कपिलवस्तु, ०३ असोज । दशैं–तिहार नजिकिँदै गर्दा कपिलवस्तुको श्रृङ्गिघाट सामुदायिक वनका १४० जना उपभोक्ता आफ्नै वन क्षेत्रमा रोजगारीका लागि जुटेका छन् । वनमा बढेको झाडी–बुट्यान हटाउने कामसँगै चाडपर्वको खर्च जुटाउने अवसर पाएपछि उपभोक्तामा उत्साह थपिएको छ।
श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्ययोजनाअन्तर्गत असोज ३ गतेदेखि वन क्षेत्रमा झाडी सरसफाइको काम सुरु गरेको हो। समूहको भदौ ३१ गते सम्पन्न १४औँ वार्षिक साधारणसभाबाट कार्ययोजना पारित गरिएको थियो।
संविधान दिवसको अवसर पारेर सुरु गरिएको झाडी सफाइ अभियानलाई समूहले वन संरक्षण र उपभोक्ताको रोजगारीसँग जोडेको छ। चाडपर्वको समयमा उपभोक्तालाई आफ्नै वनमा कामको अवसर उपलब्ध गराएर आम्दानीको स्रोतसमेत सिर्जना गर्ने उद्देश्यले अभियान अघि बढाइएको समूहका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी ‘सुसिल’ले बताए ।
‘वन जोगाउने काम, उपभोक्तालाई रोजगारी’
अध्यक्ष ठकुरीका अनुसार चाडपर्व नजिकिँदै गर्दा धेरै उपभोक्तालाई अतिरिक्त आम्दानीको आवश्यकता पर्ने भएकाले वन संवद्र्धनको कामलाई रोजगारीसँग जोडिएको हो ।
उनले भने, “वन संरक्षणको काम पनि हुने र उपभोक्ताले आफ्नै वनमा काम गरेर आम्दानी पनि गर्न पाउने भएकाले झाडी सफाइलाई प्राथमिकतामा राखिएको हो ।”
अभियानअन्तर्गत मोतिपुर सब–डिभिजन वन कार्यालयको समन्वयमा पछिल्ला तीन आर्थिक वर्षमा कटान भएका तीन वटा प्लट तथा अग्निरेखामा समेत झाडी–बुट्यान हटाउने काम भइरहेको छ ।
कुन बिरुवा हटाउने, कुन जोगाउने ?
वन क्षेत्रमा झाडी सफाइ गर्दा सबै वनस्पति हटाउने नभई संरक्षण गर्नुपर्ने प्रजातिको पहिचान गरेर काम गर्नुपर्ने भएकाले वन कार्यालयले उपभोक्तालाई आवश्यक प्राविधिक जानकारी दिएको छ ।
मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले सफाइका क्रममा कुन प्रजातिका बिरुवा हटाउने र कुनलाई संरक्षण गर्ने भन्ने विषयमा उपभोक्तालाई जानकारी गराएका छन् ।
यसले झाडी सफाइलाई केवल सरसफाइको कामका रूपमा नभई वन व्यवस्थापन र संवद्र्धनको योजनासँग जोडिएको देखिन्छ।
१४ मौजाका उपभोक्ता एउटै अभियानमा
श्रृङ्गिघाट सामुदायिक वनका १४ वटै मौजाका उपभोक्तालाई अभियानमा सहभागी गराइएको छ । झाडी सफाइ कार्यक्रमका संयोजक विष्णु मल्लका अनुसार सबै मौजाका उपभोक्तालाई प्रत्यक्ष निगरानीमा काममा सहभागी गराई रोजगारी प्रदान गरिएको हो ।
यस अभियानबाट करिब १४० जना उपभोक्ताले रोजगारीको अवसर पाएका छन्। चाडपर्वको मुखमा आफ्नै वन क्षेत्रमा काम पाएपछि उपभोक्ताहरू पनि उत्साहित देखिएका छन् ।
उनीहरूले वन संरक्षणमा श्रम गर्ने र त्यसबापत आम्दानी गर्ने अवसरले दशैं–तिहारको खर्च व्यवस्थापनमा सहयोग पुग्ने बताएका छन् ।
वन कार्यालय र उपभोक्ता समूहको संयुक्त अनुगमन
झाडी सफाइको काम प्रभावकारी रूपमा भइरहेको छ कि छैन भन्ने विषयमा स्थलगत अनुगमनसमेत गरिएको छ ।
मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारी, श्रृङ्गिघाट सामुदायिक वनका उपाध्यक्ष बुद्धबहादुर शाही, सचिव सुस्मा खाँण, सदस्य हरि पुन, लेखा समिति संयोजक गुरुदेव पौडेल तथा टोल संयोजकहरूको टोलीले कार्यस्थलमै पुगेर अनुगमन गरेको हो ।
अनुगमनका क्रममा झाडी सफाइ गर्दा वनको प्राकृतिक अवस्था, उपयोगी बिरुवा तथा अग्निरेखाको संरक्षणमा ध्यान दिन आवश्यक निर्देशनसमेत दिइएको थियो ।
श्रृङ्गिघाट सामुदायिक वनको यो अभियानले एउटै कार्यक्रमलाई वन संरक्षण, अग्नि जोखिम न्यूनीकरण र स्थानीय उपभोक्ताको रोजगारीसँग जोडेको छ । चाडपर्वको मुखमा सुरु भएको अभियानले उपभोक्तालाई आफ्नै वन संरक्षणमा प्रत्यक्ष सहभागी गराउँदै आम्दानीको अवसरसमेत सिर्जना गरेको छ ।

