बुद्धभूमिले कोरोना संक्रमणबाट मृत्यु भएकाकालाई २० हजार राहत दिने


appharu

१० जेष्ठ २०७८, सोमबार १६:४८ मा प्रकाशित

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका घरपरिवारलाई २० हजार आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाको हालै बसेको नगर कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।

कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको जिल्लामा नियन्त्रणको प्रयासका काम भैरहेका छन् । यद्यपि संक्रमितको संख्या र मृतकको संख्या बढीरहेको छ ।

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्दै आएको बुद्धभूमि नगरपालिकाले विपन्न, गरिब तथा असहाय घरपरिवारका लागि २० हजार काजकिरिया खर्च दिने नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

विपन्न घरपरिवारका कुनै संक्रमितको निधन भयो भने आर्थिक अभाव हुने भएकाले नगरबाट उक्त घरपरिवारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

२० हजार रुपैयाँ पाउनका लागि वडाबाट सिफारिस आउनुपर्ने हुन्छ । वडाले कोरोनाबाट निधन भएका घरपरिवारको आर्थिक स्थिति हेरेर नगरमा सिफारिस गरेपछि रकम पाउने उहाँले बताउनुभयो ।

बुद्धभूमि नगरपालिकाले यसभन्दा अगाडी नगरभित्रका संक्रमितलाई नेपालगञ्ज, भैरहवा, बुटवलसम्म निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको थियो । जुन निर्णयको सर्वत्र स्वागत भएको थियो भने अरु पालिकाले पनि यो कुराको सिको गरेका थिए ।

बुद्धभूमिमा १० वडा कार्यालय छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने बुद्धभूमिमा मधेसी, मुस्लिम, थारु र पहाडीया समुदायको मिश्रित बसोबास रहेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार साँझसम्म बुद्धभूमिमा १ सय ७७ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्