यस्तो छ सिद्धार्थनगरको – १३२ बुंदे नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

स्वास्थ्य,पर्यटन र शिक्षालाई प्राथमिकता


appharu

७ असार २०७८, सोमबार २०:०६ मा प्रकाशित

पालिकापत्र / सिद्धार्थनगर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, कृषि तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोंचमा आधारित रहेर नीति तथा कार्यक्रा ल्याइएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । सोमबार शुरु नवौं नगर सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अधिकारीले कोरोना भाइरसको संक्रमणबाट बच्न, रोकथाम तथा नियन्त्रण, उपचार र प्रतिकार्यमा जोड दिइने बताए ।

साथै अन्य विपदको व्यवस्थापनका लागि प्राथमिकता दिइने उनले जनाए । बहुवर्षीय र क्रमागत योजनाहरु, नगरका गौरवका योजनाहरु र अन्य आवश्यक पूर्वाधार निमार्णमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समावेशी विकासमा जोड दिइने, कृषि, पशु विकास, सहकारी पर्यटन र उद्योगको विकासमा जोड दिइने कुरा नीति तथा कार्यक्रममा समावेश गरेको छ । यसैगरी वातावरण संरक्षण, पर्यावरणीय प्रवद्र्धन र फोहरमैला व्यवस्थापन तथा सुशासन र संस्थागत विकासमा विशेष जोड दिइने जनाएको छ ।

विगत वर्षमा स्वीकृत भएका नीति तथा कार्यक्रमलाई आधार मान्दै आगामी आवका नीति तथा कार्यक्रम तयार गरेको अधिकारी बताए । नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा निरन्तर रुपमा अघि बढ्न नगरपालिका दृढ रहेको अधिकारीले जनाए । ‘नगरका संयन्त्रलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउन आगामी आवको नीति तथा कार्यक्रम तय गरिएको र यसले नगरको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु’, अधिकारीले भने ।
साकार पार्न नीति तथा कार्यक्रमले भूमिका खेल्ने अधिकारीको विश्वास छ । नीति तथा कार्यक्रममा नगरको एकीकृत शहरी विकास योजनाको आधारमा अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजनाहरु तय गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिने जनाइएको छ ।

यस्तै, स्थानीय तहको एकल अधिकारको सूचि र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्रका विषयमा सम्पादन गर्नुपर्ने कार्यहरु विद्यमान कानूनी व्यवस्था बमोजिम सम्पादन गरिने र आवश्यकता अनुरुप थप कानूनहरु निर्माण गरी कार्यान्वयन गर्दै लगिने, न्यायिक समितिको कार्यसम्पादनलाई वस्तुपरक बनाउन संस्थागत विकास गरिने तथा समितिमा सहजीकरणका लागि व्यवस्थापन सूचना प्रणालीसहित दक्ष कर्मचारीको व्यवस्थापन, प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र मेलमिलापकर्ता तयार गर्न आवश्यक तालिमको व्यवस्था गरिने जनाइएको छ ।

विवाद समाधानका वैकल्पिक उपाय एवम् मेलमिलाप सम्बन्धी विद्यमान प्रकृयालाई थप स्पष्ट र सरल तुल्याई न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम, अन्तरक्रिया कार्यक्रम, अध्ययन अवलोकन, असल अभ्यास सिकाई तथा आदानप्रदान गरिने, नगरको सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, मितव्ययी र अनुमानयोग्य बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग, दक्ष र यथेष्ट कर्मचारी व्यवस्थापन सहित नागरिक सन्तुष्टि सर्वेक्षणगरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा संगठन विकास अध्ययन प्रतिवेदनको आधारमा नगरपालिकाको मौजुदा संगठन संरचनामा परिमार्जन गरी कर्मचारी दरबन्दी संख्या, तह एकीन गरी सोही बमोजिम कार्यविवरणसहित जिम्मेवारी दिने र शाखा प्रमुखहरुसंग कार्यसम्पादन करार गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिइने, साविक स्थानीय तहमा कार्यरत कर्मचारीहरुको लामो समयसम्म बृत्ति विकास हुन नसकेको र आवश्यक कानून निर्माण गरेर योग्यताका आधारमा स्तर बृद्धि गरी उनीहरुको काम गर्ने मनोबललाई उच्च बनाइने उल्लेख ।

नगरपालिकाको सम्पत्तिको अभिलेख तयार गरी सार्वजनिक गर्ने र त्यसको उचित उपयोग, संरक्षण तथा सम्बद्र्धन गर्दै लैजाने, वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयको कार्यसम्पादनलाई पारदर्शी र जवाफदेही तुल्याई सुशासन प्रवद्र्धन गर्न साझा सरोकारका बिषय छलफल, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षणका कार्यक्रम वडा तथा नगर क्षेत्रमा सञ्चालन गरिने, नगरपालिकाका गतिविधिहरु नगरबासीहरुसम्म पुर्याउन, पैरवी गर्न र सम्पादित कार्यहरुलाई जनताको बीचमा ल्याउन सञ्चार क्षेत्रसंग हातेमालो गर्दै सहकार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
नगर सभाका सदस्य ज्यू
सिद्धार्थनगर नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम यस गरीमामय सभा समक्ष प्रस्तुत गर्न पाउदा अत्यन्त गौरवान्वित भएको छु । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदान, संघीय गणतन्त्र नेपालको उपलब्धि स्थानीय सरकार हो । अतः यस अवसरमा म लोकतन्त्र प्राप्तिको लागि लामो संघर्ष एवम् आन्दोलनका क्रममा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । यसै क्रममा कोरोना भाईरस र सडक दुर्घटनाका कारण क्रमशः नगर सभा सदस्य स्व. सुवोध तुलाचन र नगर सभा सदस्य स्व. दिल बहादुर गुरुङ्गलाई हामी बीचबाट गुमायौं । दिवंगत सहकर्मीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । विश्वको महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण यस नगरमा ६१ जनाले ज्यान गुमाउनु भएको छ भने कोभिडका कारणले असामयिक मृत्युवरण गर्नुहुने सबै आमा, बुवा, दाजुभाई दिदी बहिनीहरुमा हार्दिक श्रद्धान्जली सहित विरामी भई अस्पतालमा उपचार गराईरहनु भएका महानुभावहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कोभिड रोकथाम तथा उपचारको क्रममा नगरपालिकालाई सहयोग पुर्याउनु हुने सबै राजनीतिक दल, बिभिन्न सामाजिक संघसंस्था, नागरिक समाज र सबै नगरबासीमा हार्दिक आभार प्रकट गर्दछु । कोभिड संक्रमितको उपचारमा आफ्नो ज्यानको बाजी राखेर अहोरात्र खटिने नगरपालिकाका स्वास्थ्यकर्मीहरु अन्य सबै कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु र यस कार्यमाआवद्ध सबैमा हार्दिक अभार र उच्च सम्मान प्रकट गर्दछु ।

