बाणगंगा, २८ भदौ ।
मासु बजारमा उपभोक्ताले प्रायः एउटै प्रश्नको सामना गर्नुपर्छ-उनीहरूले किनेको मासु कति स्वच्छ छ ? कहाँ उत्पादन भयो ? कसरी प्रशोधन गरियो र कस्तो अवस्थामा भण्डारण गरिएको छ? बजारमा मासुको कारोबार भइरहे पनि यी प्रश्नको स्पष्ट जवाफ उपभोक्ताले पाउन नसकेको अवस्थामा कपिलवस्तुको बाणगंगा–४ जितपुरमा नयाँ अवधारणासहित ‘स्मार्ट फ्रेस हाउस’ सञ्चालनमा आएको छ ।
पशुपन्छी तथा दानाजन्य उत्पादनमा लामो समयदेखि सक्रिय श्रीनगर पब्लिक कम्पनीले उपभोक्ताको स्वास्थ्य र मासुको गुणस्तरलाई केन्द्रमा राख्दै फ्रेस हाउस सञ्चालनमा ल्याएको हो। एक कार्यक्रमबीच बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख ध्रुव ज्ञवालीले यसको उद्घाटन गर्नुभयो ।
फ्रेस हाउस उद्घाटनका क्रममा ज्ञवालीले पशु वध तथा मासु बिक्री वितरणसँग सम्बन्धित सरकारी मापदण्ड कार्यान्वयनमा कडाइ गर्न थालिएको बताउनुभयो । बाणगंगा नगरपालिकामा पनि आगामी माघ महिनादेखि सम्बन्धित व्यवस्था प्रभावकारी रूपमा लागू गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
यही परिवेशमा श्रीनगरले सञ्चालनमा ल्याएको फ्रेस हाउसलाई केवल मासु बिक्री गर्ने पसलका रूपमा मात्र नभई मासु उत्पादन, प्रशोधन, सरसफाइ, भण्डारण र बिक्रीमा मापदण्ड स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।
नगरका पशु शाखाका डा. यमलाल पोख्रेलले पनि मापदण्ड पूरा गरेर सञ्चालन हुने फ्रेस हाउसलाई राज्य तथा स्थानीय तहले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउन यस्ता व्यवसायलाई व्यवस्थित र नियमन गर्नुपर्ने उहाँको भनाइ थियो ।
बजारमा मासु, तर गुणस्तरको प्रश्न
स्थानीय बजारमा मासुको माग बढ्दै गए पनि मासु कहाँ र कसरी उत्पादन तथा प्रशोधन भयो भन्ने विषयमा उपभोक्ताको जानकारी सीमित हुने गरेको छ। खुला रूपमा मासु बिक्री हुने, सरसफाइको अवस्था फरक–फरक हुने र भण्डारणको उचित व्यवस्था नहुन सक्ने अवस्थाले उपभोक्ता स्वास्थ्यमा प्रश्न उठाउँदै आएको छ ।
यही चुनौतीलाई लक्षित गर्दै श्रीनगरले आधुनिक फ्रेस हाउसको अवधारणा अघि सारेको जनाएको छ। कम्पनीका अनुसार फ्रेस हाउसमा सरकारी मापदण्डअनुसार स्वस्थकर मासु बिक्रीका लागि आवश्यक व्यवस्थालाई प्राथमिकता दिइएको छ ।
उपभोक्ताको मागअनुसार कुखुराका विभिन्न ‘बडी पार्ट’ उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। यसले उपभोक्तालाई आवश्यकताअनुसार मासुको भाग छनोट गर्न सहज हुने कम्पनीको दाबी छ ।
‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका टेक्निकल हेड डा. गिरीराज खनालका अनुसार फ्रेस हाउस कम्पनीको व्यवसाय विस्तार मात्र होइन, ‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रयास हो ।
