वरिष्ठ चिकित्सक नन्दु पाठक नेतृत्वको टोली कपिलवस्तुमाः १ सय ७० भन्दा बढीले लिए स्वास्थ्य सेवा


पालिका पत्र

6 December, 2025 6:04 pm मा प्रकाशित

बाणगंगा, २० मंसिर ।
१६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को अवसरमा शनिबार कपिलवस्तुमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वरिष्ठ चिकित्सक नन्दु पाठकको नेतृत्वमा गरिएको उक्त शिविरमा विभिन्न ११ जना विशेषज्ञ चिकित्सकहरूको टोली उपस्थित रहेको थियो ।

वरिष्ठ चिकित्सक नन्दु पाठकले यस्ता स्वास्थ्य शिविरले आर्थिक तथा भौगोलिक कारणले नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । उनले स्थानीय तहमा यसैगरी निरन्तर स्वास्थ्यमूलक कार्यक्रम चलाउनुपर्ने आवश्यकता औंल्याए । उनले समुदायमा बढ्दै गएको दीर्घरोग, मानसिक स्वास्थ्यका समस्या र महिलासम्बन्धी स्वास्थ्य जाँचप्रति जनचेतना अझै बढाउनुपर्नेमा जोड दिए ।

बुद्ध रङ्गशाला कबर्ड हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको शिविरमा आन्तरिक रोग, हाडजोर्नी तथा आर्थोस्कोपिक, मानसिक स्वास्थ्य, स्त्रीरोग, रेडियोलोजी, ग्यास्ट्रो, छाला तथा सौन्दर्य, कान–नाका–घाँटीलगायत विषयका विशेषज्ञहरूबाट स्थानीयले निःशुल्क जाँच तथा परामर्श सेवा लिएका थिए । सिविरमा १ सय ७० जनाले सेवा लिएको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका सचिव भिमलाल भट्टराईले बताए ।

शिविरमा आएको उल्लेखनीय भीडले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाप्रति अझ ठूलो आवश्यकता रहेको संकेत दिएको आयोजक रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले जनाएको छ । स्थानीय समुदायले यस्ता स्वास्थ्य शिविर ग्रामीण तथा दूरदराजका नागरिकका लागि जीवनरक्षक सरह हुने, नियमित उपचार र जाँच नपाउने वर्गका लागि निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

रोटरी क्लव अफ मिड टाउन कपिलवस्तुका अध्यक्ष लेखा शर्माको अध्यक्षता तथा पुर्व अध्यक्ष बासुदेव घिमिरेको संयोजकत्वमा सिविर सञ्चालन गरिएको थियो ।

आयोजकले आगामी दिनमा अझ व्यापक सेवा, उपकरण र विशेषज्ञ परिचालन गरेर स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्