कोभिडको महामारीका कारण हामीले विपद् व्यवस्थापन गर्ने काम बाहेक अन्य धेरै कामहरुलाई थाती राख्नु परेको छ । चालु आ.ब. मा नगर सभाबाट स्वीकृत नीति तथा कार्यक्रमहरु कार्यान्वयनको चरणमा छन् । तर कोभिड १९ को पटक पटकसंक्रमणबाट देशभर ठप्प हुन पुगेको कारण हामीले लिएका लक्ष्यहरु पुरा गर्न चुनौति खडा भएको छ । तथापि विपद्को सामना गर्दै निरन्तर रुपमा लक्ष्य प्राप्तीका लागि प्रयत्नशील छौं । यसै क्रममा आ.व. ०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि जुटेका छौं । विगत वर्षमा स्वीकृत भएका नीति तथा कार्यक्रमलाई आधार मान्दै आगामी आ.व. का नीति तथा कार्यक्रम तयार गरेका छौं । सिद्धार्थनगर नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा निरन्तर रुपमा अघि बढ्न नगरपालिका दृढ रहेको छ । यीनै कुराहरुलाई मनन गरीसुशासन कायम गर्दै नगरका संयन्त्रलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउन आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम तय गरिएको र यसले नगरको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।

नगरपालिकाले आ.ब. २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम तयारी गर्ने क्रममा नेपालको संविधान, संघीय सरकार र प्रदेश सरकारका चालु आवधिक योजनाहरु, दीगो विकासका लक्ष्यहरु, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघीय सरकार र प्रदेश सरकारको मार्गदर्शन, स्थानीय तहको स्वमूल्यांकनका सूचकहरु,सिद्धार्थनगर नगरपालिकामा गठित विभिन्न बिषयगत समितिहरुबाट भएका निर्णयहरु, नगरपालिकाले आयोजना गरेको आ.ब. २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी सम्बन्धी राय सुझाब संकलनका लागि छलफल तथा अन्तर्क्रिरया कार्यक्रमबाट प्राप्त सुझावहरु तथा नगर सभा सदस्यहरुले निरन्तर रुपमा दिने राय सुझावका आधारमा यो वार्षिक नीति तथा कार्यक्रम तयार गरियस सम्मानित सभामा पेश गरेको छु ।

पर्यटन उद्योग व्यापार र शिक्षा हराभरा बुद्धभूमि सिद्धार्थनगरको ईच्छा भन्ने दीर्घकालीन सोचलाई साकार पार्न प्रस्तुत नीति तथा कार्यक्रममा प्राथमिकताहरु देहाय बमोजिम हुनेछन् ।
१. कोरोना भाईरसको संक्रमणबाट बच्न सोको रोकथाम नियन्त्रण उपचार र प्रतिकार्यमा जोड दिईने छ । साथै अन्य विपदको व्यवस्थापनको लागी प्राथमिकता दिईनेछ ।
२. बहुवर्षीय र क्रमागत योजनाहरुऽ नगरका गौरवका योजनाहरु र अन्य आवश्यक पूर्वाधार निमार्णमा जोड दिईनेछ ।
३. शिक्षा स्वास्थ्य समावेशी विकासमा जोड दिईनेछ ।
४. कृषि पशु विकास सहकारी पर्यटन र उद्योगको विकासमा जोड दिईनेछ ।
५. वातावरण संरक्षण पर्यावरणीय प्रवर्द्धन र फोहरमैला व्यवस्थापनमा जोड दिईनेछ ।
६. सुशासन र संस्थागत विकासमा जोड दिईनेछ ।

नगर सभा सदस्यज्यूहरु,
अब म क्षेत्रगत रुपमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्दछु ।
क) सुशासन तथा संस्थागत विकास तर्फः

