यस्ता छन् प्रधानमन्त्री बालेन शाहले उठाएका प्रमुख १० बुँदाहरू


पालिका पत्र

25 September, 2026 8:13 am मा प्रकाशित

१. जलवायु विपद् र ‘हिमालयन सुनामी’: चार साताअघि नेपालमा भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै प्रधानमन्त्री शाह द्वारा यो नेपालको मात्र त्रासदी नभई विश्वका लागि गम्भीर चेतावनी भएको भनाई।

२. मानवीय र आर्थिक क्षतिको विवरण: बाढीका कारण कम्तीमा १,४०० जनाको मृत्यु भएको, ६,००० भन्दा बढी बेपत्ता रहेको र पुनः स्थापनाका लागि नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १० प्रतिशत बराबरको खर्च लाग्ने प्रारम्भिक अनुमान प्रस्तुत।

३. जलवायु न्यायको माग: विश्वको हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठुलो मूल्य चुकाउनुपरेको भन्दै धनी तथा बढी उत्सर्जन गर्ने मुलुकहरूलाई ‘साझा तर विभेदित जिम्मेवारी’को सिद्धान्तअनुसार दायित्व लिन आग्रह।

४. ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’को प्रस्ताव: हिन्दुकुश हिमालय क्षेत्रको पारिस्थितिक प्रणाली बचाउन र पूर्वसूचना प्रणाली, स्याटेलाइट तथ्यांक आदानप्रदान तथा सीमापार सहायता समन्वय गर्न नेपाल, भारत र चीनको नेतृत्वमा त्रिदेशीय संयन्त्र स्थापना गर्न प्रस्ताव।

५. जलवायु वित्तमा अनुदान र सहज पहुँच: अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक रहेको औँल्याउँदै ‘Loss and Damage Fund’ र ‘Global Environment Facility’ जस्ता संयन्त्रहरूको जटिल कागजी प्रक्रिया अन्त्य गरी विपद्का बेला तत्काल सहायता पुग्ने व्यवस्था गर्न माग।

६. नेपालको पारिस्थितिक योगदान: नेपालले भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना गरिसकेको, जलविद्युत् र विद्युतीय सवारीको प्रयोग बढाउँदै लगेको र आफ्नो क्षमताभन्दा बढी विश्वव्यापी वातावरणीय योगदान दिइरहेको शाह द्वारा स्पष्ट।

७. न्यायपूर्ण विश्वव्यवस्था र आपूर्ति प्रणालीमा प्रश्न: विश्वमा युद्धका हतियार सहजै पुग्ने तर साना र विकासोन्मुख देशका किसानले समयमा मल, इन्धन र बिटुमिन नपाउने अन्तरराष्ट्रिय व्यवस्थाको विरोधाभासप्रति प्रश्न।

८. बहुपक्षीयता र साना राष्ट्रको आवाज: आफू महासभाको सबैभन्दा कम उमेरको सरकार प्रमुख भएको उल्लेख गर्दै, सैन्य वा आर्थिक शक्तिका आधारमा नभई संयुक्त राष्ट्रसङ्घमा साना, गरिब र कमजोर मुलुकहरूको आवाज पनि उत्तिकै प्रभावकारी हुनुपर्नेमा जोड।

९. नयाँ पुस्ता (जेनजी) र नयाँ जिम्मेवारी: नेपालका युवाहरूले इमानदारी, जवाफदेहिता र पारदर्शी राजनीति मागेको भन्दै राज्यले नागरिकलाई सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने प्रतिबद्धता।

१०. तयारीको संस्कृति र विश्व शान्तिको कामना: आकस्मिक प्रतिक्रियाबाट अघि बढेर पूर्वसूचना, बिमा, नवप्रवर्तन र उत्थानशीलतामा लगानी गर्न अपिल गर्दै शाहले “भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् र यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्” भन्दै सम्बोधनको अन्त्य।

प्रतिक्रिया दिनुहोस्