त्रिविको परीक्षा भौतिक रूपमै हुने, पायक पर्ने केन्द्रमा परीक्षा


appharu

२२ जेष्ठ २०७८, शनिबार १६:१२ मा प्रकाशित

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाउने भएको छ। कोभिड–१९को दोस्रो लहरका कारण सञ्चालनकै क्रममा स्थगित स्नातक तह दोस्रो वर्षको परीक्षा र गत भदौमै हुनुपर्ने प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा छन् त्यहीँका त्रिविले तोकेका पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाउन लागिएको विश्वविद्यालयले जानकारी दिएको हो।

त्रिवि शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले अनालाइन परीक्षा लिन सम्भव नभएकाले परीक्षा केन्द्र नै विद्यार्थीलाई पायक पर्ने ठाउँमा राखेर परीक्षा सञ्चालन गरिने बताए।

‘गत सालबाटै सेमेस्टर प्रणालीमा सञ्चालन भएका सिमित विद्यार्थी संख्या भएका विद्यार्थीको परीक्षा अनलाइन माध्यमबाट पनि सञ्चालन गरेका छौं तर धेरै विद्यार्थी भएका त्यस्ता विषयका विद्यार्थीहरु देशभर छरिएका छन्, त्यस्ता विषयको परीक्षा अनलाइनबाट गर्न सम्भव भएन,ु उनले भने, ुत्यसैले अहिले विद्यार्थी जहाँ छन् त्यहीँबाट परीक्षा सञ्चालन गर्ने तयारीमा छौं। साउनभित्र सबै परीक्षा गरेर सक्ने उद्देश्यअनुसार हामी अघि बढेका छौं।’

भुसालले विश्वविद्यालयको अध्यापनलाई अघि बढाउन अनलाइन कक्षा सञ्चालन गरिराखिएको जानकारी दिए। ‘अनलाइन कक्षामा सहभागी भए नभएको विषयमा सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसका विद्यार्थीको अवस्थालाई बुझ्न डिन कार्यालयले सम्बन्धित क्याम्पसको प्रमुखसँग छलफल गर्ने गर्नुभएको छ। कक्षाहरु निरन्तर चलिरहेका छन्।’ उनले भने।

‘विद्यार्थी अनलाइन कक्षामा सहभागी हुने गरेका छन् र छुटेका कक्षा पनि रेकर्ड हुने भएकाले विद्यार्थीले पछि पनि त्यसलाई कभर गर्न सक्छन्। प्रयोगात्मक कक्षा भने सञ्चालन भएका छैनन् त्यसका लागि भने भौतिक कक्षा नै कुर्नुपर्ने हुन्छ,’ भुसालले भने।

१९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा नभएपछि अहिले त्रिविमा स्नातक तह प्रथम वर्षमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन्।

प्रतिक्रिया दिनुहोस्