ज्वरो र रुघा देखिनासाथ कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह


appharu

९ जेष्ठ २०७८, आईतवार १०:१७ मा प्रकाशित

काठमाडौं ।
रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।
रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासले नयाँ भेरियन्टको कोरोना भाइरस जोखिमपूर्ण भएकाले समयमै जाँच र उपचार गर्न आग्रह गर्नुभयो ।

सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचाउननै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने डाक्टरको अनुभव छ ।

पहिलो चरणमा कोरोनाले युवालाई कम प्रभाव पारेकोमा दोस्रो चरणमा धेरै युवालाई समस्यामा पारेको छ । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
बिरामीले आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिनुभएको छ । प्रशस्त मात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उहाँले सल्लाह दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्