तिलोत्तमामा भ्रष्टाचार निमूल पार्ने प्रतिवद्धतासहित जनमुक्तिको ६२ बुंदे प्रतिवद्धता (पूर्णपाठसहित)


appharu

१७ बैशाख २०७९, शनिबार १५:४८ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । राष्ट्रिय जनमुक्ति पार्टीले तिलोत्तमा नगर सरकारमा भ्रष्टाचार निर्मूल पार्ने प्रतिवद्धता सहित ६२ बुंदे घोषणापत्र सार्वजनिक गरेको छ । तिलोत्तमामा जनमुक्ति पार्टी मेयरमा सुन्दर गुरुङ र उपमेयरमा गीता सारुको नेतृत्वमा चुनाव लड्दैछ ।
‘सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार : स्थानीय तहमा जनउत्तरदायी विकास निर्माणको आधार’ मूल नारासहित जनमुक्तिले प्रतिवद्धता सार्वजनिक गरेको हो । तिलोत्तमामा राष्ट्रिय जनमुक्ति पार्टीले एमाले र कांग्रेसपछिको तेस्रो शक्ति दावी गर्दै आएको छ ।
मंगलापुरमा शनिबार पत्रकार सम्मेलन गरी पार्टीले एकीकृत विकास योजना बनाएर मात्र पुर्वधारहरु बनाउने, तिलोत्तमा रिंगरोड र ट्रली बसको योजनालाई अगाडि सार्ने,सामूहिक कृषि प्रणालीलाई प्राथमिकता दिंदै नगरपालिकाको लगानीमा मेगा कृषि फार्म सञ्चालन गर्ने,नगर अस्पताल सञ्चालन गर्ने, विपन्न, महिला, बालबालिका,जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार गर्ने, खानेपानी र विद्युत महशुल निशुल्क गर्ने योजना रहेको मेयरका उम्मेदवार सुन्दर गुरुङले बताए ।

यस्तै नगर खेलकुद एकेडेमी सञ्चालन गरी खेल क्षेत्रका प्रतिभालाई प्रोत्साहन भत्ता दिने, हरेक वडामा एउटा पार्क र पुस्तकालय स्थापना, ट्रली बस सञ्चालन र नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्ने,
स्थानिय तहमा उपलब्ध रोजगारी र अवसरहरूमा महिलाहरूका लागि ५० प्रतिशत कोटा सुनिश्चित गर्ने तथा उत्पिडित, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई मासिक प्रोत्साहन भत्ता दिने,बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
कार्यक्रममा पार्टीबाट वडा नं १ को अध्यक्षमा जीवन बुढाथोकी मगर, २ मा भिम बहादुर राना मगर, ३ मा केशरी तरामु गाहा मगर, ४ मा मधु थापा मगर,५ मा कमल गलामी मगर र ६ मा राधिका श्रीस मगरले उम्मेदवारी दिएका छन् । यस्तै वडा नं. ७ मा गिरिप्रसाद राना मगर, ८ मा प्रेमबहादुर बिरकट्टा मगर, ९ मा आश बहादुर गुरुङ्ग, १० मा महादेव थारु, ११ मा प्रेम ब कनौजे मगर,वडा नंं १३ मा कृष्ण सारु, १४ मा भोम बहादुर बुढा मगर, १५ मा युद्ध फगामी मगर, १६ मा दिलमाया गुरुङ्ग र वडा नंं १७ मा फुलमाया चौधरी उम्मेदवार रहेका छन् ।
हेर्नुहोस् प्रतिवद्धतापत्रको पूर्णपाठ :
सबैखाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार । स्थानीय तहमा जनउतरदायी विकास निर्माणको आधार ।।
समृद्ध तिलोत्तमा निर्माणका लागि
राष्ट्रिय जनमुक्ति पार्टीको सरकार किन ?

