सिद्धार्थनगरको वजेट १ अर्ब १८ करोड, बाह्रै महिना फुल फुल्ने शहर बनाउन ३० लाख


appharu

११ असार २०७८, शुक्रबार ०९:१६ मा प्रकाशित

पालिका पत्र/ सिद्धार्थनगर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १८ करोड ७९लाख रुपैयां बराबरको वजेट ल्याएको छ । नगर उपप्रमुख उमा काफ्लले बिहीबार नगरसभा मा वजेट पेश गर्दै चालुतर्फ ४८.४४ प्रतिशत र पूंजिगत तर्फ ५१.५६ प्रतिशत हुने गरी वजेट विनियोजन गरिएको बताइन् । वजेट मध्ये आन्तरिक आयका स्रोतहरूबाट रु. १९ करोड संकलन गर्ने लक्ष्य छ । बाँकी रकम संघीय सरकार र प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, नगरपालिकाले राजस्व बाँडफाँडबाट प्राप्त गर्ने वजेटमा उल्लखे छ ।

वजेटको २७ प्रतिशत सामाजिक विकासतर्फ, ४१ प्रतिशत पूर्वाधार विकासतर्फ, २१ प्रतिशत कार्यालय संचालन तथा प्रशासनिक र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ, ८ प्रतिशत आर्थिक विकास तर्फ र ३ प्रतिशत वातावरण तथा विपद् व्यवस्थापनतर्फ खर्च हुने अनुमान गरिएको छ ।

वजेटमा कोभिड-१९ आपतकालिन कार्यक्रमका लागि रु. ३० लाख, कोभिड–१९ लगायत आकस्मिक महामारी व्यवस्थापनको लागि स्वास्थ्यकर्मी परिचालन तथा प्रोत्साहनका लागि रु. १२ लाख, कोभिड–१९ लगायत विभिन्न रोगहरुबाट बचावट गर्न सुरक्षा सामग्रीहरु लगायत खरीदतर्फ रु. १० लाख विनियोजन छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना तथा सञ्चालनका लागि रू. २५ लाख, स्वास्थ्य संस्था तथा खोप केन्द्र विस्तार एवं व्यवस्थित गर्न रु. १० लाख विनियोजन भएको छ । स्वास्थ्यतर्फको सशर्त अनुदान ४ करोड ७६ लाख आएकोमा आधारभूत तथा आकस्मिक सेवाका लागि औषधी र स्वास्थ्य सुरक्षा सामग्रीको लागि रू. १९लाख, मातृ तथा नवशिशु (आमा सुरक्षा) कार्यक्रमका लागि रू. ३ करोड ३० लाख विनियोजन भएको छ ।

गर्भवती तथा सुत्केरी आमाहरूसँग उपप्रमुखको कोसेली भेट कार्यक्रमका लागि रू. २५ लाख विनियोजन भएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न तथा बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुका लागि थप तलबका लागि रु. ५६ लाख ५० हजार विनियोजन भएको छ । डण्डा कोरिडोरको समग्र विकास गर्न ५० लाख, वडा नं. ३ मा रहेको दरखसवा पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड र नगरपालिकाको सहभागिता १ करोड गरी २ करोड विनियोजन भएको छ । मेयर आवास कार्यक्रम अन्तर्गत २५ वटा आवास निर्माण गर्न ६० लाख, जिर्ण सडकहरुको मर्मत सम्भारका लागि ४० लाख र सडक बेसकोर्स निर्माणका लागि २५ लाख विनियोजन भएको छ ।

रखसवा खेल मैदानको लागि १ करोड, नगरका सडक पिच, नाला निर्माण, सडक ग्राभेल, मर्मत संभारका लागि अन्य पूँजीगत शीर्षक अन्तरगत. २ करोड ५० लाख, सडक बत्ति जडानका लागि ५० लाख, देवकोटा चोकमा ट्राफिक लाईट जडान गर्न ६० लाख, मैत्रीपथमा फुटपाथ निर्माणका लागि २५ लाख, फोहरमैला व्यवस्थापन सवारी साधन राख्ने पूर्वाधार निर्माणका लागि ७० लाख, बेलहियामा पशुपतिनाथको झल्को दिने गरी आधुनिक प्रवेशद्धार निर्माणको लागि रु १ करोड ५० लाख, बुद्धको आकृति झल्कने गरी नगरपालिकाको नयाँ कार्यालय भवन निर्माणका लागि लागत सहभागिता र सशर्त अनुदान गरी रु. ६ करोड विनियोजन भएको छ । महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा प्रोत्साहनमा ११ लाख ५० हजार,निःशुल्क सरकारी स्वास्थ्य वीमाको लागि रु. ३० लाख, उप प्रमुखसँग महिला लक्षित कार्यक्रमका लागि रु. २८ लाख, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लागि २७ लाख विनियोजन भएको छ ।

माहात्मा बुद्ध गोल्डकपको लागि रु. २५ लाख, मेयर क्रिकेटट प्रतियोगिता सञ्चालन गर्न रु. १० लाख, उपप्रमुख महिला कप प्रतियोगितालाई १० लाख, र विभिन्न खेलकूद कार्यक्रमका लागि ५ लाख विनियोजन भएको छ ।

घर घरमा कौशीतथा करेसावारी, भान्सा भान्सामा अर्गानिक तरकारी भन्ने मूल नारा सहित बिभिन्न किसिमको फलफूल, तरकारी जडीबुटीको खेती गरी भान्सा नै पहिलो औषधालय अभियान संचालनका लागि तालिम र उत्पादन, कृषि सामाग्री वितरण, स्थलगत घुम्ति तालिमका लागि ८ लाख ७५ हजार र तरकारी बिउको मिनी किट वितरणका लागि ५ लाख विनियोजन भएको छ ।

नगरको गौरवको आयोजना अन्तरगत रहेको सामुदायिक कृषि हाटबजार सम्पन्न गरी संचालन गर्न दुई शीर्षकमा गरी ४ करोड ७५ लाख विनियोजन भएको छ ।

पर्यटनतर्फ ३९ लाख ५० हजार विनियोजन भएको छ । सिद्धार्थनगरलाई बाह्रै महिना फुल फुल्ने शहरको रुपमाविकास गर्न एक वडामा एक उद्यान पार्क निर्माण कार्यलाई रु ३० लाख, छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्