१. नगरको एकीकृत शहरी विकास योजनाको आधारमा अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजनाहरु तय गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
२. स्थानीय तहको एकल अधिकारको सूचि र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकाको क्षेत्राधिकार भित्रका विषयमा सम्पादन गर्नुपर्ने कार्यहरु विद्यमान कानूनी व्यवस्था बमोजिम सम्पादन गरिनेछ । आवश्यकता अनुरुप थप कानूनहरु निर्माण गरी कार्यान्वयन गर्दै लगिनेछ ।
३. न्यायिक समितिको कार्यसम्पादनलाई वस्तुपरक बनाउन संस्थागत विकास गरिनेछ । न्यायिक समितिमा सहजीकरणका लागि व्यवस्थापन सूचना प्रणाली सहित दक्ष कर्मचारीको व्यवस्थापन प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र मेलमिलापकर्ता तयार गर्न आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
४. विवाद समाधानका वैकल्पिक उपाय एवम् मेलमिलाप सम्बन्धी विद्यमान प्रकृयालाई थप स्पष्ट र सरल तुल्याईनेछ । न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम, अन्तर्क्रिरया कार्यक्रम, अध्ययन अवलोकन, असल अभ्यास सिकाई तथा आदानप्रदान गरिनेछ ।
५. न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुँच वृद्धि गरिनेछ । हिंसा पिडित महिला, अपाङ्गता भएका, दलित, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रदेश र संघीय सरकारको सहकार्यमा निशुल्क कानूनी परामर्श/सहायता उपलब्ध गराईनेछ । साथै नागरिकहरुलाई कानूनी शिक्षाको सुनिश्चितता अभियान सञ्चालन गरिनेछ ।
६. न्यायिक समितिबाट मुद्धाको लागि आउने वादी र प्रतिवादीहरु मध्ये अति विपन्न, ज्येष्ठ नागरिक अपाङ्ग, एकल महिला भएमा निजहरुबाट मुद्धा दर्ता गर्दा र प्रतिउत्तर दर्ता गर्दा लाग्ने शुल्कमा मिनाहालाई निरन्तरता दिईनेछ ।
७. नगरको सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, मितव्ययी र अनुमानयोग्य बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग, दक्ष र यथेष्ट कर्मचारी व्यवस्थापन सहित नागरिक सन्तुष्टि सर्वेक्षण गरिनेछ ।
८. संगठन विकास अध्ययन प्रतिवेदनको आधारमा नगरपालिकाको मौजुदा संगठन संरचनामा परिमार्जन गरी कर्मचारी दरबन्दी संख्या, तह एकिन गरी सोही बमोजिम कार्यविवरण सहित जिम्मेवारी दिईनेछ । शाखा प्रमुखहरुसंग कार्यसम्पादन करार गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिईनेछ ।
९. साविक स्थानीय तहमा कार्यरत कर्मचारीहरुको लामो समयसम्म बृत्ति विकास हुन सकेको छैन । आवश्यक कानून निर्माण गरेर योग्यताका आधारमा स्तरबृद्धि गरी उनीहरुको काम गर्ने मनोबललाई उच्च बनाइने छ । साथै सबै कर्मचारीलाई काम प्रति उत्प्रेरित बनाउन कार्यसम्पादनमा आधारित सुविधा उपलब्ध गराइनेछ ।
१०. नगरपालिकाले उपलब्ध गराउने सेवाहरुको प्रभावकारिता अभिवृद्धि गर्न तथा उपलब्धीमुलक बनाउन सार्वजनिक निजी साझेदारी तथा सहकारी मार्फत सेवाहरु सञ्चालन गर्ने अवधारणा ल्याईनेछ ।
११. कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकासका लागि आवश्यक तालिम, अध्ययन अवलोकन तथा सिकाईका अवसरहरु सबैमा समान रुपमा उपलब्ध हुने अवसर मिलाईनेछ ।कर्मचारीहरुको वृत्तिविकासलाई अनुमानयोग्य बनाईनेछ । साथै कर्मचारीहरुको शीप योग्यता क्षमता र रुचिका आधारमा कार्यजिम्मेवारी दिईनेछ ।
१२. नगरपालिकाको सम्पत्तिको अभिलेख तयार गरी सार्वजनिक गर्ने र त्यसको उचित उपयोग, संरक्षण तथा संवर्द्धन गर्दै लगिनेछ ।
१३. वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयको कार्यसम्पादनलाई पारदर्शी र जवाफदेही तुल्याई सुशासन प्रवर्द्धन गर्न साझा सरोकारका बिषय छलफल, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षणका कार्यक्रम वडा तथा नगर क्षेत्रमा सञ्चालन गरिनेछ ।
१४. नगरपालिकाका गतिविधिहरु नगरबासीहरुसम्म पुर्याउन, पैरवी गर्न र सम्पादित कार्यहरुलाई जनताको बीचमा ल्याउन सञ्चार क्षेत्रसंग हातेमालो गर्दै सहकार्यलाई निरन्तरता दिइनेछ ।
१५. सिद्धार्थनगर नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका रेडियो, टिभि, पत्रपत्रिका, प्रेस क्लब, अनलाईन पत्रिकालाई आवश्यक सहयोग गरिनेछ । नियमित रुपमा पत्रकार भेटघाट कार्यक्रम मार्फत नगरका गतिविधिहरु नगरवासीहरु समक्ष पुर्याइने छ ।
१६. नगरक्षेत्रभित्रका लब्धप्रतिष्ठित तथा विद्वत वर्गको अनुभव आदान प्रदान गरी प्राप्त पृष्ठपोषणलाई नगरको विकासमा समाहित गर्दै लगिनेछ । साथै निजहरुको सहयोगबाट नैतिक मूल्यमान्यतामा आधारित सुरक्षित शहर बनाउन पहल गरिनेछ ।
१७. जनताबाट संकलित करको सम्मान गर्दै सार्वजनिक खर्चलाई उत्पादनमुलक र उपलब्धीमुलक बनाउदै सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन आन्तरिक नियन्त्रण प्रणाली अवलम्बनमा जोड दिइनेछ ।
१८. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास पद्धतिको अनुभव आदान प्रदान तथा सहकार्य प्रवर्द्धन गर्न देश तथा विदेशका शहरहरुसँग भगिनी सम्बन्ध कायम गर्ने गरिनेछ ।
१९. बुद्धको आकृति झल्कने गरी नगरपालिकाको नयाँ कार्यालय भवन निर्माण गरिनेछ साथै स्वास्थ्य सेवा प्रवाह गर्ने पूर्वाधार र निर्माणाधिन वडा कार्यालयका भवन निर्माण सम्पन्न गरिनेछ ।

