यी प्रमुख प्रशासकीय अधिकृत, जसले ५ मिनेट भन्दा बढी रोक्दैनन् सेवाग्राहीको फाइल

एकै दिन ५ हजार बढी फाइलको निर्णय गर्छन्


appharu

२२ असार २०७८, मंगलवार ०९:४६ मा प्रकाशित

पालिका पत्र/सैनामैना ।
सरकारी कार्यालयमा सेवा प्रवाहमा हुने ढिलासुस्ती, आलटाल, अपारदर्शिता र कैयौं ठाउंमा त घुसको मोलमोलाईले सेवाग्राहीहरु वाक्क दिक्क मात्र होइन रुष्ट भएर विवाद–झडप हुने नेपालको सन्दर्भमा नौलो होइन । उसै दिन हुने कामलाई पनि विभिन्न बहाना, कारण बनाएर भोलि पर्सी आउनू भनेर सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति पूर्णरुपमा हटेको छैन । अधिकांश सरकारी कर्मचारीहरुमा आफू सेवक होइन शासक हुं भन्ने जानिंदो/नजानिंदो अहमता दीर्घ रोग जस्तै नभएको होइन । यही कारण व्यवस्था बदलिए पनि सरकारी कर्मचारीलाई हेर्ने आम सर्वसाधारणको दृष्टिकोण खासै परिवर्तन हुन नसकेको भन्दै सरकारमा पुगेका दलका शीर्ष नेताहरुले नै बेला बेलामा कर्मचारीको कार्यशैलीमाथि आक्रोश पोख्छन् र प्रहार गर्छन् ।

तर रुपन्देहीको सैनामैना नगरपालिकामा भने सेवाग्राहीहरुले भने ढिलासुस्ती,आलटाल र बहानाबाजीको सास्ती झेल्नुपर्दैन । २०७६ साल मंसिर १६ गतेदेखि सैनामैना नगरपालिकामा कर्मचारीको नेतृत्व सम्हाल्न थालेका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सेवाग्राहीलाई कुनै बहानामा ढिलासुस्ती नगरी छिटो छरितो सेवा दिने कामको नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वमा नगरपालिकाका सबै कर्मचारीले गर्ने कार्यसम्पादनले सैनामैनामा काम लिएर जाने जो कोही सेवाग्राही र नगरवासी पूर्ण सन्तुष्ट छन् । पन्थीले कुनै पनि फाइल ५ मिनेट भन्दा बढी रोक्दैनन् । ‘मैले आफ्नो टेबलमा आएका फाइलहरु ५ मिनेट भन्दा बढी रोक्दिन, यो मेरो प्रण हो’ पन्थी भन्छन्–‘कसैलाई ढिला न्याय दिनु अन्याय गरेर सरह हो भन्ने मेरो मान्यता छ, त्यसैले जुनसुकै फाइलका विषयमा ५ मिनेटमै निर्णय गरिदिन्छु ।’

असारको अन्तिम हप्ताको चापको समयमा उनी राति ८ बजेसम्म कार्यालयमै रहेर काम गर्छन् । यही आइतबार साढे ५ हजार र सोमबार ४ हजार फाइल हेरेको उनले सुनाए । ‘आज भोलि एकै दिन ४ हजार देखि साढे ५ हजार सम्म फाइलमा सिग्नेचर गरेको छु, दिनमा दुई तीन वटा पाइलट पेनको मसी नै सकिन्छ’–पन्थीले अनुभव सुनाउंदै भने–‘विशेषगरी असार मसान्तको पुर्व सन्ध्याको समयमा सबैलाई हतार र चटारो हुन्छ, यस्तो बेला ढिलासुस्ती र बहानाबाजी गरेर कसैलाई दुःख दिनु हुंदैन ।’

