असार १०, कपिलवस्तु ।
विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ११ लाख ७८ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा मंगलबार उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बजेट प्रस्तुत गरेकी हुन्।
कुल बजेटमध्ये चालुतर्फ ४९ करोड ९९ लाख ३७ हजार रुपैयाँ (७३.४० प्रतिशत) र पुँजीगततर्फ १८ करोड १२ लाख ४१ हजार ६ सय रुपैयाँ (२६.६० प्रतिशत) विनियोजन गरिएको छ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सिँचाइ विस्तार र पूर्वाधार विकासलाई आगामी आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखेको छ। रोजगार सिर्जना, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाइ, सुशासन, गरिबी निवारण तथा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण, सडक सञ्जाल विस्तार, प्रविधिको प्रयोग बढाउने, सार्वजनिक सेवामा नागरिकको पहुँच सहज बनाउने तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई केन्द्रमा राखेर गाउँपालिकाको समग्र विकास अघि बढाइने उनले बताए।