सामाजिक विकास तर्फः
जतिसुकै भौतिक प्रगति भएतापनि जबसम्म मानिसहरुको चेतनाको विकास हुँदैन अर्थात सामाजिक विकास हुदैँन् तबसम्म वास्तविक विकास हुन सक्दैन् । वास्तविक विकासको लागि भौतिक र सामाजिक विकास संगसँगै हुन जरुरी छ र दिगो विकासको लागि यो अपरिहार्य पनि हो । आ.व. २०७८।०७९ मा नगरको सामाजिक विकासको लागि देहायका नीति तथा कार्यक्रमहरु अवलम्वन गरिनेछ ।
२०. नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता योजना, नगर पाश्व चित्र तयार गर्ने कार्य शुरु भएकोमा त्यसलाई पूर्णता दिइनेछ ।
२१. सहभागितामुलक विकास र विकासमा समुदायको अपनत्व अभिवृद्धि गर्न टोल विकास संस्थाको गठन र परिचालन गरिनेछ ।
२२. स्थानीय खेलकुद, भाषा, साहित्य, कला र संस्कृतिको अक्षयकोष स्थापना भईसकेकोमा यी क्षेत्रको विकासका लागि थप सहयोग जुटाउन आवश्यक पहल गरिने छ । यसका लागि नगरपालिकामा रहेका सामाजिक संघ संस्थाहरुसंग समन्वय गरी सामाजिक क्रियाकलापहरु संचालन गरिने छ ।
२३. सिद्धार्थनगरलाई सहयोगापेक्षी सडक मानव मुक्त नगर बनाउन आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
२४. गैरसरकारी संस्थाहरुको नियमन गरी उनीहरुको भूमिकालाई उत्तरदायी बनाइदै सहकार्य गरिनेछ ।
२५. उपभोक्ताको स्वास्थ्य तथा हकहित अभिवृद्धि गर्न बजार अनुगमन कार्यलाई नियमित तथा प्रभावकारी बनाईनेछ ।
२६. नगरभित्र रहेका विद्यालयहरुको भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिदै विद्यालयको भवन, पुस्तकालय, प्रयोगशाला, अपाङ्गतामैत्री पूर्वाधार निर्माण, बालमैत्री शौचालय, फर्निचर जस्ता पूर्वाधारमा लगानी बढाइनेछ । चालु आ.ब. मा निर्माण कार्य शुरु गरिएका सबै विद्यालय भवनको निर्माण कार्यलाई पूरागरिनेछ ।
२७. विद्यालयको प्रस्तावको आधारमाएक विद्यालय एक विशेष क्षमता कार्यक्रमको सुरुवात गरिनेछ ।
२८. नगर पुस्तकालयलाई प्रविधिमैत्री बनाईनेछ । आधारभूत तह–कक्षा ८) को परीक्षालाई व्यवस्थित तरिकाले संञ्चालन गर्न व्यवस्था मिलाईनेछ ।
२९. शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन संचार र अनुगमन व्यवस्थालाई निरन्तर प्रणालीको रुपमा विकसित गरिनेछ ।
३०. विद्यालयको आर्थिक तथा अन्य व्यवस्थापनलाई चुस्त दुरुस्त र पारदर्शी बनाउनका लागि सबै सामुदायिक विद्यालयका अभिभावक, प्रधानाध्यापक र विद्यालय कर्मचारीहरुको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
३१. न्यून बेतन भएका बालविकास शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकमा बृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
३२. विद्यालय उमेरमा हुने दुर्व्यसनको सिकारबाट बालबालिकाहरुलाई बचाउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।अति बिपन्न गरिब तथा जेहेन्दार छात्रामैत्री प्राविधिक शिक्षाका लागि आवश्यक सहयोग गरिनेछ ।
३३. शैक्षिक गतिबिधिलाई सबल सक्षम बनाउन विभिन्न तरिका अवलम्बन गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक÷शिक्षक÷विद्यालय व्यवस्थापन समितिलाई असल अभ्यासको आदान प्रदान हुने व्यवस्था गर्दै लगिनेछ ।संस्थागत विद्यालयहरुमा अनिवार्य रुपमा खेल शिक्षक राख्ने, शिक्षक कर्मचारीको पारिश्रमिक बैंकबाट भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ । साथै शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नियमन गरिनेछ ।
३४. अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरुमा शिक्षण सिकाइका गतिविधिहरु सञ्चालन गर्न आवश्यक व्यवस्था गरिनेछ ।जसका लागी बुक रिभ्यु कन्टेस्ट, प्रतिभा प्रस्फुटन गराउन सामाग्री–माईक स्पीकर साउन्ड सिष्टम) मार्फत प्रतिभा आदानप्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।
३५. विद्यार्थीको सर्वाङ्गिण विकासकालाई टेवा पुर्याउने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा अन्य प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
३६. नगरभित्र संचालन हुने सवै खेलकुदको वार्षिक कार्यक्रम बनाई एकद्धार नीतिको माध्यमबाट खेलकुदको विकासमा सहयोग पुर्याइनेछ । स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ मेयर कप, महात्माबुद्ध गोल्डकप र उपप्रमुख महिला कप खेलकुद प्रतियोतिलाई निरन्तरता दिइनेछ ।
३७. सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक दरबन्दी मिलान, विद्यालयहरु समायोजन, प्रविधिमैत्री शिक्षक तालिम कार्यहरुलाई प्राथमिकताका साथ संचालन गरिनेछ ।
३८. वातावरणीय तथा सौन्दर्यता पूर्ण विद्यालय निर्माणका लागि विद्यालयमा बगैंचा निर्माणको कार्यलाई अगाडि बढाइनेछ ।
३९. नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण विद्यालय बन्द भई घर बसेका विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्न अभिभावकलाई तालिमको व्यवस्था गरिदै लगिनेछ ।
४०. अभिभावक, विद्यार्थी, शिक्षक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सबै पक्षमा उत्कृष्ट एक विद्यालयलाई पुरस्कारको व्यवस्था गरिनेछ ।साथै माध्यमिक तहमा उत्कृष्ट जेहेन्दार बालबालिकाहरुलाई कम्प्युटर शिक्षाका लागी प्रोत्साहन गरिनेछ ।
४१. सामुदायिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको व्यवस्था गरिनेछ ।किशोरीहरुका लागी आत्मरक्षा सम्बन्धी तालिम दिईनेछ ।
४२. कुनै दुइ विद्यालयलाई नगरस्तरीय नमुना विद्यालयको विकास अवधारणालाई अगाडी बढाइनेछ ।
४३. शैक्षिक रणनीतिक योजना तथा शिक्षा क्षेत्रमा आवश्यक कानून तर्जुमा गरी कार्यान्वयन गरिनेछ । साथै दुर्व्यसनी नियन्त्रण, नैतिकता, हिंसाको अन्त्य, सामाजिक सदभाव, सरसफाई, लुम्विनी क्षेत्र, बुद्धको जीवनी जस्ता विषय समावेश गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ ।
४४. सामाजिक विकृतिहरुलाई न्यून पार्न सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धीअभियान सञ्चालन गरिनेछ । साथै घुम्ति विदेशी भाषा क्याम्प सञ्चालन गरिनेछ ।
४५. महिला, बालबालिका, जेष्ठ नागरिक, एकल महिला, युवा, मधेशी, आदिवासी, जनजाति,दलित, मुस्लिम, पिछडा वर्ग,अपाङ्गता भएका व्यक्ति आदिलाई लक्षित गरी विशेष कार्यक्रमहरु मार्फत क्षमता विकास, रोजगारी अवसरको सृजना गरिनेछ । साथै विभिन्न महिला विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
४६. विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा बालबालिका पुर्नस्थापना केन्द्र,जेष्ठ नागरिक आश्रय केन्द्र, ज्येष्ठ नागरिक मिलन केन्द्र, अशक्त स्याहार केन्द्र स्थापना र संचालनमा आवश्यक समन्वय गरिनेछ । ज्येष्ठ नागरिकको हक, हित र अधिकारको लागि पहल गर्ने, नगर क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरुलाई संगठित गर्ने कार्यको शुरुवात गरिनेछ ।
४७. बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नकालागि आवश्यक क्रियाकलापहरु संचालन गरिने छ । बालश्रम बालविवाह वहुविवाह दाईजो बोक्सी छाउपडी जस्ता प्रथा रोकथामका लागी कार्यक्रम सञ्चालन गरिनेछ ।
४८. आर्थिक तथा सामाजिक दृष्टिले कमजोर तथा विपन्न वर्गका महिलाऽ एकल महिलाको हक हित संरक्षण गर्दै आर्थिक सशक्तिकरण एवम् जीवकोपार्जनमा सहयोग पुर्याउने कार्यक्रम लागु गरिनेछ । महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गरी सञ्चालन गरिनेछ ।महिला लक्षित कार्यक्रमलाई व्यापकता दिइनेछ ।
४९. वञ्चितिमा परेका सबै समुदायका किशोरीहरुका लक्षित आर्थिक–सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्न आवस्यक व्यवस्था मिलाइनेछ ।
५०. नगरक्षेत्रमा रहेका अपाङ्गता भएका सम्पूर्ण व्यक्तिहरुको हकहितको संरक्षण गर्दै सहयोग, सद्धभाव र अवसरको प्रदान गर्दै उनीहरुको मनोबल बढाउने र हौसला दिने कार्यक्रम सञ्चालन गरिनेछ ।
५१. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम, लैङ्गिक हिंसा निवारण सम्बन्धीसमिति गठन, अन्तरक्रिया, सचेतना तथा तालिम कार्यक्रम तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस, अभियानहरु व्यवस्थित रुपले सञ्चालन गरिनेछ ।
५२. बिश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीले सम्पूर्ण बिश्वलाई नै आक्रान्त पारिरहेको सन्दर्भमा महामारीको रोकथाम र नियन्त्रणको कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिनेछ । नगरवासीहरुको लागि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम संचालनका लागि संघीय सरकार, प्रदेश सरकार संग खोप माग गरी उपलब्धताको आधारमा खोप कार्यक्रम संचालन गरिनेछ । कोभिडको उपचारमा खटिएका कर्मचारीहरुलाई कार्य सम्पादनको आधारमा उचित प्रोत्साहनको ब्यवस्था गरिनेछ । कोरोना भाईरसको माहामारीमा नगरपालिकालाई सहयोग गर्ने राजनीतिक दल, सामाजिक संघ सस्था, विभिन्न निकाय तथा व्यक्तिहरुलाई उच्च सम्मान गरिनेछ ।
५३. महामारी, रोग नियन्त्रण तथा विपद् व्यवस्थापनका लागी आकस्मिक योजना बनाई कार्यन्वयन गरिने छ ।
५४. नगरपालिकाबाट संचालित स्वास्थ्य सेवा केन्द्रहरु, खोप केन्द्रहरुबाट प्रदान गरिदै आएका स्वास्थ्य सेवाहरुलाई थप गुणस्तरीय बनाइनेछ । साथै नगरपालिकाका विभिन्न वडाहरुमा स्वास्थ्य सेवा क्रमशः थप गर्दै लगिनेछ ।
५५. नगरक्षेत्र भित्रका गर्भवती महिलाहरुलाई मापदण्ड अनुसार जाँच गराई संस्थागत सुत्केरी गराउने सुनिश्चितता गरिने छ । साथै जिरो होम डेलिभरी (पूर्ण संस्थागत सुत्केरी) वडा घोषणाका लागि आवश्यक तयारी गरिनेछ । गर्भवती तथा सुत्केरीहरुलाई आइरन र क्यालिशियम चक्की निशुल्क वितरण गरीने छ । विद्यालयमा अध्यनरत समुदायमा रहेको १० देखि १९ वर्ष सम्मका किशोरीहरुलाई आइरन चक्कि वितरण र पोषण परामर्शको ब्यवस्था गरिने छ ।
५६. जन्म देखि दुई वर्ष मुनिका बालबालिकाहरुलाई पुर्ण खोप दिलाई पुर्ण खोप सुनिश्चितता गरीनेछ । खोप सेवालाई क्रमशः वडा स्तरसम्म पुर्याइनेछ ।
५७. उपप्रमुख सुरक्षित मातृत्व प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ ।
५८. नगरमा प्रजनन स्वास्थ्य, बालस्वास्थ्य, परिवार नियोजन, बिभिन्न खाले सर्ने, नसर्ने रोगहरु, पेशागत स्वास्थ्य, वातावरणीय स्वास्थ्य, मानसिक स्वास्थ्य सुर्तीजन्य र मदिराजन्य पदार्थ तथा लागुपदार्थको असर सम्बन्धी स्वास्थ्य, शिक्षा तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
५९. पोषण, सुरक्षित मातृत्व सम्बन्धी तथा अन्य आधारभूत स्वास्थ्य सेवाको पहुँचमा बृद्धि गरिनेछ ।बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
६०. महिला स्वास्थ्य स्वयं सेविका तथा स्वास्थ्यकर्मीहरुको सेवालाई थप प्रभावकारी वनाउन प्रोत्साहन गरिने छ । महिला स्वास्थ्य स्वयंसेविकाको निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइने छ । साथै अतिबिपन्न अनाथ, पूर्ण र बहु अपांगता भएका व्यक्ति, ८४ बर्ष भन्दा माथिका जेष्ठ नागरिक, असक्त महिला तथा बालबालिका र एकल महिलाको निशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइनेछ ।
६१. नगरवासीको स्वास्थ्यका लागि आयुर्वेदीक चिकित्सा पद्धतीको अभ्यास योग तथा ध्यान शिविर संचालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
६२. सन् २०२४ सम्म पूर्ण घटना दर्ता सुनिश्चित गर्ने नेपाल सरकारको लक्ष्य पुरा गर्न सबै किसिमका घटना दर्ता ३५ दिन भित्र दर्ता गर्न नगर क्षेत्रमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
६३. पूर्ण घटना दर्ता सुनिश्चितता तथा सामाजिक सुरक्षा भत्ताका लागि वडा भित्रका टोलटोलमा नाम दर्ता र नविकरणका लागि दर्ता शिविर सञ्चालन गरिनेछ ।
६४. व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी तथा जनप्रतिनिधिहरुलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
६५. सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्न आ.व. २०७८/०७९ को पहिलो चौमासिक भित्र सबै लाभग्राहीको विवरण अध्यावधिक गरी नयाँ परिचयपत्र वितरण गरिने र सम्भावित लाभग्राही पहिचान गरी सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरिने छ ।
६६. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरणलाई व्यवस्थापन सूचना प्रणालीमा अध्यावधिक गरिनेछ । प्रत्येक चौमासिकको सामाजिक सुरक्षा भत्ता लाभग्राहीले समयमै विना झन्झट बैकिङ्ग प्रणाली मार्फत प्राप्त गर्नका लागि आवश्यक सहजीकरण गरिनेछ ।
६७. शारिरिक अवस्थाका कारणले हिडडुल गर्न नसक्ने क वर्गको अपाङ्गता भएका व्यक्ति र ८४ वर्ष उमेर पुगेका वृद्ध आमा बुवाहरुलाई भत्ता लिन बैक सम्म जानुपर्ने बाध्यता अन्त्य गर्दै बैक संगको सहकार्यमा घरदैलोबाट भत्ता प्राप्त गर्न सक्ने तथा संरक्षकको नाममा रकम निकाल्न सक्ने व्यवस्था मिलाईनेछ ।
६८. सुरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजना) मार्फत नगरपालिकाको आप्रवासन प्रोफाईल निर्माण गरी बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गरी वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा तथा शीप विकास तालिम सञ्चालन गरिनेछ ।

