कपिलवस्तु, ३१ भदौ । बाणगंगा नगरपालिका–११ मा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै वडाको प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।
नगर प्रमुख चक्रपाणी अर्यालले नवनिर्मित भवनको उद्घाटन गर्दै स्थानीय तहको सेवा नागरिकको घरदैलोनजिक पुर्याउन भौतिक पूर्वाधारसँगै प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको बताए ।
उनका अनुसार वडा कार्यालय भवन केवल प्रशासनिक काम गर्ने संरचना नभई नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने आधार हो । भवन सञ्चालनसँगै वडाबाट प्रदान हुने प्रशासनिक सेवा अझ व्यवस्थित, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए ।
स्थानीय तहको संरचना बलियो बन्दै गए पनि त्यसको प्रभाव नागरिकको दैनिक सेवामा देखिनुपर्नेमा नगर प्रमुख अर्यालले जोड दिए । उनका अनुसार नागरिकलाई सामान्य प्रशासनिक कामका लागि अनावश्यक झन्झट र असहजता नहोस् भन्ने गरी वडा कार्यालयको सेवा सञ्चालनमा ध्यान दिन आवश्यक छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, संस्थापक नगर प्रमुख मंगलप्रसाद थारू तथा निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल लगायतको उपस्थिति थियो ।
वडा अध्यक्ष नरेन्द्रप्रसाद थारूका अनुसार भवन उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
संस्थापक नगर प्रमुख मंगलप्रसाद थारूले नयाँ वडा कार्यालय भवनलाई बाणगंगा नगरपालिकाको स्थानीय पूर्वाधार विकास र नागरिकमैत्री सेवा प्रवाहको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने बताए। स्थानीय सरकारको वास्तविक प्रभाव नागरिकले पाउने सेवाबाट देखिने भएकाले कार्यालयको भौतिक संरचनासँगै सेवा प्रवाहमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नयाँ भवनले नागरिकलाई आवश्यक प्रशासनिक सेवा लिन सहज वातावरण निर्माण गर्नुका साथै वडाको संस्थागत विकास र प्रशासनिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।

