कोरोनाबारे बिर्तामोडका मेयरले चलाए यस्तो हल्ला


appharu

२० जेष्ठ २०७८, बिहीबार १८:२२ मा प्रकाशित

झापा ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अनेकौं मानिसहरूको अनर्गल प्रचार भइरहेको बेलामा झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी पनि थपिएका छन् ।

गत साल कोरोना भाइरसको पहिलो चरणको महामारीमा प्रधानमन्त्री ओली आफैंले ‘हाच्छिउँ साच्छिउँ गरिदिने, स्याँक स्याँक सुँक सुँक गरिदिने, कोरोना चैट’ भनेका हुन् ।

दोस्रो लहरको महामारीसम्म आइपुग्दा अम्बाको पात र नुन पानीको ‘गार्गिल’ थपियो । तर यी सबै उट्पट्याङ हुन् भनेर सर्वसाधारणले बुझिसकेका बेलामा बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले अर्को उट्पट्याङ थपिदिए ।

बुधबार झापाको बिर्तामोडमा रहेको सूर्योदय टेलिभिजनको अन्तर्वार्तामा ‘सुनका गहनामा कोरोना भाइरस चाँडो आर्कषित हुन्छ, फुकालेर राख्नु’ भनेर अन्तर्वार्ता दिएपछि शिवाकोटी चर्चामा आए ।

उनले ‘गत बर्ष म संक्रमित हुँदा धेरै औंठी लगाएको थिएँ अनि मलाई संक्रमण भयो’ भन्नसम्म भ्याए। तर ती दाबी कतै प्रमाणित भएको कुरा उनलाई नै थाहा छैन ।

त्यतिमात्र होइन, कार्यक्रम प्रस्तोता देवी गौतमलाई एउटा पोको देखाउँदै ‘धेरै पत्रकार संक्रमित हुनु भएको छ, तपाईंले पनि यो पोको सुँघ्नु’ भने । त्यो पोकोमा चारवटा खाने कपुर, चारवटा लसुन र आधा चम्चा ज्वानो रहेको उनले बताए ।

पोको देखाउँदै मेयर शिवाकोटीले भने, ‘यति गरेनौं भने भाइरसले हामीलाई कोमामा लैजान्छ । हामीले भाइरसलाई कोममा लैजानुपर्छ।’ नगरका सबैलाई उक्त बस्तुहरू राखेर सानो पोको बनाएर नाकका प्वालमा पालो गरेर सुँघ्न उनले अनुरोध गरे।

गत साल पनि उनले ‘यो कोरोना सोरोना केही पनि होइन, मास्क नलगाए हुन्छ’ भनेर हिँड्दा आफैं संक्रमित भएका थिए । स्थानीय सरकारको प्रमुखले यस्तो गैर जिम्मेवार अभिव्यक्ति सार्वजनिक रुपमा दिएपछि सर्वत्र आलोचना भएको छ ।

चिकित्सकहरूले स्थानीय सरकारको प्रमुखले कोरोना भाइरसको संक्रमणको महामारीलाई हल्का रुपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘उहाँले भनेजस्तै हो भने किन यत्रा मान्छे मर्थेरु किन राज्यले यत्रो खर्च गरेर अस्पतालको क्षमता विस्तार गर्नुपर्थ्योरु’ मेची अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा। पिताम्बर ठाकुर प्रश्न गर्छन् ।

स्मरण रहोस् कोरोना संक्रमणका लागि अहिले बिर्तामोड नगरपालिका दोस्रो नम्बरमा आउँछ। यस्तो अवस्थामा स्थानीय सरकार प्रमुखको गैर जिम्मेवार अभिव्यक्तिका कारण नगरबासी आजित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्