लायन्स देउरालीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग,मानव सेवा आश्रममा भोजनदान


appharu

१७ असार २०७८, बिहीबार १३:५४ मा प्रकाशित

पालिका पत्र, बुटवल ।
अर्घाखांची छत्रदेवका मिर्गौला रोगबाट पीडित एक युवाको उपचारका लागि लायन्स क्लब अफ बुटवल देउरालीले ५० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । छत्रदेव गाउपालिका–६ का १८ वर्षिय भोजराज पौडेललाई क्लबले बिहीबार बुटवलमा एक कार्यक्रमबीच ५० हजार रुपैयांको चेक हस्तान्तरण गरेको हो । पौडेलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डायलासिस हुंदै आएको छ । क्लबले दिएको ५० हजार रुपैयांले आफ्नो उपचारमा सहयोग पुगेको भन्दै पौडेलले क्लबलाई धन्यवाद दिएका छन् ।
यस्तै क्लबले बिहीबार नै मानव सेवा आश्रम बुटवलमा आश्रित एक सय ५० जनालाई एक छाक खाना खुवाएको छ । लायन्स इन्टरनेसनलको हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत खाना खुवाइएको क्लबले जनाएको छ । सोही कार्यक्रममा क्लबले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालको द्वितिय भाइस गभर्नरमा हालै मात्र निर्वाचित नवराज न्यौपानेलाई सम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै भाइस गभर्नर न्यौपानेले लायन्स क्लबमा आवद्ध सबैले निस्वार्थ भावले सामाजिक सेवाका क्षेत्रमा सक्दो योगदान गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो आम्दानीको निश्चित अंश समाज सेवामा खर्च गर्ने गरेको बताए । सो कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा,डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ अर्जुनमान सैंजू, एरिया ४ चिफ जीवन गौतम,जोन चेयर पर्सन भोजराज पाण्डे र टिकाराम बन्जाडे, गाइडलाइनर गणेशप्रसाद भट्टराईले स्थापनाको छोटो अवधिमै लायन्स क्लब देउरालीले सामाजिक क्षेत्रमा धेरै काम गरेको भन्दै सराहना गरेका थिए । क्लबका वर्ष २०२१।२२ का अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफ्नो कार्यकालमा क्लबको छुट्टै अक्षयकोष स्थापना गरी ३० लाख रुपैयांको कोष बनाउने घोषणा गरे । उनले आफ्नी आमा रेवतीकुमारी पौडेलको नाममा उक्त अक्षयकोषमा एक लाख एक हजार जम्मा गर्ने घोषणा गरे । यस्तै आफ्नो कार्यकालमा महिला र पुरुषको दुई वटा लायन्स क्लब स्पोन्सर गर्ने,आचार संहिता निर्माण गरेर क्लबलाई अनुशाशित र व्यवस्थित बनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, देउसी भैलो कार्यक्रम गरेर रकम जम्मा गर्ने, क्लबलाई सरकारी निकायमा दर्ता गरी संघ,प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाए । रामप्रसाद गैरे र अर्जुन पाण्डेको संयोजनमा भएको कार्यक्रम क्लबका सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन, तृतीय उपाध्यक्ष विष्णुप्रसाद अधिकारीको स्वागत र द्वितीय उपाध्यक्ष दीपक पन्थीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्