स्थानीय तहका अनूभवि हाकिम पन्थी, वाणगंगामा टिकेर केही गर्लान् ?


appharu

१३ माघ २०७८, बिहीबार १३:५१ मा प्रकाशित

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमु्ख प्रशासकीय अधिकृत बस्ने कक्षको एसी बिग्रेको थियो । अर्थात् एसीले तातो हावा फालेको थिएन । माघ १० गतेका दिन दिउसो १२ बजेको समयमा सो एसी जोड्ने प्राविधिक भुक्तानीको लागि भन्दै कार्यकारी बस्ने कक्षमा पुगे । त्यहाँ नगरमा भर्खरै सरुवा भई आउनु भएका कार्यकारी टेकराज पन्थी हुनुहुन्थ्यो । सोही क्रममा यस्तो कुराकानी भयो !
प्राविधिकः
सर म आउन सक्छु ?
पन्थीः आउनुहोस् । ल भन्नुहोस् तपाई किन आउनु भएको ?
प्राविधिकः सर, एसी जडानको भुक्तानी लिन ।
पन्थीः कुन एसीको ?
प्राविधकः उ‘ त्यो एसीको (एसी देखाउँदै)
पन्थीः ‘खै यो एसीले तातो हावा फाल्दैन त ? यो बिग्रेको छ । (भुक्तानीको कागजात हेर्दैं) प्राविधिकः बिग्रेको छैन । भुक्तानी दिइहाल्नुहोस् न
पन्थीः हावा नै दिँदैन त (रिमोर्टले बटम थिच्दै) । पहिला यो बिग्रेको एसी बनाउनुहोस् अनि बल्ल भुक्तानी दिउँला ।
प्राविधिकः हैन हैन सर, बनिहाल्छ तोक लगाइदिनुहोस् न ।
पन्थीः पहिला यो बनाइहाल्नुहोस् त्यसपछि एक सेकेण्ड पनि भुक्तानी रोकिन्न (अलिकति आक्रोशित मुद्रामा)

त्यसपछि प्राविधि फरक्क फर्केर गए । अनि केही समयपछि त्यहीँ आए र एसी बनाए । कोठामा तातो हावा आइहाल्यो । पन्थीले तुरुन्तै भुक्तानीको लागि तोक लगाइ दिए । प्राविधिक हाँस्दै फर्किए । कोठामा कार्यकारीलाई भेट्न बसेका करिब आधा दर्जन यस क्षेत्रका विशिष्ट व्यक्तिले एसी साँच्चिकै बिग्रेको पाए र कार्यकारीलाई धन्यबाद दिए । हाँस्दै बसे । एसी साँच्चिकै बिग्रेको थियो ।

त्यही दिन केही पत्रकार पनि उहाँको कार्यकक्षमा थिए । त्यहाँ पनि उहाँले पत्रकारिताबारे राम्रै कक्षा दिनुभयो । पत्रकारिता, पत्रकार, संचारकर्मी, अनलाइनबारे पढाउन गएका पत्रकारलाई प्रमुख प्रशासकीय अधिकृत पन्थीले उल्टै पढाउनु भयो । अर्थात् पन्थीले पित पत्रकारिता गर्ने, अनावश्यक लेख्ने, धम्क्याउने, थर्काउने, समाजलाई बिगार्ने पत्रकारको विगविगी जताततै रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको सुनाउनु भयो । त्यही क्रममा उहाँले एउटा पालिकामा आफू प्रशासकीय अधिकृत हुँदा अनुमतिविना फोटो खिच्ने टिभी जर्नलिस्टको क्यामेरा थुतेको पनि सुनाउनु भयो ।

रुपन्देहीको सैनामैना नगरपालिकामा २६ महिने कार्यकाल सफल बनाएर बाणगंगामा भर्खरै आउनु भएका कार्यकारी पन्थीका यी कुराले नगरको विकासमा केही आशा जागेको छ । अर्थात् उहाँ पाका, स्पष्ट, काम गर्ने, पारदर्शी, पढेलेखेको, कानुनको जानकार र खरो स्वभावका हुनुहुन्छ कि भन्ने बुझाउँछ ।

