रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान

गुल्मीवासीको पाँच दशक पुरानो सपना पूरा


पालिका पत्र

28 April, 2023 10:30 am मा प्रकाशित

तम्घास । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान सुरु भएको छ । यस अघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान सुरु गरेको हो ।

आज विहान साढे ६ बजे नेपाल एयरलाइन्सको जहाज गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति माग्नेछ। त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको बताए । ‘गुल्मी र आसपासमा जिल्लावासीको पाँच दशक पुरानो सपना अब पूरा भएको छ । अब हरेक शुक्रबार गुल्मी काठमाडौं उडान हुनेछ उनले भने।

यसअघि पनि निगमले रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि तयारी गरेको थियो। तर बक्यौता नतिरेकाले प्राधिकरणले उडान अनुमति दिएको थिएन। बाँकी बक्यौता चुक्ता गरेसँगै निगमले काठमाडौंबाट सातामा एक उडान अनुमति पाएको हो ।

आज परीक्षण उडान सफल भएकाले अब उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुनेछ।

नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।
एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्