आर्थिक विकास तर्फ
६९. उद्योग, व्यापार, पर्यटन, कृषिलाई नगरको प्रमुख आर्थिक विकासको आधारको रुपमा लिइ सोही अनुसार विकास गर्दै लगिनेछ ।
७०. दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न सार्वजनिक–निजी–सहकारी क्षेत्रको सहकार्य मार्फत स्थानीय स्रोत साधनको समुचित प्रयोग तथा परिचालन गरी दिगो स्थानीय आर्थिक विकास गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
७१. सहकारी संस्थाबाट युवा उद्यमी तथा स्वरोजगारहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने नीति लिईनेछ ।
७२. एक व्यक्ति एक सहकारी नीतिलाई बढावा दिई सहकारीको गुणात्मक सुधारका लागि सहकारी संस्थाहरुको एकीकरण (मर्जर) नीति अवलम्बन गरिनेछ । एकीकरण भएका सहकारी संस्थाहरुलाई नगरपालिकालाई तिर्नु पर्ने दुई आर्थिक वर्षको व्यवसाय कर छुट दिई प्रोत्साहन गरिनेछ ।
७३. नगर क्षेत्रमा सहकारीद्वारा प्रवर्द्धिधत हाटबजारको विकास गर्न प्रोत्साहन गरिनेछ । प्रत्येक वडामा उपभोक्ता सहकारी स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
७४. हरित उद्यम विकासको लागि नगर क्षेत्रका बाँझो तथा सार्वजनिक जग्गालाई लिजमा दिई सहकारी मार्फत नर्सरी प्रवर्द्धन, फलफुल, बहुवर्षीय नगदेवाली, तरकारी खेती आदिलाई प्रवर्द्धन गरिनेछ ।
७५. पूर्व सहकारी शिक्षा तथा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरी उत्पादनमुलक सहकारी संस्था स्थापना गर्न प्रोत्साहन गरिनेछ । स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
७६. सहकारी संस्थाहरुको नियमित अनुगमन तथा सघन अनुमगनबाट संस्थागत सुशासन कायम गर्दै समस्या देखिएका सहकारीमा संकट समाधानका लागी आवश्यक पहल गरिनेछ ।
७७. सहकारी सम्बन्धी स्थानीय तथ्याङ्कलाई व्यवस्थित गरी व्यवस्थापन, अध्ययन, अनुसन्धान र विश्लेषण गरिनेछ । साथै सो को आधारमा सहकारी सम्बन्धी आवश्यक कानुनको तर्जुमा तथा प्रारम्भिक संस्थाको लागि आवश्यक नमुना कानून तर्जुमा गरी तिनको कार्यान्वयन तथा नियमन कार्यलाई प्रभावकारी बनाईनेछ ।
७८. सहकारी प्रणालीलाई उद्यमशीलता विकास तथा कृषिको आधुनिकीकरणमा परिचालन गरिनेछ । सहकारी संस्थाको नेतृत्वमा कृषि उत्पादन प्रशोधन तथा बजारीकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
७९. संघीय सरकार, प्रदेश सरकार, दातृ निकाय, सहकारी अभियान तथा प्रारम्भिक सहकारी संस्थाहरु संगको सहकार्यमा साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।
८०. सहकारी प्रवर्द्धन तथा संस्थागत सुदृढीकरण कार्यक्रम मार्फत नमुना सहकारी संस्था विकास कार्यलाई जोड दिईनेछ । स्थानीय सहकारी संस्थाहरुको नगर सञ्जाल निर्माण गरी समन्वय र सहकार्यमा जोड दिईनेछ ।
८१. नगरक्षेत्रभित्र आयोजना हुने महोत्सवहरुलाई सभ्य र भव्य रुपमा सञ्चालन गर्न आवश्यक समन्वय र सहयोग गरिनेछ ।लुम्बिनी क्षेत्र, अन्तराष्ट्रिय विमानस्थल जस्ता अवसरहरुलाई आधार मानी सोही बमोजिम पर्यटकीय कार्यक्रम संचालन गरिनेछ ।
८२. कोभिड १९ ले सृजना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै उद्योग वाणिज्य क्षेत्रमा लाग्ने करको दर यथावत राखिनेछ ।
८३. नगरपालिकाले उठाउने सबै प्रकारका करहरुको दर भन्दा दायरा वृद्धि गरी प्रगतिशील कर प्रणाली लागू गरिनेछ । कर शिक्षा अभियान संचालन गर्ने, सबै व्यवसायहरुलाई दर्ता तथा अभिलेखीकरण सरल बनाउने जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
८४. महामारीबाट संकटमा परेका प्रतिष्ठान फर्म उद्योगहरुको प्रवर्द्धनका लागी संघीय र प्रदेश सरकार संगको समन्वयमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिनेछ । नगर क्षेत्रमा रोजगारी सृजना गर्ने उद्योग स्थापना गर्न प्रोत्साहित गरिनेछ ।
८५. सहकारी मार्फत उद्यमशीलता विकासका लागी युवाहरुलाई सहकारीमा आवद्ध गराई स्वरोजगारमुलक उद्यमशीलता प्रवर्द्धन तालिम प्रदान गरिनेछ ।
८६. नगरपालिकामा पर्यटनको प्रवर्द्धन तथा विकासका लागी पर्यटन गूरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गरिनेछ ।
८७. पर्यटन क्षेत्रमा रोजगारी सृजनाका लागी स्थानीय युवाहरुलाई टुरिष्ट गाईड तालिम, छोटो तथा मध्यम अवधिको होटल व्यवस्थापन सम्बन्धी तालिम, स्थानीय हस्तकलाको प्रवर्द्धनका लागी कोशेली घर सञ्चालन गरिनेछ ।
८८. नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वर्द्धन, प्रचार प्रसारका लागी स्थानीय पर्यटन व्यवसायीहरु संग सहकार्य गरिनेछ । सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गरिनेछ । नगरको पहिचान झल्कने गरी मायाको चिनो, उपहार उत्पादन गर्न स्थानीय उद्यमीसंस्थालाई प्रोत्साहित गरिनेछ ।
८९. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत श्रममा आधारित युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना र विपन्न वर्गका व्यक्तिहरुका लागि कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गरी रोजगारी प्रदान गरिनेछ । सूचना प्रविधिमा आधारित रोजगार बैंक स्थापना गरिनेछ ।
९०. नगर क्षेत्रमा कृषि प्रवर्द्धनका लागी किसानहरुलाई उन्नत जातको बाली लगाउन प्रोत्साहन गरिनेछ ।
९१. आयात प्रतिस्थापनका लागी आलु,प्याज, लसुन तथा फलफुल उत्पादन गर्ने किसानहरुलाई पहिचान गरी तिनलाई आवश्यक तालिम प्राविधिक ज्ञान दिलाई व्यवसायिक उत्पादनमा जोड दिईनेछ ।
९२. भान्सा घर पहिलो औषधालयभन्ने नारालाई सार्थक पार्न प्रत्येक घरमा करेसावारी/कौशीखेती प्रवर्द्धनका लागि जोड दिईनेछ ।जसका लागि अनुदानमा विरुवा/बिउँ/मल वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
९३. किसानहरुलाई आवश्यक रासायनिक मल, किटनाशक, विषादी आदिको उपलब्धता र तिनको गुणस्तर, सहि प्रयोगका लागि कृषि सहकारी संस्था मार्फत विक्री वितरण तथा तालिम आदिको व्यवस्था मिलाईनेछ ।
९४. नगरक्षेत्रभित्र कृषि उपज उत्पादनमा प्रयोग भैरहेको रासायनिक बिषादीलाई न्यूनीकरण गर्न विभिन्न प्रचारात्मक कार्यक्रमहरु र विभिन्न प्राङ्गारिक खेती प्रवद्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
९५. किसानहरुको लागत सहभागिता हुने गरी अनुदानमा उन्नत जातको धान, गहुँ, मकै, तोरी, मसुरोको विउँ तथा फलफुलको विरुवा वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
९६. कृषि समुह, फर्म तथा कृषि सहकारी स्थापनाका लागी प्राथमिकता दिई त्यस्ता समूह, फर्म, सहकारी संगको सहकार्यमा किसान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
९७. पशुपन्छीमा लाग्ने रोग तथा प्रकोप रोकथामको लागी निशुल्क खोप कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
९८. सामुहिक व्यवसायिक कृषि तथा पशुपालन गर्ने संस्था वा सहकारी वा समूहहरुलाई विभिन्न प्रकारका समपुरक अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
९९. नगरको हाटबजारलाई आधुनिक र व्यवस्थित कृषि बजारको रुपमा विकासका लागि पूर्वाधार निर्माण गर्ने काम भइरहेकोछ । उक्त स्थानमा चिस्यान सहितको कृषि उपज संकलन तथा विक्रि केन्द्रलाई व्यवस्थित गरिनेछ ।
१००. कृषि समुह, कृषि सहकारीहरुलाईपशुको नश्ल सुधारको लागी उन्नत जातका बोका, बंगुर, माछापालनका लागी भुरा तथा दाना आदि अनुदानमा वितरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१०१. कृतिम गर्भाधानलाई प्रवर्द्धन गर्न किसानको लागत न्यून हुनेगरी घरदैलोमा कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक पशुपालनमा लागेका किसानलाई गोठ तथा भकारो सुधार कार्यक्रम मार्फत अनुदान उपलब्ध गराईनेछ साथै चाराकटर तथा अन्य उपकरण खरिद गरी अनुदानमा उपलब्ध गराईनेछ ।

वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ
१०२. वातावरण मैत्री स्थानीय शासनको अवधारणा अनुरुप विकासका कार्यहरु अगाडि बढाइनेछ ।
१०३. सफा र स्वच्छ नगर निर्माणका लागी टोल विकास संस्था आमा समूह तथा सबै नगरबासीहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ । फोहरको दिगो व्यवस्थापनका लागि विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरु संग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । घरघरबाट निस्कने फोहरको स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गरिनेछ । फोहर व्यवस्थापनको क्षेत्रमा भएगरेका अनुभवको आदानप्रदानका लागी सञ्चालन गरिनेछ ।
१०४. “कोभिड–१९”लगायतका सवै किसिमका विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा विपदको अवस्था हेरी आवश्यक रकम राखिनेछ ।
१०५. वातावरण संरक्षण, विपद् व्यवस्थापनको लागि व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
१०६. विपद व्यवस्थापनको लागि स्वीकृत मापदण्ड बमोजिम विपद्मा परेकालाई तत्काल उद्धार राहत र सहयोगको कार्यक्रम संचालन गरिनेछ ।
१०७. एक वडा एक उद्यान÷पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर –न्चभभल अष्तथ) को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रैमहिना फुलफुल्ने शहरको रुपमा विकास गरिनेछ।
१०८. नगरबासीलाई नगरको वातावरण स्वच्छ एवं हरियाली राख्नका लागि वृक्षारोपण कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने नीति अवलम्बन गरिनेछ।
१०९. वातावरणीय सन्तुलनलाई दिगो बनाउन नगर क्षेत्र भित्र प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११०. वातावरणीयसंरक्षण,पार्क निर्माण,जैविक विविधता संरक्षण लगायतका कार्यक्रमलाइ निरन्तरता दिइने छ।एक घर दुइ बिरुवा कार्यक्रम नीतिलाईकडाइका साथ लागु गरिनेछ ।
१११. ध्वनि प्रदुषण वायु प्रदुषण जल प्रदुषण माटो प्रदुषण आदिको नियन्त्रण तथा न्यूनिकरणका लागि आवश्यक प्रयास गरिनेछ ।
११२. स्वर्गद्वारी घाट लगायतका बिभिन्न घाटहरुको व्यवस्थापन र हरियाली गर्ने नीति अवलम्बन गरिने छ ।
११३. भूकम्प लगायतका विपद ब्यबस्थापन गर्नको लागि नगर क्षेत्रभित्र रहेका सार्वजनिक खुल्ला जग्गाको पहिचान गरी सोको संरक्षण र विकास गरि तयारि अवस्थामा राख्ने नीति अवलम्बन गरिने छ ।
११४. नगरपालिकाको फोहरमैला ब्यबस्थापन गर्नको लागि ओमसतिया गाउँपालिका वडा नम्बर ५ पटखौलीमा रहेको जग्गामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको लागि आवश्यक कार्यगर्न पहल भइरहेकोछ । हालको फोहर ब्यबस्थापन स्थललाई दुर्गन्धरहित हुने गरि ब्यबस्थापन गरेर हरियाली प्रबर्धन गर्ने कार्यलाई अगाडि बढाइने छ ।
११५. घर निर्माण गर्दा सोकपिट निर्माण गर्नु पर्नेपानी रिचार्ज गर्ने बोरिंगवाट निस्केको पानिलाई दुरुपयोग गर्ने कार्यलाई दुरुत्साहित गरिनेछ । सोक्ता निर्माण कार्यलाई कडाइका साथ लागु गरिनेछ ।
११६. भूकम्प प्रतिरोधी घर निर्माणको लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ्र निर्माणसंग सम्बन्धितलाई तालिम दिने कार्यलाई निरन्तरता दिइनेछ । जोखिम संवेदनशील भूउपयोग योजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
११७. दमकल संचालन खर्चमा मितव्ययिता कायम गरी थप प्रभावकारी सेवा प्रवाह गर्नकोलागि छिमेकी पालिकाहरुसंगको सहकार्यलाई निरन्तरता दिईने छ ।
११८. आगलागीवाट हुने क्षति न्यूनीकरण गर्न वारुणयन्त्र र सोसंग सम्बन्धित कर्मचारीलाइ चुस्त दुरुस्त राखिने छ ।
११९. कोभिड–१९ सुचना केन्द्र स्थापना गरिने छ र आपतकालीन केन्द्र स्थापना गरिनेछ ।
१२०. विभिन्न संघ संस्थाको सहयोगमा छाडा पशु चौपायाहरुको व्यवस्थापन गरिनेछ ।

