विद्यालयका बस चालक तथा सहचालकलाई सुरक्षा प्रशिक्षण


पालिका पत्र

7 September, 2026 8:50 pm मा प्रकाशित

कपिलवस्तु, २२ भदौ । विद्यार्थी ओसारपसार गर्ने विद्यालयका बस चालक तथा सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बाणगंगा र शिवराज नगरपालिकामा सञ्चालित विद्यालयलाई लक्षित गरी सडक सुरक्षा तथा सचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।

विद्यार्थी ओसार्ने सवारी चालकको हातमा भविष्यका कर्णधारको जीवन र सुरक्षासमेत जोडिएको भन्दै चालकलाई सवारी चलाउँदा थप जिम्मेवार र संयमित हुन आग्रह गरिएको छ । सामान्य असावधानीले समेत ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सवारी सञ्चालनका क्रममा ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बालबालिकाको सुरक्षा चालकको पहिलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेजस्ता गतिविधिबाट चालक टाढा रहनुपर्ने बताउनुभयो ।

सवारी चालकलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले चालक र प्रहरीबिच सहकार्य तथा नियमित समन्वय भएमा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

उहाँले प्रशिक्षणको क्रममा ट्राफिक नियमको पालना, ट्राफिक सङ्केतको पहिचान तथा प्रयोग, सवारी कसुरमा हुने दण्ड–जरिमाना र सडक दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनुभएको थियो ।

बाणगंगामा रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको आयोजनामा भएको कार्यक्रममा विद्यालयका बस चालक तथा सहचालक गरी ९४ जनाको सहभागिता थियो । यस्तै, शिवराजमा आयोजित कार्यक्रममा ६० जना चालक तथा सहचालक सहभागी भएको प्रहरी नायव निरीक्षक राजीव विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्