कपिलवस्तु, ०६ असोज । कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई ट्याक्टरमाथि कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट दुई ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असोज २ गते राति करिब १०ः३० बजे बाणगंगा नगरपालिका–९ पडेरियास्थित धिरि खोलाको किनारबाट अवैध रूपमा ढुंगा लोड गरिएको अवस्थामा लु २ त ५४५७ नम्बरको ट्याक्टर फेला परेको थियो। ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टरलाई बाणगंगा नगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारबाहीपछि ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा पठाइएको थियो ।
त्यस्तै, भदौ ३ गते बिहान करिब ११ बजे विजयनगर गाउँपालिका–१ मा लु ४ त ५९०२ नम्बरको ट्याक्टरमा अवैध रूपमा बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार उक्त ट्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएकोमा विजयनगर गाउँपालिकाले १० हजार रुपैयाँ जरिवाना गरेको छ। कारबाहीपछि ट्याक्टरलाई अस्थायी प्रहरी पोस्ट खडैचा, कपिलवस्तुमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा नदीजन्य पदार्थको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ। पछिल्लो कारबाहीमा दुई ट्याक्टरबाट कुल ६० हजार रुपैयाँ जरिवाना भएको छ ।

