चिल्ड्रेन्ज प्याराडाइज, होराइजन र स्काइलार्कका विद्यार्थीहरू संयुक्त योग अभ्यासमा


पालिका पत्र

25 September, 2026 7:23 pm मा प्रकाशित

कपिलवस्तु । युवा पुस्तामा योग, संस्कार, अनुशासन र सकारात्मक जीवनशैलीको विकास गर्ने उद्देश्यले कपिलवस्तुमा ‘युवा संस्कार योग विज्ञान शिविर’ सञ्चालन गरिएको छ। युवा नेपाल समिति, कपिलवस्तु र पतञ्जलि योग समिति कपिलवस्तुको समन्वयमा बाणगंगा नगरपालिका–२, नन्दनगरस्थित मनकामना संस्कृत विद्यापीठ गुरुकुलमा शिविर आयोजना गरिएको हो।

असोज ८ गतेदेखि सुरु भएको शिविर १२ गतेसम्म सञ्चालन हुनेछ। शिविरमा जिल्लाका तीन विद्यालयका करिब ३ सय विद्यार्थी सहभागी छन्। सहभागी विद्यार्थीलाई योग, ध्यान, अनुशासन, संस्कार तथा स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ।

होराइजन इङ्लिस बोर्डिङ स्कुल, सिद्धिपुरका प्रिन्सिपल बासुदेव घिमिरेले योग शिक्षाले विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै मानसिक एकाग्रता, अनुशासन र सकारात्मक सोच विकासमा सहयोग पुग्ने बताए। यस्ता कार्यक्रमले विद्यार्थीको दैनिक जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ।

स्काइलार्क इङ्लिस बोर्डिङ स्कुल, ओदारीका प्रिन्सिपल तोलाकान्त डुम्रेले विद्यालय तहदेखि नै विद्यार्थीलाई योग र संस्कारसँग जोड्नुपर्नेमा जोड दिए। शिविरले विद्यार्थीमा नियमित योग अभ्यास गर्ने तथा स्वस्थ जीवनशैली अपनाउने बानीको विकास गर्न सहयोग पुग्ने उनले बताए।

त्यस्तै, चिल्ड्रेन्ज प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल, बोर्डगाउँका प्रिन्सिपल माधव बेल्बासेले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकको शिक्षासँगै योग, ध्यान र संस्कारसम्बन्धी ज्ञान पनि आवश्यक रहेको बताए। विद्यालय र समुदायको सहकार्यमा यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु जिल्ला योग समितिका प्रभारी कृष्ण मुरारी ज्ञवालीले विद्यार्थी जीवनमै योग र ध्यानको अभ्यास सुरु गर्दा स्वास्थ्य, अनुशासन र सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

आयोजकका अनुसार विद्यालय तहका विद्यार्थीलाई योग, संस्कार र जीवनोपयोगी ज्ञानसँग जोड्दै स्वस्थ, अनुशासित तथा जिम्मेवार युवा पुस्ता निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै स्थानमा सहभागी गराएर सञ्चालन गरिएको शिविरले योग अभ्याससँगै विद्यार्थीबीच आपसी सिकाइ र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्