पूर्वाधार विकास तर्फ
१२१. डण्डा कोरिडोर, कृषि हाटबजारको बहुउद्देश्यीय भवन, पर्यटकीय गेट, सिद्धार्थनगर खेलमैदान (दरखसवा) लाई नगरका गौरवका योजनाको रुपमा संचालन भैरहेका छन् । उक्त योजनाहरुको पूर्बाधार निर्माणका लागि सम्बन्धित निकायहरुसँगको सहकार्यमा बजेटको सुनिश्चितता गरिनेछ ।
१२२. हाल निमार्णाधिन अवस्थमा रहेका तर कोभिड तथा अन्य कारणले सम्पन्न हुन नसकेका योजनाहरु र बहुवर्षीय योजनाहरुलाई प्राथमिकताक्रममा सम्पन्न गरिनेछ ।
१२३. एशियाली विकास बैंक र अन्य दातृ निकायहरुको सहयोगमा नगरपालिकासँग सीमाना जोडिएका छिमेकी पालिकाहरुसँगको समेत सहकार्यमा नगरको सर्वोत्तम हित हुने गरी पूर्वाधार विकासका कार्यक्रम संचालनका लागि आवश्यक पहल गरिनेछ ।
१२४. लागत सहभागिताका कार्यक्रम बिपन्न वर्गको सुरक्षित आवास, मेयर आवास जस्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
१२५. ठूला पूर्वाधारहरुको विस्तृत आयोजना प्रतिवेदनका आधारमा लगानी गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१२६. सडक कालोपत्रे गर्दा सडकका प्रारम्भिक संरचनाहरु तयार गरेर मात्र कालोपत्रे गर्ने नीति लाई निरन्तरता दिइनेछ ।
१२७. सडक, नाली, खानेपानी, सिंचाइ, सामुदायिक भवनहरु जस्ता पूर्वाधारहरु सबै वडामा आवश्यकता र औचित्यताका आधारमा निर्माण गरिनेछ ।
१२८. सडक, सडक पेटीमा रखिएका सामान, बाधिएका गाई वस्तु तथा अव्यवस्थीत रुपमा गरिएका सवारी पार्किङ्गलाई व्यवस्थीत गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
१२९. सडकहरुमा बिभिन्न निकायहरुसँगको सहकार्यमा विद्युत पोल व्यवस्थापन र सडकहरुमा सडक वत्ती जडान गरिनेछ । साथै मुख्य चोकमा टाफिक लाइटको व्यवस्था गरिनेछ । सार्वजनिक सम्पत्ति संरक्षण गर्न विशेष जोड दिइनेछ । टोल विकास संस्थासमेतको सहकार्यमा अनधिकृत रुपमा सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने कार्यलाई रोकिनेछ ।
१३०. बिकास निर्माण कार्यमा साना टुक्रे योजनाहरुलाई निरुत्साहीत गर्दै ठूला र देखिने खालका योजना संचालन गर्ने नीतिलाई अवलम्बन गरिनेछ ।
१३१. घर नक्सा पास गर्दा भवन आचार संहिता २०७२ लाई कडाईका साथ पालना गरिनेछ । नक्साको डिजिटलाइजेशन प्रणाली शुरु गरिनेछ ।
१३२. खुला बधशालालाइ निरुत्साहित गर्दै व्यवस्थित बधशाला निर्माण गर्नका लागि अवश्यक सहयोग गरिनेछ ।

