रसुवा बाढीमा जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन


पालिका पत्र

26 August, 2026 8:53 pm मा प्रकाशित

काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा प्रसारण संरचनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपालीसँगै विदेशी कामदारसमेत रहेका छन् ।

प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपासका एक जना सम्पर्कबाहिर छन् ।

चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत ११ जना पनि त्रिशूली–३ बी आयोजनाको निर्माणस्थलबाट सम्पर्कविहीन भएका छन् ।

त्यस्तै, रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत केही कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्रिशूली–३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतसम्भारमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कमा आएका छैनन् ।

नेपाल विद्युत प्राधिकरणअन्तर्गत त्रिशूली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर रहेका छन् । रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका मिटर रिडर पनि सम्पर्कविहीन छन् ।

यस्तै, त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदार कम्पनीको तर्फबाट कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न ठेकेदारमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका २९ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेर अवस्थाबारे अनुगमन गरेको छ ।

श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी र उद्धारका लागि प्राधिकरणका टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएका छन् । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोलीसमेत स्थानीय क्षेत्रमा परिचालन गरिएको उनले बताए ।

उनका अनुसार सम्पर्कविहीन रहेका प्रसारण तथा विद्युत उत्पादन संरचनामा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेका व्यक्तिहरूको विवरण संकलन गर्ने, खोजी गर्ने र उद्धार कार्यलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्