‘जसले मेयरमा पुनः दोहोरिने इच्छा राखेनन्’


appharu

५ बैशाख २०७९, सोमबार ०८:२७ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्ने आकांक्षी बढिरहेका छन् । पालिकाको प्रमुख, उप-प्रमुख, वडाध्यक्ष र सदस्यहरुको पदमा उम्मेद्वार बन्न खोज्ने बढीरहेका हुन् ।

ठूला देखि साना दलले आफ्ना उम्मेद्वार अझै खडा गर्न सकेका छैनन् । वहालवाला जनप्रतिनिधिले पनि आफ्नो पद छाड्ने खासै मनस्थितिमा छैनन् । हरेक राजनीति दलका जनप्रतिनिधिले पुनः दोहोरिने इच्छा राखेका छन् । तर, कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले भने आगामी स्थानीय तहको चुनावमा उठ्ने छैनन् ।

नेकपा (एमाले)बाट गएको ०७४ सालको स्थानीय तहको चुनावमा शिवराज नगरपालिकाको मेयरमा शानदार जित निकालेका अधिकारी त्यस क्षेत्रका सुपरिचित नेता हुन् । एमालेबाट कुनै गठबन्धन बिना जित हासिल गरेका अधिकारीले पुनः मेयरमा उठ्ने इच्छा नदेखाएका हुन् । पार्टीले मेयरका आकांक्षीहरुको नाम प्रदेशमा सिफारिस गरिरहदा अधिकारी भने आफ्नो अन्तिम कार्यकाल कसरी स्वर्णीम गराउने भन्ने ध्याउन्नमा छन् ।

‘नयाँपुस्तालाई अगाडी बढाउनका लागि मेयर पदमा पुनः दाबी गरेन्, अधिकारीले भने, ‘उमेर अवस्था, नयाँ पुस्ताको चाहना र स्वतन्त्र जीवन विताउनका लागि बाटो खुला गरेको हुँ ।’
आफ्नो कार्यकालमा नगरको विकास राम्रै गरेको अधिकारी बताउँछन् । ‘चुनावमा बोलेका लगभग धेरै कुरा पूरा गर्न सफल भएको छु, आफ्नो कार्यकालमा भए गरेका कामको मूल्याङ्कन आउने जनप्रतिनिधिले पनि गरुन् भन्नका लागि पनि पुनः मेयरमा नउठेको हुँ ।’

मेयर पदमा पुनः नउठे पनि राजनीतिबाट भने अझै टाढा नहुने उनले जनाए । जीवनका उर्जावान समय देश, जनता र विकासका लागि खर्चेका अधिकारी ६८ बर्षका भए । एमालेको राजनीतिमा सक्रिय हुनका लागि माध्यमिक तहको शिक्षण पेशाबाट राजीनामा दिएर पूर्णकालिन बनेका थिए ।

०५४ सालमा साविक शिवपुर गाविसको अध्यक्षमा निर्वाचित अधिकारी त्यस क्षेत्रका जनता माझ लोकप्रिय छन् । गाविसको कार्यकालमा थुप्रै विकास निर्माणका काम गरेका उनी ०६४ मा संविधान सभाको निर्वाचनमा तत्कालिन क्षेत्र नं. ४ बाट उम्मेद्वार बनेका थिए । मधेसी समुदायको बाक्लो बस्ति रहेको यस क्षेत्रमा मधेस केन्द्रीत दलको दबदबा क्षेत्र हो ।

माओवादी र मधेस आन्दोलनको रापताप देखिने यस क्षेत्रमा अधिकारी जित्नका लागि भन्दा पनि कार्यकर्ताको मत जोगाउन उठेका थिए । ०६४ को चुनावमा जमानत जोगाएका अधिकारी ०७० को दोस्रो संविधानसभाको चुनावमा झण्डै ३ सय कम मतले पराजित भएका थिए ।

