कपिलवस्तु । बाणगंगा नगरपालिका–स्थित श्रीङ्घीघाट सामुदायिक वन उपभोक्ता समूहले संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितलाई केन्द्रमा राख्दै १४औँ साधारण सभा सम्पन्न गरेको छ ।
बुधबार श्रीपेच होटलको हलमा सम्पन्न सभामा वन संरक्षणसँगै वनबाट प्राप्त स्रोत र आम्दानीलाई कसरी उपभोक्ताको हित तथा स्थानीय विकाससँग जोड्ने भन्ने विषयमा जोड दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वन स्थानीय समुदायको सम्पत्ति मात्र नभई वातावरणीय सन्तुलन र भावी पुस्ताको भविष्यसँग जोडिएको महत्वपूर्ण प्राकृतिक स्रोत भएको बताए ।
उनले वन संरक्षणसँगै वैज्ञानिक र दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँदै वनबाट प्राप्त हुने स्रोत तथा आम्दानीको उचित उपयोगमार्फत उपभोक्ताले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
“वन जोगाउनु भनेको केवल रुख जोगाउनु होइन, वातावरण, जैविक विविधता र भावी पुस्ताको जीवन सुरक्षित गर्नु पनि हो,” नगर प्रमुख अर्यालले भने, “संरक्षणसँगै वनबाट प्राप्त स्रोत र आम्दानीलाई उपभोक्ताको हित तथा स्थानीय विकाससँग जोड्न आवश्यक छ ।”
डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको संरक्षणमा उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताए। वन व्यवस्थापनलाई कानुनी प्रक्रिया, प्राविधिक ज्ञान र स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
बदलिँदो जलवायु परिवर्तन र वातावरणीय चुनौतीका कारण वनको महत्व अझ बढेको उल्लेख गर्दै सापकोटाले वन संरक्षणलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । उनका अनुसार वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता समूह, वन कार्यालय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ ।
मोतीपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले वन संरक्षण र व्यवस्थापनमा उपभोक्ता समूह तथा वन कार्यालयबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए । वन पैदावारको उचित व्यवस्थापन, चोरी–निकासी नियन्त्रण तथा वातावरण संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
अन्सारीले श्रीङ्घीघाट सामुदायिक वनलाई यस क्षेत्रकै उत्कृष्ट वनका रूपमा उल्लेख गर्दै यसको व्यवस्थापन र संरक्षणका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए ।
श्रीङ्घीघाट सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष तथा वैज्ञानिक वन व्यवस्थापनका विज्ञ एवं परामर्श समिति संयोजक रेनु सेनले वनको दीर्घकालीन विकासका लागि वैज्ञानिक व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन् ।
उनले सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी यसको उत्पादनशीलता, वातावरणीय महत्व र उपभोक्ताको आवश्यकतालाई समेत ध्यानमा राखेर व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् ।
सभामा समूहका अध्यक्ष गणेश सिंह ठकुरी ‘सुशील’ ले वार्षिक कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि ९ करोड ८४ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ बराबरको प्रस्तावित आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, समूहकी सचिव कमला सेन (सुस्मा खाँण) ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिना रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । प्रस्तुत प्रतिवेदनमा वनको संरक्षण, व्यवस्थापन तथा आगामी कार्यक्रमका लागि तय गरिएका योजना र आर्थिक पक्ष समेटिएको थियो ।
साधारण सभामा बाणगंगा नगरपालिका–१, ३, ४, ६ र ८ का वडा अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि र सामुदायिक वनका उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रम समूहकी सचिव कमला सेन (सुस्मा खाँण) को सञ्चालनमा सम्पन्न भएको थियो ।