यत्ति मात्र होइन पन्थीले बाणगंगा आउने वित्तिकै यहाँका विकास आयोजनाको निर्माण र पारदर्शिताबारे धमाधम अनुगमन गरेको समेत सुनाउँदै अब सबै मिलेर केही गर्नु पर्ने सुनाउनु भयो । नगरमा सर्रर भ्रमण गर्दा धमाधम घर बनेका तर घर नक्साबाट भनेजति राजश्व असुली गर्न नगर असफल भएको आफूले पाएको बताउनु भयो । कुराकानीकै शिलशिलामा पन्थीले नक्सा पास नगरी बन्दै गरेको एउटा घरको मालिकलाई त पास विना घरको निर्माण काम अगाडी बढाए पुलिसको सहायतामा डोजरले भत्काइदिने समेत चेतावनी दिई फर्केको सुनाउनु भयो ।

उहाँको यो कार्यशैली प्रत्यक्ष देख्नु भएका नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई र पत्रकार दीपक अनुरागीले नगरमा भएका अनियमितता र ढिलासुस्तिमा ब्रेक लाग्ने आशा ब्यक्त गर्नुभयो । अहिलेसम्म बाणगंगामा प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने रोग लागेको छ । यहाँ तिनतिन महिनामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा कार्यालय ब्यवस्थापन, सेवा प्रवाह, योजना स्विकृति, फस्र्यौट, भुक्तानी आदिमा ठुलो समस्या छ । यसअघि सिडिओ र एलडिओ भई लामो प्रशासनिक अनुभव लिनु भएका पन्थीले अहिलेसम्म मुलुकका ४७ प्रशासनिक कार्यालयमा काम गरिसकेको मायादेवीसंग बताउनु भयो ।

आफू नेपाल सरकारको कानुनको पालक भएको हुँदा कानुनले बन्देज गरेका र नमिल्ने काममा कहिल्यै हात नसार्ने बताउनु भयो । सैनामैना नगरपालिकाको अपत्यारिलो विकासका २६ मसिहना जनताको सेवामै विताएको हुँदा त्यस्तै काम गर्ने जाँगर बाणगंगामा पनि रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘बाणगंगा मुलुककै चर्चित पालिका हो । यहाँ प्रशस्त श्रोत र साधन पनि छ । हरेक हिसाबले यहाँ धेरै गर्न सकिन्थ्यो तर भनेजति विकास हुन नपाएको मैले पनि अनुभुति गरेको छ । जति समय रहन्छु । हेरौँ राम्रो नतिजा दिने गरी काम गर्दछु । यसको लागि जनप्रतिनिधि र यहाँको सरोकारवालाको साथ चाहिन्छ ।’

आफू अहिले बाणगंगाको मुख्यसचिव रहेको हुँदा कर्मचारीबाट काममा हुने ढिलासुस्ती, अनियमितता मान्य नहुने उहाँले बताउनु भयो । पन्थी सैनामैना नगरपालिकामा ५ मिनेट पनि सेवाग्राहीको फाइल रोकेर नराख्ने गरी काम गर्ने प्रशासकको रुपमा मुलुकभरी चिनिनु भएका प्रशासक हुनुहुन्छ । उहाँले सेवाग्राहीलाई अनावश्यक रुपमा दुख दिने र कार्यालयमै दिनभरी भुलाउने खालको कर्मचारी संस्कारको विरोधी रहेको बताउनु भयो । नगर विकासमा स्पष्ट भिजन हुनुपर्ने भन्दै सकेसम्म टिकेर विकासको नयाँ अवधारणामा बाणगंगालाई लैजान आफूले मिहिनेत गर्ने पन्थीको भनाई छ ।

धेरै ठाउँमा काम नगरी कागजात मिलानको आधारमा भुक्तानी दिने समस्या भएको भन्दै योजनाको अनुगमन मुल्यांकन र मापदण्ड अनुसार भए नभएको हेरेर मात्र आफूले भुक्तानी दिने पनि मायादेवीसंग बताउनु भयो ।