नगर सभा सदस्यज्यूहरु
मुलुक संघीय सरंरचनामा गएपछि हामी निर्वाचित भएको ४ बर्ष पुरा भएको छ । हामीले नगरपालिकामा कार्य प्रारम्भ गर्दा संघीय स्वरुप अनुरुपका कुनै ऐन, नियम कानूनहरु, कार्यसम्पादनका आधारहरु निर्माण भएका थिएनन् । यस अवधिमा हामीले आवश्यक कानूनहरु निर्माण, कार्यगत संयन्त्रहरु, कार्यसम्पादनका आधारहरु स्थापना गरेका छौं । यसैका आधारमा आगामी दिनहरुमा नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका कार्यहरु संचालन गर्न सहज हुनेछ । यस कार्यका लागि निरन्तर राय सल्लाह र सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गर्दै उच्च मुल्यांकन गर्दछु । यसै क्रममा आर्थिक बर्ष २०७८।७९ को बार्षिक नीति तथा कार्यक्रम तयारीको क्रममा सुझाव तथा सल्लाह प्रदान गर्नुहुने यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने संघ तथा प्रदेशका माननीय सभासद्ज्यूहरु, सबै राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, नगर सभाका सदस्य ज्यूहरु, बिभिन्न सरकारी एवं गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधीज्यूहरु, नागरिक समाजका अगुवा, पत्रकार मित्रहरु, नगरपालिकाका सबै कर्मचारीहरु लगायत सम्पूर्ण नगरवासीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद

हरि प्रसाद अधिकारी

नगर प्रमुख

प्रतिक्रिया दिनुहोस्