रुपन्देहीमा सत्ता गठबन्धनमा कुरा मिलेन, ६ पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने


appharu

४ बैशाख २०७९, आईतवार ०९:३८ मा प्रकाशित

पालिकापत्र ।

बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ ।

१६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउंपालिकामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए ।

यी ६ पालिकामध्ये पाँचवटा पालिकामा अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो । हाल एक पालिका प्रमुख र उपप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टीले दक्षिणी भेगका ८ वटा पालिकामा दाबी गरेपछि दलहरूबीच सहमति जुट्न नसक्दा मित्रवत प्रतिस्पर्धा गरेर जाने विकल्प रोज्नुपरेको सभापति खांणले बताए ।

‘६ वटा पालिकामा एमाले चौथो स्थानमा रहेकाले अलग अलग लड्दा पनि गठबन्धनभित्रकै दलले जित्ने र अन्य १० वटा पालिकामा भने गठबन्धन हुने खांणले बताए ।

बुटवल उपमहानगरसहित अन्य ४ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पनि दलहरूबीच कुन दलले कुन पालिकाको नेतृत्व र कति वडा पाउने भन्ने सहमति जुट्न सकेको छैन ।

‘सबैका आआफ्ना दाबी भए पनि आइतबार साँझ वा सोमबारसम्म कस्ले कुन पालिका लिने भन्ने सहमति जुटाएर अघि बढ्ने सभापति खाँणले भने ।

प्रतिक्रिया दिनुहोस्