बाणगंगा, ०५ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा रहेको बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको प्रगति, आर्थिक अवस्था, किसानको हित संरक्षण तथा दुग्ध उत्पादन प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिका वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र बेल्वासेले सहकारीले किसानको हितमा गर्दै आएका गतिविधिको प्रशंसा गर्दै नगरपालिकाकै उत्कृष्ट सहकारीका रूपमा स्थापित हुनु खुसीको विषय भएको बताए ।
उनले सहकारीले आगामी दिनमा पनि किसानको हकहितलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै किसानको आर्थिक अवस्था सुधार, दुग्ध उत्पादन वृद्धि र पशुपालन व्यवसायको प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, अतिथि वडा सदस्य शारदा परियारले सहकारीले उपभोक्ता तथा दुग्ध उत्पादक किसानको हितलाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरिन् । उनले किसानका समस्या र आवश्यकतालाई पहिचान गरी सहकारीका सेवा तथा गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा उत्कृष्ट तथा नियमित दुग्ध उत्पादक किसान, ज्येष्ठ शेयर सदस्य र संस्थाका कर्मचारीलाई सम्मान गरिएको थियो । किसानको योगदानको कदर गर्दै नियमित दुग्ध उत्पादनमा संलग्न किसानलाई सम्मान गर्नुले अन्य किसानलाई समेत प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
साधारण सभामा अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी सचिव सूर्यप्रसाद भण्डारीले संस्थाको प्रगति प्रतिवेदन तथा गिरीराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले हालसम्म गरेका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे प्रतिवेदनमार्फत जानकारी गराइएको थियो । सहकारीले दुग्ध उत्पादक किसान र उपभोक्ताबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउँदै दुग्ध उत्पादन तथा बजारीकरणलाई प्राथमिकता दिनुपर्ने विषयसमेत कार्यक्रममा उठेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष थानेश्वर शर्माले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव सूर्यप्रसाद भण्डारीले गरेका थिए ।
साधारण सभामा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, उपभोक्ता, सञ्चालक समिति, शेयर सदस्य र सल्लाहकारलगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्