बाणगंगा, ०५ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रमा रहेको मधौलिया सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा नन्दराम पोख्रेल चयन हुनुभएको छ । समूहको २३औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट पोख्रेल अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा सोमकुमारी बन्जाडे, सचिवमा विष्णु मल्ल, सहसचिवमा फूलकुमारी थारु र कोषाध्यक्षमा दुर्गाबहादुर घर्ती क्षेत्रीलाई निर्विरोध चयन गरेको छ । अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन् ।
नयाँ नेतृत्व चयनसँगै सम्पन्न साधारण सभाले वन संरक्षण, दिगो व्यवस्थापन, उपभोक्ताको आर्थिक तथा सामाजिक विकास र वनमा आधारित उद्यम प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने विषयलाई जोड दिएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०८३/०८४ का लागि १ करोड ६० लाख रुपैयाँभन्दा बढीको प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । प्रस्तावित कार्यक्रममा वन संरक्षण, वन व्यवस्थापन, पूर्वाधार विकास तथा सामुदायिक वनको संस्थागत सुदृढीकरणका विभिन्न योजनालाई प्राथमिकता दिइएको जनाइएको छ ।
वनको वार्षिक बजेट र कार्यक्रमले वनलाई केवल काठ तथा दाउरा उत्पादनको स्रोतका रूपमा मात्र नभई वातावरण संरक्षण, स्थानीय रोजगारी र समुदायको आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकतालाई समेत उजागर गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक वनका गतिविधि उपभोक्तामुखी, पारदर्शी र परिणाममुखी हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष होमकान्त भट्टराईले वनको संरक्षण र दिगो व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक वनलाई स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, बाणगंगा नगरपालिका वडा नं. १ का कार्यवाहक वडाध्यक्ष राजकुमार चौधरी, वडा नं। ५ का निवर्तमान वडाध्यक्ष भीष्मराज भुसाल, श्रृङ्घिघाट सामुदायिक वनका अध्यक्ष गणेश सिंह ठकुरीलगायतले शुभकामना मन्तव्य राख्दै वन संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितमा केन्द्रित भएर काम गर्न नयाँ नेतृत्वलाई सुझाव दिनुभयो ।
कार्यवाहक अध्यक्ष तुलसीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष सोमकुमारी बन्जाडेले आर्थिक वर्ष २०८२/०८३ को आयव्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक विष्णुबहादुर केसीले लेखा समितिको प्रतिवेदन र कार्यवाहक अध्यक्ष अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, वनका उपभोक्ता तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
वनका सहसचिव दुर्गाबहादुर घर्ती क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अवसरमा मधौलिया वन उद्यानको दोस्रो साधारण सभा पनि सम्पन्न भएको समुहले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्