कम्युनिष्ट राजनीतिको खासै प्रभाव नरहेको चन्द्रौटा क्षेत्रमा अधिकारी यस्ता पात्र हुन् जसले कम्युनिष्ट राजनीतिमा पनि सम्भावना छ भन्ने प्रभाव छाड्न सफल रहे ।

०७४ को स्थानीय तहको चुनावमा मेयर पदमा अधिकारी लडिरहदा मधेसमा एमालेको नकरात्मक प्रभाव थियो । मधेस केन्द्रीत दलहरु एमाले विरुद्ध लागेकै परिवेशमा मधेसी समुदायकै समर्थनमा उनले मेयरमा बाजी मार्न सफल भएका हुन् । संविधानसभामा चुनाव लडेका अधिकारी स्थानीय तहको मेयरमा लडिरहदा तमाम प्रश्न उठेपनि उनले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पराजित गर्न सफल भएका थिए ।

जिल्लाका १० स्थानीय तह मध्ये ६ वटा नगरपालिका छन् । जसमा ५ नगरपालिकामा एमाले पराजित बने पनि अधिकारी एमालेबाट मेयरमा जित्ने पहिलो नेता बन्न भएका भए । वाणगंगा र बुद्धभूमि जस्ता एमालेको राम्रो पकट रहेको क्षेत्रमा मेयर हारिरहदा अधिकारीले पार्टीको इज्जत बचाएका थिए । ४ गाउँपालिका मध्ये विजयनगरमा मात्र एमालेले जितेको थिए । समग्र ८ पालिकमा एमालेले प्रमुख पदमा हार खाइरहेका अधिकारी मेयरमा विजयी भएका थिए ।

एमाले भित्रको राजनीतिमा अधिकारी जिल्लाको सिनियर नेता हुन् । अधिकारी जिल्ला भित्र सक्रिय राजनीति गर्ने अधिकांश नेताका पनि गुरु हुन् । तत्कालिन तौलिहवामा उनी लामो समय शिक्षण कार्यमा सक्रिय हुँदा अधिकांश नेता उनका चेला थिए ।
कृषि विषयमा विएस्सी पास गरेका अधिकारी राजनीतिमा हार, जीतको प्रस्थान विन्दु हो भन्ने उदाहरण पनि हुन् । निरन्तर सक्रियताले व्यक्तिलाई कुनै बेला इचाईमा पु¥याउँछ भन्ने उदाहरणीय पात्र अधिकारी हुन् ।

अबका केही दिनमा शिवराज नगरको जिम्मेवारी हस्तान्तरण गर्ने समय कुरिरहेका अधिकारीले राजनीति बाटो हिड्न भने छाड्ने छैनन् । मायादेवी अनलाइनसंगको कुराकानीको क्रममा उनले पार्टीले टिकट दिए प्रतिनिधिसभामा उम्मेद्वार बन्ने इच्छा रहेको बताए । त्यति बेलासम्म परिस्थिति भिन्न भए त्यस बेला पनि आफु नलड्ने उनले बताए ।

‘अझै केही समय सक्रिय राजनीति गर्छु, मेयर र प्रदेशमा चुनाव लड्दैन्, पार्टीले आवश्यक ठाने प्रतिनिधि सभामा चुनाव लड्छु, उनले अगाडी थपे, त्यो बेलासम्म परिस्थिति फेरिए केही छैन्, घुमफिरको जीवन विताउँदै नयाँ पुस्ताको पक्षमा निरन्तर सक्रिय हुन्छ ।’

राजनीतिमा बार्गेनिङको पक्षमा आफु नरहेको पनि उनले प्रष्ट पारे । ‘मेयर छाड्दै गर्दा यो वा त्यो नाममा बार्गेनिङ गरेको छैन्, उनी भन्छन्, ‘पार्टीलाई अगाडी बढाउने सवालमा बाधक चाहीँ बन्न हुँदैन् । आफु मात्र सवथोक हुँ भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्