सुत्केरी र जेष्ठ नागरिकका लागि पोषण प्याकेज


पालिका पत्र

18 June, 2025 9:47 pm मा प्रकाशित

मधुवन सामुदायिक वन उपभोक्ता समुहले पोषण युक्त खानेकुरा वितरण गरेको छ । वनले जेष्ठ नागरिक सम्मान, सुत्केरि तथा नवजात शिशु लक्षित गरी पोषण युक्त खानेकुरा वितरण गरेको हो । बुधबार समूहको आफ्नै भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच पोषण सामग्री वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सब डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत एजाज अन्सारीले पोषण मानिसको आधारभूत आवश्यकता भएको बताउँदै, पोषणले मानिसलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत पुर्‍याउने बताए । उनले जेष्ठ नागरिकलाई समाज रुपान्तरणका आधार स्तम्भको रूपमा सम्मान गर्नुपर्नेमा जोड दिँदै, “हेला होइन, माया गर्नु जरुरी छ,” भन्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा वन समूहका अध्यक्ष शान्त बिक्रम पौडेलले सुत्केरी अवस्थामा पोषणको आवश्यकता झनै बढी हुने भएकाले रु ७५ हजार बराबरको अण्डा, घिउ, मह लगायतका सामग्री ३९ जना सुत्केरी महिलालाई वितरण गरिएको जानकारी दिए । त्यस्तै, जेष्ठ नागरिकको सम्मान स्वरूप रु १ लाख बराबरको मह र चिनी १६८ जना जेष्ठ नागरिकलाई वितरण गरिएको जानकारी पनि दिए ।

कार्यक्रममा जेष्ठ नागरिक, सुत्केरी आमा, स्थानीय उपभोक्ता तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम वन अध्यक्ष शान्त बिक्रम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष सालिकराम भुसालको स्वागत मन्तव्य र सचिव अनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

स्थानीय बासिन्दाहरूले सामुदायिक वनको सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गरेका थिए। सहभागीहरूले यस्तो कार्यले समुदायमा एकताको भावना विकास गर्नुका साथै स्वास्थ्य तथा पोषणप्रतिको सचेतना पनि बढाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्