बाणगंगा ।
बाणगंगा नदिमा आएको बाढिमा एक जना सम्र्पक विहिन भएका छन् । करिब ३ बजे पौडी खेलिरहेका बेला नदीमा पानीको बहाव अचानक बढेपछि तीन जना फसेका थिए । बाढीमा फसेकामध्ये १६ वर्षीय रिदम लामा र उनका भाइ अन्दाजी १० वर्षीय बुद्ध लामा रहेका छन् थिए भने उनीहरूका साथी श्रीजन थापा पनि बाढीमा फसेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट उद्धार सामग्रीसहित प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो ।
बाढीमा फसेका रिदम लामालाई प्रहरीले सकुशल उद्धार गरेको छ । तर उनका भाइ बुद्ध लामा भने सम्पर्कविहीन भएका छन् । बाढीमा बगेको आशंका गरिएका बुद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू शनिबार अचानक आएको बाढीका कारण जोखिमपूर्ण अवस्थामा फसेका थिए । उद्धारका क्रममा प्रहरीले रिदमलाई सकुशल बाहिर निकाल्न सफल भएको जनाएको छ ।
उनीहरूसँगै रहेका श्रीजन थापा भने बाढीबाट पौडि खेलेर आफैं सुरक्षित स्थानमा निस्कन सफल भएको प्रहरीको भनाइ छ । श्रीजन सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता बुद्ध लामाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्र तथा आसपासका सम्भावित स्थानमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अचानक आएको बाढीका कारण स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ। बाढीको बहाव तीव्र रहेकाले खोज तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ । प्रहरीले स्थानीय बासिन्दालाई नदी तथा खोलानालाको आसपास नजान र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

