जनकपुरधाम ।
धनुषाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा जनप्रतिनिधि विभाजित भए । लामो समयसम्म एकमत हुन सकेनन् ।
नगरप्रमुख रामज्ञान मण्डलले साबिकको बघचौडाबाट कार्यालय सारी हंसपुर टोलमा लैजान खोजेका थिए । उपप्रमुख रेणु झा भने बघचौडा (आफ्नै गाउँ)मा कायम राख्न लागिपरेकी थिइन् ।
उपप्रमुखसहितले मेयर मण्डललाई कार्यालय नसार्न पटक–पटक अनुरोध गरे । तर, नगरप्रमुख मण्डलले कुनै वास्ता नगरी सार्ने अडान लिए ।
०७६ साउन २१ गते उपप्रमुख झालगायत मेयरको अडानविरुद्ध कार्यालयअगाडि शान्तिपूर्ण धर्नामा बसे । सोही धर्नामा हंसपुर नगरपालिका–२, बघचौडाका तपेश्वर मण्डलका छोरा राजकुमार मण्डल पनि सहभागी थिए ।
कार्यालयको समान ओसार्ने बेला दुवै पक्षबीच झडप भयो । मेयर पक्षले कार्यालयको सामान ओसार्न खोज्दा उपमेयर पक्षधरले बाटो अवरुद्ध गर्नेक्रममा झडप भएको थियो । दुवै पक्षबीच दोहोरो भिडन्त भयो । भिडन्तमा कार्यालयको बाटो भएर नुहाउन जाँदै गरेका तपेश्वरसहित दुवै पक्षका १९ जना घाइते भए ।
भदौ १८ गते ५५ वर्षीय तपेश्वरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भयो । घटनाले राजनीति रूप लियो । मृतक तपेश्वरका छोरा राजकुमारले मेयर मण्डलसहित तीनजनाविरुद्ध भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराए ।
उपमेयर समूहले मुद्दा दर्ता गराएको तीन दिनपछि भदौ २२ गते मेयर पक्षका तीनजनाले संयुक्त रूपमा उपप्रमुख झा, वडाध्यक्ष उदय साह र किशोरी यादवविरुद्ध मुद्दा दर्ता गराए । मुद्दा जिल्ला अदालत धनुषामा विचाराधीन छ ।
प्रदेशमै अड्कियो ‘फाइल’
मेयर मण्डलले पालिकाको कार्यालय सार्न प्रदेश सरकारका तत्कालीन आन्तिरक मामिला तथा कानुन मन्त्रालयमा सिफारिस गरेका थिए । तर, मन्त्रालयमै एक वर्षदेखि फाइल अड्काएर राखिएको छ । प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरी सम्बन्धित पालिका सार्न सिफारिस गरेपछि मात्रै कार्यालय सार्न पाउने प्रावधान रहेको छ ।
भरत सहनीले जिल्ला अदालत धनुषामा त्यति बेला नै कानुनविपरीत कार्यालय सारिएको भन्दै मुद्दा दर्ता गराएका थिए । अदालतले साबिककै ठाउँमा कार्यालय राख्न फैसला गरेपछि कार्यालय अहिले साबिककै ठाउँमा छ । तर, मेयर मण्डल त्यो कार्यालयमा उपस्थित नभई हंसपुरमा भाडामा कार्यालय राखेका छन् । कार्यालयकै बजेटबाट भाडा दिने गरिएको छ । उपप्रमुख झा भने साविककै कार्यालय सेवाग्राहीलाई सेवा दिने गरेकी छिन् ।
पक्राउ परेनन् आरोपी
घटनामा दुवै पक्षले धनुषा प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराए पनि कुनै पक्षका व्यक्ति पक्राउ परेनन् । दुवै पक्षका मानिस एक वर्षसम्म निस्फिक्री भएर बसे । उनीहरू कतिपय सार्वजनिक कार्यक्रमको मञ्चमा पनि देखिए । तर पनि पकाउ परेनन् ।
अदालतमा मुद्दाको बहस हुने सुइँको पाएपछि मेयर मण्डलले हत्याका एक आरोपी श्याम राउतलाई गत साता आत्मसमर्पण गर्न लगाए । राउत अहिले जिल्ला प्रहरीको हिरासतम छन् । दुवै पक्षका अरु आरोपीहरू अझै फरार सूचीमा छन् ।
वास्तविक साक्षीको बयान नलिएको आरोप
प्रहरीले मेयरसँग मिलेर फरक साक्षीको बयान लिएको आरोप लागेको छ । सरकारी वकिल कार्यालयका अधिवक्ता सिताराम अर्याल र धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटसँग ‘सेटिङ’ गरी वास्तविक साक्षीको बयान नलिएको साक्षी भरत सहनीले आरोप लगाएका छन् ।
उनका अनुसार मेयर मण्डलले आफूनिकट साक्षीलाई प्रहरी कार्यालयमा बयान दिन लगाई सरकारी वकिलसँग आर्थिक लेनदेन गरी आरोपीलाई धरौटीमा छुटाउने प्रयास गरिएको छ । मृतकका छोरा राजकुमारले दिएको उजुरीमा हंसपुर नगपालिका–२ का चन्द्र साह, परमेश्वर मण्डल, भरत सहनी, रजीन्द्र सहनी र श्याम सहनीको नाम उल्लेख छ । तर, प्रहरीले उनीहरुको बयान नलिई मेयर मण्डलनिकट सद्रे आलम र मनोज सिंहको बयान लिएको छ ।
मेयर–उपमेयर मिले
अदालतमा बहस सुरु भएपछि धनुषा प्रहरी र सरकारी वकिलको परामर्शमा मेयर मण्डल र उपमेयर झाले आन्तिरक रूपमा मिलापत्र गरिसकेको बताइएको छ । दुईजनामध्ये कोही दोषी साबित हुने र सजाय पाउने डरले मृतकका छोरालाई आर्थिक प्रलोभनमा पारी उनीहरू मिलेको आरोप लअगेको छ ।
मृतक तपेश्वरका छोरा राजकुमार पनि जाहेरीवाला हुन् । स्रोतका अनुसार राजकुमार र मेयर मण्डलबीच मिलापत्र गर्ने सम्झौता भएको छ ।
आरोपीलाई पक्राउ गर्छौँ : प्रहरी
धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले आरोपी लुकीछिपी बसेकोले पक्राउ नपरेको प्रतिक्रिया दिए । मुद्दाको अनुसन्धान भइरहेको भन्दै एकजनालाई गत साता पक्राउ गरेको उनले दाबी गरे ।
“आत्मसमर्पण गरेका होइनन्, लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेका छौँ,” उनले भने, “बाँकी व्यक्तिको पनि खोजतलास जारी छ । सबै पक्राउ पर्छन् ।”
फरक साक्षीको बयान लिएको विषयमा भने उनले अनविज्ञता देखाए । मुद्दा अनुसन्धानकै क्रममा रहेको भन्दै उनले थप प्रतिक्रिया दिन मानेनन् ।