कपिलवस्तु । १७ औँ कपिलवस्तु महोत्सवलाई व्यापार तथा मनोरञ्जनमा मात्र सीमित नराखी शैक्षिक र सिर्जनात्मक गतिविधिको साझा थलोका रूपमा विकास गर्ने तयारी गरिएको छ । महोत्सवमा विद्यार्थीको प्रतिभा पहिचान तथा प्रस्फुटन गराउने उद्देश्यसहित विभिन्न शैक्षिक प्रतियोगिता र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको परिसर चार नम्बर जितपुरमा आयोजित छलफलमा महोत्सव अवधिभर सञ्चालन गरिने शैक्षिक प्रतियोगिता, विद्यार्थी लक्षित कार्यक्रम तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको हो ।
शैक्षिक संस्था समन्वय समितिको आयोजनामा भएको छलफलमा जिल्लाका विद्यालयहरूको सहभागिता बढाउने, विद्यार्थीको सिर्जनात्मक क्षमता र प्रतिभा उजागर गर्ने तथा शैक्षिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो ।
छलफलमा महोत्सवअन्तर्गत सञ्चालन हुने १५ औँ कपिलवस्तु डान्स आइडल र दोस्रो कपिलवस्तु मम्मी डान्स आइडललाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने विषयले समेत प्राथमिकता पाएको थियो । विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गर्दै महोत्सवका गतिविधिलाई जिल्लाको शैक्षिक र सांस्कृतिक क्षेत्रसँग जोड्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए ।
छलफलमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, उपाध्यक्ष नारायण पौडेल, महासचिव नवदत्त घिमिरे, शैक्षिक संस्था समन्वय समिति संयोजक बासुदेव घिमिरे, समाजसेवी दोलकबहादुर पछाईलगायत विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले महोत्सवलाई व्यापारिक कारोबार र मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीको प्रतिभा पहिचान, ज्ञान, सीप र सिर्जनशीलता अभिवृद्धि गर्ने अवसरका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
१७ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आगामी मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालामा सञ्चालन हुँदैछ । महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापार, कला, संस्कृति, मनोरञ्जनसँगै विभिन्न शैक्षिक गतिविधिसमेत समावेश गरिने आयोजकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्