शितगंगाको वडा नं. ११ ले बाड्यो मिलिटेलर, किसान खुसी


appharu

१९ असार २०७८, शनिबार ०६:२९ मा प्रकाशित

बिष्णु कुमार आले, अर्घाखाँची ।

किसानले धान रोपाई गरिरहेका बेला ५० प्रतिशत अनुदानमा खेत जोत्नका लागि मिलिटेलर पाएपछि अर्घाखाँचीको शितगंगा ११ का किसानहरू निकै खुसी भएका छन् । खेत रोपाईको बेला खेतला नपाएर हैरानी खेप्दै आएका यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा वडा कार्यालयले मिलिटेलर वितरण गरेपछि उनीहरू खुसी भएका हुन् ।

किसानको खुसी

धान रोप्ने समयमा वडा कार्यालयले किसानको मर्म बुझेर मिनिटेलर उपलब्ध गराउँदा खुसी लागेको जन जागरण कृषक समूहका सदस्य लुङग्री आँपखोलाका किसान नुम बहादुर पल्लीले बताए । “जब खेत रोपाईको बेला आउँछ तब मन भरि चिन्ता पलाउँछ, जोत्ने गोरु गाउँमा कसैले पाल्दैनन्”, उनले दुखेसो पोखे ।

गाउँमा भएका सबै युवा जनशक्ति परदेशिएका छन् । खेतला नपाएर हैरानी खेप्दै आएका बेला वडाले मिलिटेलर दिएपछि यो बर्ष नसकेर छोडेको बाँझो खेतमा पनि धानबाली लगाउने किसान पल्लीले बताए । उनी मात्र होइनन् मिलिटेलर पाएपछि धौलागिरी कृषक समूह शितगंगा ११ फोर्सलका किसान गुन्ज बहादुर पल्ली पनि उत्तिकै खुसी छन् ।

उनले भने, ‘खेत धेरै छ तर काम गर्ने मान्छे पाइदैनन् । पहिला पहिला गोरूले जोत्नु पर्दा महिनौं दिन लगाएर धान रोप्नु पथ्र्यो तर अहिले पाँच हल गोरूले दिन भरी गर्ने काम मिलिटेलरले ३ घण्टामै सक्दो रहेछ ।’

अहिले त धान रोप्ने खेतला र केही हिलो सम्याउने बाउँसे खोजे काम सकिने पल्लीको भनाई छ । ब्यक्तिले बजारमा किन्दा मिलिटेलरलाई ८० देखि ९५ हजारसम्म मान्छे हेरेर भाउँ गर्दा रहेछन् । तर वडाले खरिद गरेर ५० प्रतिशत अनुदानमा मिनिटेलर उपलब्ध गराउँदा सबै किसान खुसी भएको रानीकुवा कृषि सहकारी संस्थामा आवद्ध शितगंगा ११ टिक्करीका किसान धन बहादुर कुवरले बताए ।

उनले गत बर्ष नगरपालिकाले दिएको सानो हाते ट्याक्टर भन्दा ५ गुना राम्रो र बलियो भएको बताए । मिलिटेलरले हिलोमा जोत्न सहज हुने र मेलो पनि छिटो छिटो सकिने हुँदा यो धेरै प्रभावकारी भएको कुँवरले बताए । मिलिटेलरले कम समयमा धेरै काम गर्न सकिने भएकाले खेत रोपाईको समयमा मिलिटेलर पाउँदा सबै खुसी छौं, उनले भने ।

किसानको मर्म बुझेरै मिनिटेलर दिएकोः वडा अध्यक्ष

कृषि सामग्री नहुँदा वडाका विभिन्न ठाउँमा सयौं खेतियोग्य जमिन बाँझै रहने र ह्रास हुँदै आएको स्थानीय उत्पादनलाई बृद्धी गरि यहाँका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन पनि वडाले किसानलाई मिनिटेलर दिएको वडा अध्यक्ष कपिल आलेले बताए । गाउँमा किसानले गोरु पाल्न छोडेपछि जोत्नका लागि गोरु छैनन् ।

एकापट्टी जनशक्तिको कमी, अर्को जोत्ने गोरु नहुँदा सयौं खेतीयोग्य जमिन बाँझो राखेर युवा जनशक्ति जति खाडि मुलुक वा भारतमा रोजगारीका लागि जानु पर्ने स्थितिको अन्त्य गर्न पनि किसानलाई कृषि सामग्री दिएको अध्यक्ष आलेको भनाई छ । खेतबारी जोत्न मिनिटेलर दिएपछि उत्पादन बढ्ने र खेतीयोग्य जमिन पनि बाँझो नरहने, किसानले उत्पादन गरेको अन्नबालीले बर्ष भरिलाई खान पुगेपछि अरू समयमा किसानको काम गरि आर्जन गरेको पैसा पनि बचत हुने विश्वास अध्यक्ष आलेको छ ।

गत आर्थिक बर्षमा वडा कार्यालयबाट किसानका लागि पाँच लाख रूपैयाँ बिनियोजन गरिएको थियो । जसमध्ये गतबर्ष सलहले किसानको गहुँ र मकैबाली नष्ट गरेपछि अन्नबालीको बीउ समेत गुमाएका किसानलाई बीउ बिजन उपलब्ध गराईएको र बाँकी रहेको २ लाख ४० हजार रकमले किसानलाई ६ ओटा मिनिटेलर खरिद गरि ५० प्रतिशत अनुदानमा किसानलाई दिईएको अध्यक्ष आलेले बताए ।

शुक्रबार एक कार्यक्रमका बीच शितगंगा ११ का ६ ओटा कृषक समूहलाई मिलिटेलर वितरण गरिएको हो । शितगंगा ११ ढुङ्गेसेराको गुरू गंगा कृषक समूह, टिक्करीको रानीकुवा कृषि सहकारी संस्था, लुङग्री आँपखोलाको जन जागरण कृषक समूह, खयरभट्टीको लालीगुँरास कृषक समूह, फोर्सलको धौलागिरी कृषक समूह र मौवाबारी कृषक समूहलाई एक/एक ओटा मिलिटेलर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्