कम्पनीले लामो समयदेखि पशुपन्छी तथा दानाजन्य उत्पादनमा काम गर्दै आएको छ। अब आफ्नै उत्पादनलाई व्यवस्थित ढंगले उपभोक्तासम्म पुर्याउने योजनाअन्तर्गत फ्रेस हाउस सञ्चालनमा ल्याइएको खनालले बताउनुभयो ।
“किसानले उत्पादन गरेको वस्तु गुणस्तरीय रूपमा उपभोक्ताको भान्सासम्म पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो,” खनालले भन्नुभयो, “उत्पादनदेखि बिक्रीसम्म स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राखेका छौँ ।”
यसले श्रीनगरको व्यवसायिक यात्रामा एउटा महत्वपूर्ण परिवर्तनसमेत देखाएको छ। यसअघि उत्पादन र आपूर्तिको क्षेत्रमा केन्द्रित कम्पनी अब उपभोक्तासँग प्रत्यक्ष जोडिने मोडेलमा प्रवेश गरेको छ।
दुई–चार हजार कुखुराबाट सुरु भएको यात्रा
श्रीनगरको व्यवसायिक यात्रा आजको आकारमा सुरु भएको थिएन। कम्पनीका अनुसार करिब २४ वर्षअघि दुई–चार हजार कुखुराबाट सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालमा पोल्ट्री तथा फिड क्षेत्रमा स्थापित ब्रान्डका रूपमा विस्तार भएको छ ।
कम्पनीको दाबीअनुसार अहिले पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा श्रीनगरसँग जोडिएका छन् । व्यवसायको विस्तारसँगै कम्पनीको गतिविधि हजारौँ कृषकको रोजगारी र आम्दानीसँग पनि जोडिएको बताइएको छ ।
पशुपन्छी पालन तथा फिडजन्य उत्पादनमा आफ्नो बजार बनाइसकेको श्रीनगरले अब उत्पादनमै सीमित नरही उत्पादित वस्तुलाई अन्तिम उपभोक्तासम्म पुर्याउने संरचना निर्माण गर्न थालेको देखिन्छ ।
लगानी र विस्तारको फराकिलो संरचना
श्रीनगरले रूपन्देहीको सुद्धोधन नगरपालिका–४ मा पौने दुई बिघा क्षेत्रफलमा दाना उद्योग सञ्चालन गरिरहेको जनाएको छ। सोही क्षेत्रमा पौने तीन बिघामा ह्याचरी तथा फार्म र अर्को पौने चार बिघामा व्यावसायिक फार्म सञ्चालनमा रहेको कम्पनीको भनाइ छ ।
त्यसैगरी पाल्पाको तेल्घामा २३ रोपनी क्षेत्रफलमा ब्रिडर फार्म सञ्चालनमा रहेको छ । बुटवलमा मासु प्रशोधन उद्योगसहित खाद्य क्षेत्रमा समेत नयाँ योजनाका साथ अघि बढिरहेको कम्पनीले जनाएको छ।
यसरी हेर्दा जितपुरमा खुलेको फ्रेस हाउस श्रीनगरको एउटा मात्र नयाँ पसल होइन । यो कम्पनीले उत्पादनदेखि प्रशोधन र अन्ततः उपभोक्तासम्म पुग्ने सम्पूर्ण आपूर्ति शृंखला आफ्नै नियन्त्रणमा विस्तार गर्न खोजेको संकेत पनि हो ।
अब यसको वास्तविक परीक्षा भने उपभोक्ताको विश्वासमा हुनेछ। सरकारी मापदण्ड, स्वच्छता, गुणस्तर र मूल्यमा कम्पनीले कस्तो व्यवहार गर्छ भन्ने कुराले फ्रेस हाउसको सफलतालाई निर्धारण गर्नेछ।
उत्पादनमा स्थापित ब्रान्डले उपभोक्ताको भान्सासम्म प्रत्यक्ष पहुँच विस्तार गरेको अवस्थामा चुनौती पनि त्यत्तिकै बढेको छ-किसानबाट आएको उत्पादनलाई साँच्चिकै सुरक्षित, स्वच्छ र गुणस्तरीय रूपमा उपभोक्ताको थालीसम्म पुर्याउन श्रीनगर कति सफल हुन्छ? यसको जवाफ आगामी दिनको कारोबार र उपभोक्ताको विश्वासले दिनेछ ।

