बताए । उनले भन्सार ऐन, आयात–निर्यात प्रक्रिया, आवश्यक कागजात, भन्सार मूल्याङ्कन, वर्गीकरण तथा सीमाक्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका विषयमा जानकारी गराउँदै कानुनी प्रक्रिया पालना गरे व्यवसायीले अनावश्यक समस्या भोग्नु नपर्ने स्पष्ट पारे ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले कर प्रशासन केवल राजस्व संकलन गर्ने निकाय मात्र नभई करदाता मैत्री सेवा प्रवाह गर्ने संस्थाका रूपमा अघि बढिरहेको बताए। उनले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अग्रिम कर, कर विवरण बुझाउने प्रक्रिया, विद्युतीय बिलिङ प्रणाली तथा समयमै कर विवरण पेश गर्नुको महत्वबारे जानकारी गराउँदै स्वेच्छिक कर अनुपालनले व्यवसाय र राज्य दुवैलाई लाभ पुग्ने उल्लेख गरे ।

कृष्णनगर भन्सार कार्यालयका भन्सार अधिकृत चुरा बहादुर सर्तुङ्गीले भन्सार प्रणाली, आयात–निर्यातका व्यवहारिक प्रक्रिया, भन्सार घोषणा, मालवस्तुको वर्गीकरण, उत्पत्तिको प्रमाणपत्र, आवश्यक कागजात तथा सीमामा अपनाउनुपर्ने कानुनी व्यवस्थाबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले गलत घोषणा, अपूर्ण कागजात वा कानुनविपरीत गरिने कारोबारले व्यवसायीलाई ठूलो आर्थिक तथा कानुनी जोखिममा पार्न सक्ने भएकाले सबै प्रक्रिया विधिसम्मत रूपमा पूरा गर्न आग्रह गरे ।

कार्यक्रममा कर प्रशासन, भन्सार प्रणाली, व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानुनी प्रक्रिया, राजस्वसम्बन्धी दायित्व तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी व्यवसायीहरूले भोगिरहेका व्यवहारिक समस्या, कर तथा भन्सार प्रशासनसँग सम्बन्धित जिज्ञासा, नीतिगत अस्पष्टता तथा सेवा प्रवाहका विषयमा आफ्ना सुझावसमेत राखेका थिए। सम्बन्धित कार्यालयका प्रमुखहरूले उठाइएका प्रश्नको जवाफ दिँदै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण वेल्बासेले पछिल्ला समय कर तथा भन्सारसम्बन्धी नीतिमा भइरहेका परिवर्तनबारे समयमै जानकारी नहुँदा व्यवसायी अन्योलमा पर्ने गरेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले व्यवसायीको क्षमता अभिवृद्धि, कानुनी सचेतना विस्तार तथा राज्य र निजी क्षेत्रबीचको समन्वय सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

निर्वर्तमान अध्यक्ष खिमानन्द पौडेलले व्यवसायीहरूलाई समयअनुकूल कर तथा भन्सारसम्बन्धी कानुनी जानकारी उपलब्ध गराउनु आजको आवश्यकता भएको बताए । उनले बदलिँदो कर नीति, डिजिटल प्रणाली तथा भन्सार प्रक्रियाबारे जानकारीको अभावले व्यवसायीहरू अनावश्यक कानुनी झन्झट र आर्थिक भारमा पर्न सक्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले राज्य र निजी क्षेत्रबीच आपसी विश्वास, सहकार्य र नियमित संवादबाट मात्र वैध व्यापार प्रवर्द्धन, राजस्व चुहावट नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उद्योग व्यापार संघ कपिलवस्तुका महासचिव माधव भाट क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्