भर्तापुर आधारभूत विद्यालयको वार्षिक सामाजिक परीक्षण सम्पन्न, दुई शिक्षक सम्मानित


पालिका पत्र

9 October, 2026 9:54 am मा प्रकाशित

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित श्री भर्तापुर आधारभूत विद्यालयले वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक अवस्था र आर्थिक गतिविधिबारे जानकारी सार्वजनिक गर्दै बिहीबार सामाजिक परीक्षण गरिएको हो ।

विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष मोतिकला पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक पूजा खनालले स्वागत मन्तव्य राखेकी थिइन् । प्रधानाध्यापक कमला वि.क.ले विद्यालयको वर्तमान भौतिक, सामाजिक तथा शैक्षिक अवस्थासहित गत एक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कमल पौडेल, समाजसेवी नारायण खनाल, गोपाल गिरी, शुद्धोधन जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कौलेश्वर मिश्र, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल तथा कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाललगायतले विद्यालयको प्रगति र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।

वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको प्रयास मात्रै पर्याप्त नहुने भन्दै समुदायका सबै संघसंस्था, अभिभावक, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । विद्यालयको समग्र विकासका लागि सामूहिक जिम्मेवारी र सहभागितालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो ।

यसैबीच, विद्यालयमा कार्यरत रही हाल अन्य क्षेत्रमा रहेका दुई जना शिक्षकलाई पनि सम्मान गरिएको छ। विद्यालयमा रहँदा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक–कर्मचारी, विद्यार्थी र भर्तापुर टोलका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक विष्णु पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्