हल्दिबारी गाउँपालिकामा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान


appharu

३ श्रावण २०७८, आईतवार ०९:४३ मा प्रकाशित

काठमाडौं ।
हल्दिवारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान शुरु गरेको छ ।

विशेषगरी सडकको स्तरोन्नति, पहुँच मार्गमा जोड्ने सडक कालोपत्र, स–साना खोला तथा होलीमा कज्वे, पुल निर्माणजस्ता कार्यलाई निरनतरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए।

आव २०७८र७९ शुरु भएसँगै वडा कार्यालयबाट छनोट भएका योजना धमाधम निर्माण शुरु गरिएको उहाँको भनाइ थियो । उहाँले सबै योजना समयमै सम्पन्न गर्ने गरी थालिएको बताए ।

यता कृषि क्षेत्रको विकासका लागि समेत हल्दिबारीले ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने मूल नारालाई अघि सारेको छ । ‘हल्दिबारीको बाचा, झापाभरि माछा’ कार्यक्रममार्फत कृषकलाई माछापालन गर्न उत्प्रेरित गरी अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

‘एक घर, एक मौरी घार कार्यक्रम’अन्तर्गत कृषकलाई उनीहरुको समेत लागत साझेदारी रहने गरी मौरीका घार वितरण गरिएको बताइएको छ । पचास प्रतिशत लागत साझेदारीमा कृषकलाई सबैखाले मौसममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले मोटरसहितको बोरिङ निर्माण गर्न १७५ कृषकलाई प्रतिकिसान रु ३२ हजार रकम अनुदान वितरण गर्नका लागि अनुगमन गर्ने काम अन्तिम चरणमा पुगेको छ । उन्नत जातका कृषिसँग सम्बन्धित बीउबिजन आवश्यकतानुसार वितरण गर्ने गरिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

हाल गाउँपालिकाभित्र ११ वटा बहुवर्षीय योजना निर्माण धमाधम भइरहेको बताइएको छ । गाउँपालिकामा सञ्चालित बहुवर्षीय योजनामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, काठेपुल मुक्त गाउँपालिकाअन्तर्गत काठेपुल विस्थापन गरी ३९ वटा स्ल्याब कल्भर्ट निर्माण योजना (चारवटा प्याकेज बनाई ठेक्का बन्दोबस्त गरिएको थियो), सात किलोमिटर लम्बाइ भएको रमाइलो चोक बाघडाँडा लक्ष्मी मावि पाराखोपी हुँदै गरामनी जोड्ने कालोपत्र सडक आयोजना, चार किलोमिटर लम्बाइ भएको पिपल चोक हल्दिबारी भेलागाडा चोक हुँदै गरामनी जोड्ने कालोपत्र सडक योजना रहेका छन् ।

त्यस्तै गाउँपालिका क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सङ्ख्यात्मक र गुणात्मकरूपमा वृद्धि गरी गाउँपालिकाको आन्तरिक आय बढाई सक्षम गाउँपालिका निर्माण गर्ने हेतुले गाउँसभाबाट लिइएको ‘फेरि पनि घुम्न जाऊँ, हल्दिबारी गाउँ’ भन्ने नारालाई आत्मसात गर्न भेलागुढी शहीद स्मृति लोकतान्त्रिक उद्यान निर्माण आयोजनासमेत कार्यान्वयनमा रहेको बहुवर्षीय आयोजनाअन्तर्गत नै रहेको बताइएको छ ।

मङ्गलबारे बडाबारी हुँदै पाथीभरा पर्यटकीय क्षेत्रबाट ओलीचोकतर्फ र बोडोसा चोक हुँदै कञ्चनश्री चन्द्रमार्ग जोड्ने सडक कालोपत्र योजना पाँच दशमलव पाँच किलोमिटर, मेजर्नी चोक उत्तर कन्तारगुटुबाट दलित बस्ती हुँदै रामहरि चोक जाने कालोपत्र सडक योजना चार किलोमिटर, कुलुङ्गे चोकबाट ढडुवा हुँदै जम्बा चोक पश्चिम हुलाकी राजमार्ग जोड्ने सडक चार किलोमिटर, जनजागृति माविबाट किरात चोक हुँदै लाटी होली जोड्ने सात किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए ।

अल्पसङ्ख्यक जाति मेचे र राजवंशी समुदायलाई विशेष प्राथमिकतामा राखी गाउँपालिकावासीलाई स्वच्छ खानेपानीको आपूर्ति व्यवस्था मिलाउन विशेष अनुदानको रूपमा प्राप्त रु दुई करोड बजेटबाट यस वर्ष सात किलोमिटर पाइपलाइन विस्तार गर्ने काम सम्पन्न भएको बताइएको छ । मेचे समुदायमा खानेपानी सुविधा उपलब्ध गराउन आवश्यक धारा सामग्री निःशुल्क वितरणका लागि खरिद सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेकाले सो काम शुरु भएको अध्यक्ष लिङ्देनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्