कपिलवस्तु, मङ्सिर ५ गते ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डले अब नयाँ स्वरूप पाउने भएको छ । लामो समयदेखि प्रतीक्षामा रहेको सडक विस्तार योजनाको ठेक्का सम्झौता सम्पन्न भएसँगै निर्माण प्रक्रिया अघि बढेको छ ।
बुद्धभूमि नगरपालिकाको बेलगुर्दुवा नदीदेखि शिवराज नगरपालिका–६ स्थित उमरी चोकसम्मको सडक ‘एक्सेस’ (नेपाल फेज वान प्रोजेक्ट) अन्तर्गत निर्माण हुन लागेको हो । उक्त सडक निर्माणका लागि ‘चाइना एमसिसि १७ ग्रुप’ कम्पनीसँग सम्झौता गरिएको छ ।
करिब चार अर्ब ५६ करोड रुपियाँ लागतमा निर्माण हुने १९ .२ किलोमिटर लामो सडक आयोजना दुई वर्ष पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त सडकअन्तर्गत बजार क्षेत्रमा करिब चार किलोमिटर सडक छ लेन र अन्य क्षेत्रमा चार लेनको हुने छ ।
सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको सडक निर्माण हुने बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताउनुभयो ।
सवारीसाधन र यात्रुको बढी चाप हुने चन्द्रौटा चोकमा फ्लाई ओभर तथा भेइकुलर अन्डरपास ९भियुपी० निर्माण हुने छ । २० मिटर चौडा र ८०० मिटर लामो भियुपी निर्माण गरिने छ । नेपाल–भारत सीमामा पर्ने कृष्णनगर जाने सहायक मार्गमा भियुपी निर्माण गरिने छ ।
यसले सडकमा हुने दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । लामो दूरीका सवारीसाधन भियुपीको माथिबाट आवतजावत गर्ने छन् भने स्थानीय सवारीसाधन भियुपीभित्रबाट सञ्चालन हुने छन् ।
पैदलयात्रीलाई सडक वारपार गर्न भियुपीको दायाँबायाँ दुई वटा पेडेस्ट्रियन अन्डरपास निर्माण गरिने छ । सडक विस्तारका क्रममा दुई ठुला र छ साना गरी आठ वटा नयाँ पुल तथा ७२ स्थानमा कल्भर्ट निर्माण हुने छन् । सडकका दुवै छेउमा २।५ मिटरका पैदलमार्ग निर्माण गरिने सडक आयोजना कार्यालयका इन्जिनियर जिगेश चौधरीले बताउनुभयो ।
सडक निर्माण गर्दा वन्यजन्तु तथा वातावरणमैत्री संरचना बनाइने छ । वन्यजन्तु र स्थानीयले पालेका पशुचौपायाको आवतजावतका लागि अन्डरपास निर्माण गरिने छ । ठुला वन्यजन्तु आवतजावत गर्न बेलगुर्दुवा र ज्वाई खोलामा संरचना निर्माण गरिने छ । मझौला तथा साना वन्यजन्तुको आवतजावतका लागि छ वटा अन्डरपास निर्माण हुने छन् ।
प्रतिघण्टा १०० किलोमिटरको गतिमा सवारीसाधन गुडाउन सकिने गरी निर्माण गर्न लागिएको सडक आधुनिक तथा वातावरणमैत्री हुने छ । सडकको डिभाइडरमा फलफूलका बिरुवा लगाउने, सडक बत्ती जडान गर्ने तथा यात्रु प्रतीक्षालय र सवारी रोक्ने स्थलसमेत निर्माण गरिने छन् ।








प्रतिक्रिया दिनुहोस्