३ करोड ३६ लाखको योजना पारित गर्दै पिपरा कोठी महिला सेवा सामुदायिक वनको १७औँ साधारणसभा सम्पन्न


पालिका पत्र

26 September, 2026 7:07 pm मा प्रकाशित

हरि घिमिरे, १० असोज । संरक्षणसँगै वनको दिगो उपयोग र उपभोक्ताको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पिपरा हाटबजारको प्राङ्गणमा सम्पन्न साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ करोड ३६ लाख ४२ हजार ९ सय ८१ रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारणसभामा प्रस्तुत प्रतिवेदन र आगामी योजनाले सामुदायिक वनलाई केवल वन संरक्षणमा सीमित नराखी यसको स्रोतसाधनलाई उपभोक्ताको आयआर्जन, सामाजिक विकास र दिगो व्यवस्थापनसँग जोड्ने प्रयास गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ डिभिजनल वन अधिकृत प्रभात सापकोटाले सामुदायिक वन संरक्षणको महत्वपूर्ण आधार उपभोक्ता स्वयं भएकाले वनको संरक्षण, संवर्द्धन र दिगो उपयोगमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । वनबाट प्राप्त हुने स्रोतसाधनको उपयोग गर्दा वातावरणीय सन्तुलन कायम राख्दै भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सापकोटाले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको आवश्यकता र स्थानीय विकासका गतिविधिलाई जोडेर अघि बढ्नुपर्ने बताउँदै समूहले तयार गर्ने वार्षिक योजना व्यवहारिक, पारदर्शी र दीर्घकालीन लक्ष्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिका–२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले पिपरा कोठी महिला सेवा सामुदायिक वनको इतिहास र हालसम्मको प्रगतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले लामो समयदेखि उपभोक्ताको सहभागितामा वन संरक्षण हुँदै आएको उल्लेख गर्दै वनको विकासमा समुदायको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिकूल मौसमका बाबजुद साधारणसभा सम्पन्न हुनु आफैंमा उपभोक्ताको सक्रियता र संस्थाप्रतिको प्रतिबद्धताको उदाहरण भएको पौडेलले बताउनुभयो। सामुदायिक वनलाई आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

सब डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश जैसवालले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि वनको अवस्था, उपलब्ध स्रोत र उपभोक्ताको आवश्यकतालाई आधार बनाएर योजना निर्माण गर्नुपर्ने बताउनुभयो । वनको संरक्षणसँगै वैज्ञानिक रूपमा स्रोतको उपयोग गर्न सके सामुदायिक वनले स्थानीय उपभोक्ताको जीवनस्तर सुधारमा थप योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ थियो ।

जैसवालले वन क्षेत्रमा हुने गतिविधि कानुनी प्रावधान र स्वीकृत कार्ययोजनाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै वन संरक्षण, चोरी–तस्करी नियन्त्रण, डढेलो न्यूनीकरण तथा वातावरणीय जोखिम व्यवस्थापनमा उपभोक्ता समूह र वन कार्यालयबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष रेणु सेनले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि उपभोक्ताको सक्रिय सहभागिता र वैज्ञानिक योजना आवश्यक रहेको बताउनुभयो । वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई जोडेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सेनले सामुदायिक वनको वास्तविक शक्ति उपभोक्ताको सहभागिता भएकाले निर्णय प्रक्रियादेखि वन व्यवस्थापन र लाभको उपयोगसम्म उपभोक्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

समूहका अध्यक्ष भीमसेन कार्कीले सामुदायिक वनले संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । आगामी दिनमा वनको संरक्षणसँगै उपभोक्ताको आवश्यकता, आयआर्जन र सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष कार्कीले समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका गतिविधि र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो । उहाँले सामुदायिक वनलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै उपभोक्ताले प्रत्यक्ष लाभ पाउने गरी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारणसभामा समूहका अध्यक्ष भीमसेन कार्कीले वार्षिक प्रतिवेदन, सचिव ममता राना मगरले प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्यामबहादुर थापा क्षेत्रीले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक खिमानन्द घिमिरेले लेखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन् ।

साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ करोड ३६ लाख ४२ हजार ९ सय ८१ रुपैयाँको वार्षिक कार्यक्रम तथा बजेट समेत सर्वसम्मत रूपमा पारित गरेको छ । पारित बजेटमार्फत वन संरक्षण, व्यवस्थापन, उपभोक्ताको हित तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

सह सचिव राजेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ममता राना मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्