विजयनगर, ३१ भदौ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले परम्परागत दाउरा र धुवाँयुक्त चुलोको प्रयोग घटाउँदै स्वच्छ ऊर्जामा आधारित आधुनिक भान्सा प्रवर्द्धन गर्न अभियान सञ्चालन गरेको छ ।
‘स्वच्छ चुलो, आधुनिक भान्सा’ अभियानअन्तर्गत गाउँपालिकाले सुधारिएको फलामे चुलो र विद्युतीय चुलो वितरणलाई तीव्रता दिएको हो । अभियानमार्फत गाउँपालिकाका सबै वडाका घरपरिवारलाई स्वच्छ, सुरक्षित र धुवाँरहित भान्साको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ ।
गाउँपालिकाका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र हरित जलवायु कोषको लागत साझेदारीमा सञ्चालित स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत तह–३ स्तरको सुधारिएको फलामे चुलो उपभोक्ताको ५ प्रतिशत लागत सहभागितामा वितरण भइरहेको छ ।
अभियानअन्तर्गत एक हजार वटा सुधारिएको तथा स्वच्छ ऊर्जामा आधारित चुलो वितरण गर्ने लक्ष्य राखिएको छ । हालसम्म ६ सय ६९ वटा विद्युतीय चुलो र ७० वटा सुधारिएको चुलो गरी ७ सय ३९ वटा चुलो वितरण भइसकेका छन् । यस्तै, ४९ घरमा बायोग्यास चुलो निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
स्वच्छ ऊर्जा परिचालक तथा नवीकरणीय ऊर्जा शाखाका प्रमुख दामु विश्वकर्माले परम्परागत इन्धनको प्रयोग घटाउँदै घरपरिवारलाई सुरक्षित र आधुनिक भान्साको पहुँचमा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनका अनुसार दाउरा तथा अन्य परम्परागत इन्धनको प्रयोग कम गरी स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नु अभियानको मुख्य उद्देश्य हो । यसबाट घरभित्र हुने वायु प्रदूषण घट्नुका साथै इन्धनका लागि हुने खर्च र दाउरामा निर्भरता समेत कम हुने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले स्वच्छ ऊर्जा प्रवर्द्धनलाई वातावरण संरक्षण र नागरिकको स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्ने बताए । सुधारिएको तथा विद्युतीय चुलोको प्रयोग बढ्दा दाउराको खपत घट्ने र त्यसले वनजंगल संरक्षणमा समेत योगदान पुर्याउने उनको भनाइ छ ।
घरभित्र चुलोबाट निस्कने धुवाँ कम हुँदा वायु प्रदूषण घट्ने र परिवारका सदस्यको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष थापाले बताए । नागरिकको दैनिक जीवनलाई सुरक्षित, सहज र आधुनिक बनाउने उद्देश्यले ‘स्वच्छ चुलो, आधुनिक भान्सा’ अभियानलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।
गाउँपालिकाले अभियानलाई थप विस्तार गर्दै आगामी दिनमा बाँकी घरपरिवारलाई समेत स्वच्छ ऊर्जाको पहुँचमा जोड्ने जनाएको छ ।

