मुख्यमन्त्रीको संरक्षणमा तुलसीपुरका मेयरका छोराको लापरवाही

चारलेन सडकमा कामै नगरी म्याद थप


appharu

४ असार २०७८, शुक्रबार १४:४० मा प्रकाशित


खेमराज रिजाल / घोराही

घोराही—तुलसीपुर सडकखण्डलाई चारलेन गराउने जिल्लाकै गौरवको सडक स्तरोन्नति योजना थालिएको छ । यो र त्यो बहानामा निर्माण कम्पनीका प्रतिनिधिले सन्तोषजनक काम गर्न नसकेको नेपाल सरकार चारलेन सडक परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार अहिलेसम्म यो योजनामा जम्मा ६ दशमलव ६ प्रतिशत मात्र कार्यप्रगति भएको हो । ‘यो अवधिमा कम्तिमा ३० प्रतिशत कार्यप्रगति हुनुपर्ने थियो तर ६ दशमलव ६ प्रतिशत मात्र कार्यप्रगति पुगेको छ, सबै कारणले यो निर्माण कम्पनी कारबाही गर्नलायक रहे पनि कोभिडका कारण रोकियो’–चार लेन सडक स्तरोन्नति परीयोजना कार्यालय लमहीका परियोजना प्रमुख इन्जिनियर पारश हमालले भने।
सुरुका वर्षमा विद्युत पोल सार्न ढिलाइ भएको बहाना बनाएको कम्पनीले अर्को वर्षदेखि लकडाउनलाई बहाना बनाएको थियो । हालसम्म निर्माण कम्पनीले परियोजनाबाट १० करोड मोविलाइजेशन खर्च स्वरुप रकम लिए पनि कार्यप्रगति सन्तोषजनक नभएकाले अघिल्लो वर्ष नै परियोजनाले पेनाल्टी स्वरुप बैंक ब्यालेन्सबाट खिचेको थियो । अहिले भने परियोजनाले कार्य प्रगतिको बिल नै पेश गरेकोछैन । भारत सरकारको सहयोगमा सम्पन्न हुने सो सडक स्तरोन्नतिको जिम्मा भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्टर प्रालिले पाएको थियो ।परियोजना तीन वर्षमा सम्पन्न हुने भनिएको थियो । दुई वर्ष पूरा भइसक्दा पनि कार्यप्रगति भने सन्तोषजनक छैन । कम्पनीले परियोजनामा पत्र पठाएर विद्युतका पोल सार्न ढिलाइ भएको जनाएपछि पहिलो पटक ६ महिनाको म्याद थपिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण भएको लकडाउनको बहानामा फेरि ३ महिना परियोजनाको म्याद थप भएको छ । तर निर्माण कम्पनीले भने विगत एक वर्षदेखि साइटमा काम ठप्प पारेको छ ।

आधिकारिक रुपमा तथ्य इन्जिनियरिङ देखिए पनि यहाँ भने स्थानीय प्रतिनिधि जनक डाँगी र अनुप पाण्डेले काम गराउँदै आएका थिए । अघिल्लो वर्ष नै डाँगी तथ्य इन्जिनियरिङको प्रतिनिधिबाट बाहिरिएपछि अहिले अनुप पाण्डेमार्फत् काम भइरहेको परियोजनाका प्रमुख इन्जिनियर हमालले बताए । पाण्डे तुलसिपुर उपमहानगरपालीका मेयरका छोरा हुन। मुख्यमन्त्री शंकर पोखरेल निकट नेता हुन घनश्याम । यो भन्दा अघि उनि एमालेमा नेपाल र खनाल समुहमा थिए । यद्यपि अन्तर्राष्ट्रिय कम्पनीले आधिकारिक रुपमा पेटी–ठेक्का दिने प्रावधान भने छैन । घोराहीको कुइरेपानीदेखि कटुवाखोलासम्म, डिकेपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म, दुधरासदेखि हात्तीखौवासम्म चारलेन सडक स्तरोन्नतिका लागि १ करोड २१ लाख ८२ हजारमा ठेक्का सम्झौता भएको बताइएको छ ।

यो करिब १ अर्ब ३६ करोड जति नेपाली रुपैयाँ हुन आउँछ । सम्झौता भएको ३० महिनामा काम सक्ने भनिए पनि निर्माणको काम सुरु हुनै ६ महिना ढिला भएको थियो । ‘सम्झौता ३० महिनामा सक्ने भन्ने थियो तर केही समय पोल हटाउन समय लागेकाले ६ महिना थप भयो, त्यसपछि कोभिड वापतको ३ महिना म्याद थपिएको छ’, परियोजना प्रमुख हमालले भने, ‘काम भने सबै तवरले अत्यन्तै सुस्त छ ।’ अझ पछिल्लो समयमा वर्तमान सरकारले हालै गरेको बजेट भाषणमा फेरि म्याद थप्ने भनेकाले यो परियोजनाको काम अझै पनि अनिश्चित बनेको छ । लकडाउनमा पनि अन्य परियोजनामा काम भइरहेका छन् । सरकारले पनि विकास निर्माणका कामसँगै राष्ट्रिय गौरवका योजनालाई काम नरोक्ने भनेको छ । तर, यहाँको काम भने सन्तोषजनक हुनसकेको छैन ।

तथ्य इन्जिनियरिङ कम्पनीलाई पटक–पटक पत्राचार गरेपछि पछिल्लो समयमा उसले भारतको एक्जिम बैंकमा प्रतिबद्धता सहितको पत्र पठाएर काम लकडाउन सकिएलगत्तै तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकाले ठेक्का रद्दको काम रोकिएको बताइएको छ । लकडाउन सकिएको केही समयभित्रै काम सन्तोषजनक रुपमा सुरु नभए कारबाही प्रक्रिया पुनः अघि बढ्ने नेपाल सरकार चारलेन सडक परियोजनाले जनाएको छ । यसै परियोजना अन्तर्गत् दाङ सहित भालुवाङ—बाग्दुला र चन्द्रौटा—कृष्णनगरमा पनि यस्तै मापदण्डको सडक स्तरोन्नतिको काम भइरहेको छ । भालुवाङ—बाग्दुला सेक्टरमा काम सन्तोषजनक नभएको भन्दै निर्माण ठेक्का समेत रद्द भइसकेको छ ।

चन्द्रौटा—कृष्णनगरको काम भने दाङको भन्दा सन्तोषजनक रहेको परियोजना प्रमुख हमालले बताएका छन् । ‘सर्तअनुसार काम किन भएन भनेर स्पष्टिकरण सहित काम गर्न आउनु भनेर पत्र लेखेका थियौँ, भारतको एक्जिम बैंकमा आएर कोभिड सहज भएलगत्तै काम गर्छु भनेर लेटर दिएको छ’, हमालले भने, ‘लकडाउन खुलेपछि पनि काममा आएन भने ठेक्का तोड्ने प्रक्रिया तत्कालै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्