प्रदेश २ : नाम मधेश र स्थायी राजधानी जनकपुरधाम


appharu

४ माघ २०७८, मंगलवार ०८:३६ मा प्रकाशित

काठमाडौं ।
प्रदेश २ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ ।

नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।

प्रदेश सभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । प्रदेश सभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको हो ।

दोस्रो पटकको प्रयासमा प्रदेश २ को स्थायी राजधानी कायम भएको हो । यसअघि २०७६ चैत ३ मा मतदान हुँदा राजधानीको टुङ्गो लाग्न सकेको थिएन । अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भइ उत्तरमा ढल्केबर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्