दोस्रो कपिलवस्तु व्यापार मेला मंसिर ५ देखि मायादेवी रंगशालामा हुने


पालिका पत्र

1 October, 2026 7:21 pm मा प्रकाशित

कपिलवस्तु, १५ असोज ।
उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा वाणगंगास्थित मायादेवी रंगशालामा ‘दोस्रो कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन एवं औद्योगिक प्रदर्शनी’ आयोजना हुने भएको छ । आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त मेलामा व्यापारिक, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका साथै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ ।

मेलाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारहरूले एउटै क्षेत्रमा छुट्टाछुट्टै मेला आयोजना गर्दा यसको औचित्य र प्रभावकारितामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । व्यवसायी, दर्शक र आयोजक सबैलाई फाइदा पुग्ने गरी आपसी सहकार्य र सहमतिका आधारमा एउटै एकीकृत मेला सञ्चालन गर्न पत्रकारहरूले सुझाव दिएका थिए ।

सोधिएका प्रश्नहरूको उत्तर दिँदै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण बेल्बासेले वाणगंगामा एउटै साझा मेला आयोजना गर्ने वातावरण बनाउन आफूहरू निरन्तर प्रयासरत रहेको स्पष्ट पार्नुभयो । पटक पटकका छलफलबाट ठोस निष्कर्ष निघ्न नसकेपछि पूर्वनिर्धारित तालिकाअनुसार कार्यक्रम अघि बढाइएको जानकारी दिँदै उहाँले मेलाले स्थानीय पहिचान, कृषि उत्पादनको प्रवर्द्धन र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्‍याउने बताउनुभयो ।

त्यस्तै, संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल ‘कोपिल’ले विगतमा भएको तीनपक्षीय सहमति केही व्यक्तिहरूले कार्यान्वयन नगर्दा दुईवटा मेला गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । उहाँले पहिलो मेलाको सफलतापछि दोस्रो संस्करणलाई थप व्यवस्थित, आकर्षक र नमुनायोग्य बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मेलामा डान्स आइडल, मम्मी डान्स, भजन प्रतियोगिता, वाणगंगा स्तरीय गायन प्रतियोगिता तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिताजस्ता विशेष सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ ।

यसका साथै स्थानीय कृषि उत्पादन, औद्योगिक सामग्री तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकता दिँदै विभिन्न स्टलहरू राखिनेछ । मेलाले स्थानीय व्यवसायी, कृषक र उद्योगीहरूलाई आफ्ना उत्पादन तथा सेवाको प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

संघका प्रथम उपाध्यक्ष बासुदेव खनालको स्वागत मन्तव्य रहेको उक्त पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन महासचिव माधव भाट क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्