रोल्पा ।
रोल्पा गंगादेव गाउँपालिकाले कोभिड पोजेटिभ व्यक्तिहरुलाई एम्बुलेन्स निशुल्क प्रदान गर्ने भएको छ । बिरामीहरुलाई होम आइसोलेशनबाट पालिका आइसोलेशन वार्डमा वा पालिकाको आइसोलेशनबाट जिल्लामा रहेको अईसोलेशनमा रिफर गर्नुपरेमा निशुल्क एम्बुलेन्सको सुबिधा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
बिहिबार बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार कोभिड बिरामीहरुको एम्बुलेन्स भाडा स्थानीय सरकारले व्यहोर्ने निर्णय भएको अध्यक्ष बिर बहादुर खत्रीले जानकारी दिए ।
स्थानीय स्वास्थ्य कर्मीहरुको जाँचबुझ अनुसार कोभिड पोजेटिभहरुको अबस्था हेरी अक्सिजन युक्त आइसोलेशनमा पुर्याउने र एम्बुलेन्स भाडा निशुल्क प्रदान गर्ने अध्यक्ष खत्रीले बताए ।
स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
स्थानीय सरकारले पालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । पालिकाको आइसोलेशन वार्ड हेर्ने स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहन भत्ता स्वरूप खाईपाई आएको तलबको ५० प्रतिशत थप तलव दिनेगरि कार्यपालिकाले निर्णय गरेको छ ।
त्यसैगरी गाउँपालिका भित्र रहेको ७ जनाको स्वास्थ्य मोबाईल टोलीलाई पनि खाईपाई आएको तलवको ३० प्रतिशत र स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई १५ प्रतिशतको दरले प्रोत्साहन भत्ता स्वरूप थप तलव दिने निर्णय भएको छ ।
उनीहरुले बैशाख, जेठ र असारसम्म ३ महिना प्रोत्साहन स्वरूप थप तलव पाउने भएका छन् । प्रत्येक वडामा कार्यरत स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारले दिएको जिम्मेवारी पुरा नगरेमा जवाफदेहीता बनाउने गरि उक्त निर्णय गरेको अध्यक्ष खत्रीले दावी गरे । उनले भने ‘गंगादेवका बिरामीहरुको अबस्था बारे वडाध्यक्षहरुसंग समन्वय गर्दै रेखदेख गर्ने छन् र जनताको स्वास्थ्य बिषयमा स्वास्थ्यकर्मीहरु कतै गैरजिम्मेवार बने उनीहरु स्वयम जवाफदेही हुनुपर्ने छ, यसैका आधारमा प्रोत्साहन भत्ताको ब्यबस्था गरेका छौ’।