डिलाराम भुसाल । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तुका नौ स्थानमा संयुक्त यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने, ठगी तथा लुटपाटका घटना हुन सक्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले सहायता कक्ष स्थापना गरेका हुन् ।
तौलिहवास्थित बसपार्कमा आयोजित कार्यक्रमबीच सहायता कक्षको शुभारम्भ गरिएको हो। सहायता कक्षमार्फत यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गर्न सहयोग पुर्याउनुका साथै समस्यामा परेका नागरिकलाई तत्काल आवश्यक सहायता उपलब्ध गराइने प्रहरीले जनाएको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले चाडपर्वका समयमा यात्रुले भोग्ने समस्या समाधान गर्न सहायता कक्ष प्रभावकारी बन्नुपर्ने बताए। यात्रु ठगिने, सामान हराउने, बस छुट्ने तथा टिकट र सिट नपाउनेजस्ता समस्या देखिन सक्ने भन्दै उनले नागरिकले सहज रूपमा सेवा पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। संवेदनशील जिल्लाका रूपमा रहेको कपिलवस्तुमा धार्मिक सद्भाव कायम राख्दै चाडपर्व लक्षित सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने उनको भनाइ थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले चाडपर्वलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए। सहायता कक्ष सञ्चालनले सर्वसाधारणलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुग्ने उनको विश्वास छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले भारतबाट दशैं तथा तिहार मनाउन घर फर्किने प्रवासी नेपालीको चाप सीमा नाकामा बढ्न थालेसँगै सुरक्षा व्यवस्था कडा पारिएको बताए । विगतमा सीमा नाका तथा यात्राका क्रममा सर्वसाधारण र प्रवासी नेपालीले सास्ती भोग्नुपरेका गुनासोलाई सम्बोधन गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले स्पष्ट पारे ।
सीमा नाकामा यात्रु ठगिने, लुटिने तथा सडक दुर्घटनामा पर्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीलाई निगरानी बढाउन निर्देशन दिइएको एसपी भट्टले जानकारी दिए । यात्रु सहायता कक्षसँगै क्विक रेस्पोन्स टिम परिचालन, नागरिकमैत्री सुरक्षा वातावरण निर्माण, दुर्घटना न्यूनीकरणका लागि पर्चा–पम्प्लेट वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार जिल्लाको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमा क्षेत्रमा तीन र सीमा बाहिर छ गरी नौ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर र चाकडचौडा तथा सीमा बाहिरका तौलिहवा, चन्द्रौटा, गोरुसिंगे, पिपरा, बहादुरगञ्ज र पकडीमा सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए। प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीबाट सञ्चालन हुने कक्षले यात्राका क्रममा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले चाडपर्वका बेला प्रवासी नेपाली तथा सर्वसाधारणले सीमा नाका र सडकमा भोग्दै आएका समस्या समाधान गर्न सहायता कक्ष प्रभावकारी हुनुपर्ने बताए । नागरिक र सुरक्षा निकायबीचको सहकार्यबाट मात्रै सुरक्षित, व्यवस्थित र सहज यात्रा सुनिश्चित गर्न सकिने उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यात्रु तथा नागरिक सहायता कक्ष दशैं, तिहार र छठ पर्वको अवधिभर निरन्तर सञ्चालनमा रहनेछन् ।

