जितपुर । १७औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८३ को सांस्कृतिक आकर्षणका रूपमा रहने १५औँ कपिलवस्तु डान्स आइडल तथा दोस्रो मम्मी डान्स आइडलको पहिलो अडिसन राउण्ड सुरु भएको छ।
शनिबारदेखि सुरु भएको अडिसनमा पहिलो दिनदेखि नै सहभागीहरूको उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ। नृत्यकलामा रुचि राख्ने नयाँ प्रतिभालाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
बाणगंगा नगरपालिका–४, जितपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भइरहेको अडिसनमा प्रत्यक्ष उपस्थित भएर सहभागी हुन सकिने व्यवस्था गरिएको छ। त्यसैगरी डिजिटल माध्यमबाट समेत सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ।
१५औँ कपिलवस्तु डान्स आइडलका संयोजक विष्णु भट्टराई मल्लको अध्यक्षता तथा १७औँ कपिलवस्तु महोत्सव मूल समारोह समिति संयोजक गणेशबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा अडिसन अघि बढाइएको हो।
कार्यक्रममा महोत्सव निर्देशक हुमनाथ पौडेल, वाणिज्य उपाध्यक्ष नारायणप्रसाद पौडेल, महासचिव नवदत्त घिमिरे, सहकोषाध्यक्ष कृष्णप्रसाद गैरे, सदस्य खिलप्रसाद शर्मा, प्रेस संयोजक अशोक पौडेल तथा निर्णायक हरि शरण रिजाललगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार डान्स आइडल र मम्मी डान्स आइडललाई महोत्सवको मनोरञ्जनात्मक कार्यक्रमका रूपमा मात्र नभई स्थानीय प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने अवसरका रूपमा विकास गर्न खोजिएको छ। विशेषगरी स्थानीयस्तरमा लुकेर रहेका नृत्य प्रतिभालाई उचित मञ्च प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।
महोत्सवलाई व्यापारिक तथा औद्योगिक गतिविधिमा मात्र सीमित नराखी कला, संस्कृति, मनोरञ्जन र प्रतिभा प्रस्फुटनको साझा थलो बनाउने लक्ष्यसहित यी प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ।
१७औँ कपिलवस्तु महोत्सव यही मंसिर १७ गतेदेखि २९ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालामा सञ्चालन हुँदैछ। महोत्सव नजिकिँदै गर्दा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको तयारीसमेत तीव्र पारिएको छ।






प्रतिक्रिया दिनुहोस्