आफ्नो कार्यशैली सुशासन र पारदर्शितालाई प्रवद्र्धन गर्ने र सेवाग्राहीलाई सन्तुष्ट बनाई सरकार र कर्मचारीप्रतिको विश्वास बढाउने रहेको प्रमुख प्रशासकीय अधिकृत पन्थी बताउंछन् । ‘जनताको करबाट तलब खाने हामी कर्मचारी सांचो अर्थमा जनता र सेवाग्राहीको सेवक र सहयोगी बन्नुपर्छ’–पन्थीको दृढ मान्यता छ–‘हामीले सेवाग्राहीलाई सम्मान गर्नुपर्छ, हामीले आफूलाई शासक ठान्न हुंदैन, कसैले पनि सेवाग्राहीलाई नजरअन्दाज र भेदभाव गर्नुनुहुन्न ।’

गेटमै हेल्प डेस्क
सेवाग्राहीको सजिलोका लागि कार्यालय गेटमै हेल्प डेस्क राखिएको र त्यहां नगर प्रहरीसहित अर्का एकजना कर्मचारीले के कस्तो कामका लागि आएको भनेर सेवाग्राहीलाई सोधपुछ गरी सम्बन्धित शाखामा जान कोठा नम्बर सहित जानकारी दिने व्यवस्था मिलाएको पन्थीले बताए । यस्तै सेवाग्राही प्रतीक्षा कक्षमा टेलिभिजनको स्क्रिनबाट पनि नगरपालिकाको सेवा प्रवाहबारे जानकारी दिने व्यवस्था गरिएको उनले बताए ।

सीसीटीभीबाट कर्मचारीको निगरानी
प्रमुख प्रशासकीय अधिकृतले आफू मातहतका कर्मचारीले काम गरे नगरेको निगरानी आफ्नै कार्यकक्षमा रहेको सीसीटीभी स्क्रिनबाट निगरानी गरिरहन्छन् । यसले कर्मचारीले सेवाग्राहीको काम के कसरी गरिदिएका छन् वा ढिलासुस्ती गरेका छन् भन्ने सहजै थाहा हुने पन्थी बताउंछन् ।

नगर प्रमुख, उप-प्रमुख,शाखा प्रमुखहरुसंग सिग्नेचर गर्नुपर्ने वाहेकका काम कार्यालयको इन्टरकम टेलिफोनबाटै गरिने पन्थीले बताए । ‘यसो गर्दा आफूहरु पनि अरुको कोठा कोठा धाउनु परेन,समयको वचत पनि हुने भयो’–पन्थीले भने–‘यसले गर्दा एउटा शाखाका कर्मचारीहरु अनावश्यक रुपमा अर्को शाखामा गएर समय बिताउने र सेवाग्राही कुरेर बसिरहनुपर्ने वाध्यताको पनि अन्त्य हुन्छ ।’

नगरपालिकासंग सम्बन्धित कामले काठमाडौंबाट सैनामैना आइपुगेका इन्जिनियर विनोद खड्काले भने–मैले धेरै नगरपालिकासंग काम गरें तर सैनामैना जस्तो अन्त पाइन ।’ सैनामैनामा प्रमुख प्रशासकीय अधिकृतले आफू र आफू मातहतका कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार बनाएको आफूले पाएको र कार्यसम्पादन वैज्ञानिक र व्यवस्थित देखेको अनुभव गरेको खड्काले सुनाए ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीले आफ्नो सेवाको बांकी अवधि सरकारी सेवालाई अझै छिटोछरितो,पारदर्शी बनाउंदै सुशासन प्रवद्र्धनमा योगदान गर्ने लक्ष्य रहेको बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की प्रमुख प्रशासकीय अधिकृत पन्थीको सेवाग्राहीमैत्री कार्यसम्पादन र शैलीले जनप्रतिनिधिप्रति जन विश्वास बढाएको भन्दै सराहना गर्छन् । ‘उहांको कमममा खोट लगाउने ठाउं छैन,बरु उहांको सिर्जनशीलता र सेवाग्राहीलाई छिटो सेवा दिएर सन्तुष्ट बनाउनुपर्छ भन्ने प्रणलाई अरु कर्मचारीले अनुशरण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्