उहाँले जनप्रतिनिधि विकास प्रेमी र पारदर्शी हुने हो भने नगरबासीलाई नतिजा दिनमा कुनै समस्या नहुने बताउनु भयो । सैनमैनाका नगर प्रमुख र आफ्नो राम्रो सम्बन्धले नै चक्रपथ बनेको, डम्पिङ साइट बनेको, खेल रंगशाला बनेको, शिक्षामा आमुल परिवर्तन भएको सुनाउनु भयो । बदमासी र चलखेल गर्न खोज्ने जनप्रतिनिधिलाई पनि आफ्नो क्षेत्राधिकारबाट अंकुस लगाउने उहाँको भनाई छ । नगरविकासमा आम नागरिक, उद्योग बाणिज्य संघ पत्रकार लगायतको सहयोग भएमा यहाँ धेरै गर्न सकिने सम्भावना रहेको बताउँदै सहयोग गर्न उहाँको सबैमा आग्रह छ ।

प्रमुख प्रशासकीय अधिकृतको चाँडो सरुवाले नगरको समग्र क्षेत्रमा धेरै असर गर्ने भन्दै कम्तिमा पनि नतिजा दिन २ बर्ष चाहिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘सकेसम्म सरुवा हुन नपरोस् । मेरो ब्यक्तिगत इन्ट्रेस्टले जान्नँ । हाकिम नटिक्ने यहाँको के समस्या रहेछ त्यो पनि बुझौँला ।’

उहाँले बदमासी, अनावश्यक भनसुन, मिलिमतो आफूसंग नचल्ने भन्दै त्यस्तो ध्येयले आफ्नो कार्यकक्षमा प्रवेश नगर्न पनि चेतावनी दिनुभएको छ । सुरुमा जसले पनि केही गर्ने जस्तो गरे पनि पछि उनीहरुको असली हैसियत पछि थाहा हुने जानकारहरु बताउँछन् । कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले पन्थीको बारेमा आफूले पनि राम्रै सुनेको भन्दै अहिल्यै उहाँको मुल्यांकन गर्न आफू नहतारिने बताउनु भयो ।

यसअघि यहाँ रहेका कार्यकारी बासुदेव खनाल करिब ४ महिनामै सरुवा भएका थिए भने यसअघिका अरु कार्यकारीहरु पनि लामो समय टिक्नै सकेनन् । बाणगंगामा हाकिम टिक्न नसक्नुको पछाडी बाणगंगा खोलाको ठेक्कापट्टा प्रमुख कारक रहेको बताइन्छ भने सहायक कारकका रुपमा यहाँका केही जनप्रतिनिधिहरुको मिलिभगत, केही पुराना कर्मचारीको दम्भी प्रवृत्ति पनि रहेको बुझिन्छ ।

यता नगर प्रमुख मंगल थारु र उप-प्रमुख चक्र अर्यालले भने हाकिम सरुवाको कारण जनप्रतिनिधि र कर्मचारी भएको स्विकार्दैनन् । ‘आजसम्म जति हाकिम टिक्न सकेनन् । यो उहाँहरुकै कारण हो । आफ्नै इन्ट्रेस्टले उहाँहरु सरुवा हुनुभएको छ, नगर प्रमुख मंगल प्रसाद थारुले भन्नुभयो ।’ कार्यकारी सरुवाको प्रश्नमा उप-प्रमुख चक्र अर्यालले भन्ने लाइन यही हो ‘आफूहरुसंग डटेर काम गर्न नसक्दा हाकिम सरुवा हुन्छन् ।’

नगरभित्रकै केही अनुभवी कर्मचारीले भने नगरमा जनप्रतिनिधि र कर्मचारीबीच सुरुदेखि नै केही न केही नमिलेको बताउँछन् । चाँडो चाँडो हाकिम सरुवाको रोगले सेवाग्राही पनि चरम मारमा छन् भने यहाँका विकासका काममा पनि ठुलो समस्या भएको छ । यो रोगले सरोकारवाला, संचारकर्मी पनि आश्चर्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्