कपिलवस्तु । बाणगंगा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा प्रहरी र व्यवसायीबीच सहकार्यलाई प्रभावकारी बनाउने विषयमा उद्योग व्यापार संघ कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराका प्रमुखबीच छलफल भएको छ।
इलाका प्रहरी कार्यालय पिपराको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएकी प्रहरी निरीक्षक कालिका कार्कीलाई उद्योग व्यापार संघ कपिलवस्तुले स्वागत गर्दै क्षेत्रको सुरक्षा अवस्थाबारे व्यवसायीका चासो र अपेक्षासमेत राखेको हो। संघको सभाहल चार नम्बर जितपुरमा शनिबार आयोजित कार्यक्रममा कार्कीलाई स्वागत गरिएको थियो।
स्वागत कार्यक्रममा प्रहरी निरीक्षक कार्कीले बाणगंगाको शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् । अपराध नियन्त्रणसँगै नागरिकले सुरक्षित वातावरणमा व्यवसाय तथा दैनिक गतिविधि सञ्चालन गर्न सक्ने अवस्था निर्माण गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएको उनको भनाइ थियो ।
कार्कीले प्रहरीको मात्रै प्रयासले शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकिने भन्दै स्थानीय नागरिक, व्यवसायी, संघसंस्था र प्रहरीबीच सूचना तथा समन्वयको प्रभावकारी संयन्त्र आवश्यक रहेको बताइन् । समाजमा देखिने सुरक्षा चुनौतीबारे समयमै सूचना प्राप्त भए त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई सहज हुने उनको भनाइ थियो ।
विशेषगरी बजार क्षेत्रको सुरक्षा, चोरी तथा अन्य आपराधिक गतिविधिको नियन्त्रण र व्यवसायीले भोग्नुपर्ने सुरक्षा समस्याबारे प्रहरी संवेदनशील हुनुपर्ने विषय कार्यक्रममा उठाइएको थियो । व्यवसायिक गतिविधि विस्तार हुँदै जाँदा सुरक्षा व्यवस्थालाई पनि सोहीअनुसार प्रभावकारी बनाउनुपर्ने सहभागीहरूको धारणा थियो ।
उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष खिमानन्द पौडेलले व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताए । व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन प्रहरी प्रशासन र व्यवसायीबीच निरन्तर संवाद तथा समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
संघका अध्यक्ष टोपनारायण बेल्बासेले बाणगंगामा व्यापारिक गतिविधि विस्तार हुँदै गएको अवस्थामा सुरक्षा व्यवस्थालाई समेत थप प्रभावकारी बनाउनुपर्ने बताए । व्यवसायीका समस्या तथा सुरक्षा चुनौतीबारे प्रहरीसँग नियमित समन्वय गर्दै अघि बढ्ने उनले बताए ।
बेल्बासेले व्यवसायी र प्रहरीबीचको सम्बन्ध केवल समस्या उत्पन्न भएपछि मात्र हुने नभई नियमित संवाद र सहकार्यमा आधारित हुनुपर्ने धारणा राखे। स्थानीय स्तरमा देखिने सुरक्षा चुनौती पहिचान गरी समयमै समाधान खोज्न दुवै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले बजार क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउनुपर्ने, आपराधिक गतिविधि नियन्त्रणमा सक्रियता बढाउनुपर्ने तथा व्यवसायी र प्रहरीबीच सूचना आदानप्रदानलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शंकर भाट क्षेत्रीले स्वागत मन्तव्य दिएका थिए भने महासचिव माधव भाट क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