भ्रष्टाचारमुक्त स्थानिय सरकारः
राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोह र जघन्य राष्ट्रिय अपराध मान्दछ । त्यसैले भ्रष्टाचारी र भ्रष्टाचारलाई न्यूनीकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्ध स्थानिय सरकार बनाउनेछौं ।
दिगो पूर्वाधार विकास ः
दिगो र एकिकृत विकास योजनाको नीति कार्यान्वयन गर्ने ।
जहाँ घर र बस्ती त्यहाँ बिजुली, खानेपानी, संचार, यातायात, स्वास्थ्य सुविधा, ढल र कालोपत्रे बाटो अनिवार्य पु¥याउने ।
बढ्दो सहरीकरण र बस्ती विस्तारलाई मध्येनजर गरी सौन्दर्य, सुरक्षा र भावि जोखिमलाई ध्यानमा राखेर विकासको नीति कार्यान्वयन गर्ने ।
एक वडा, एक पार्क र एक पुस्तकालय स्थापना गर्ने र प्रकृति, पर्यावरण तथा मानवपूँजी संरक्षण र सम्बद्र्धनको निति बनाउने ।
तिलोत्तमा रिंगरोड र ट्रली बसको योजनालाई अगाडि सार्ने ।
सार्वजनिक स्थान–सडक, बगैचा, पुस्तकालय आदि प्रयोजनका लागि सौर्य उर्जालाई प्राथमिकता दिने ।
शिक्षा ः
तिलोत्तमा नगरपालिकालाई शैक्षिक हब र गुणस्तर शिक्षाको गन्तब्य बनाउने ।
सामुदायिक विद्यालयका शैक्षिक, भौतिक र अध्यात्मिक (नैतिक) को गुणस्तर उच्च बनाउने ।
शिक्षा, मौलिक अधिकार भन्ने मान्यतालाई आत्मसात गरी माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्थालाई व्यवहारमै लागु गर्ने ।
उत्पिडित, दलित, अल्पसंख्यक÷सिमान्तकृत र लोपोन्मुख समुदायका विद्यार्थीहरूलाई मासिक प्रोत्साहन भत्ता दिने ।
पालिका र युगको माग अनुसार प्राविधिक, व्यावहारिक र वैकल्पिक शिक्षा लागु गर्ने ।
वार्षिक विद्वतवृत्ति साथै उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने ।
तिलोत्तमा सरकार शैक्षिक तथा ईनोभेसन फेयर आयोजना गर्ने ।
बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने ।
शिक्षामा सक्षम तिलोत्तमा कार्यक्रम’ गर्नेे ।
स्वास्थ्य, सामाजिक सुरक्षा, न्याय र प्रतिनिधित्वः
तिलोत्तमा नगर हस्पिटल स्थापना गर्ने । बालबालिका, वृद्धवृद्धा र महिलाहरूलाई निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने ।
गम्भिर प्रकृतिका स्वास्थ्य समस्यालाई मध्यनजर गरी नियमित ग्राम स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
वृद्धवृद्धा, द्वन्द्वपिडित, एकल महिला, शारिरीक र मानसिकरूपमा अशक्तहरूका लागि घरदैलो सामाजिक सुरक्षा भत्ता, प्राथमिक स्वास्थ्य सेवा र आर्थिक सबलीकरणका लागि सुहाउँदो उद्यम कार्यक्रम गर्ने ।
७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क मासिक पौष्टिक आहार र ९० वर्ष पुरा भएकालाई स्वस्थ आहार तथा एक जना स्वास्थ्य सहयोगीसहित ‘पालिका अभिभावकको उच्च सम्मान’ प्रदान गर्ने ।
गरीबीको रेखामुनी रहेका जनताहरूलाई निःशुल्क खानेपानी, बिजुली, स्वास्थ्य सुविधा र जीविको पार्जनको कार्यक्रम गर्ने ।
दशकौदेखि नागरिकता र लालपूर्जा नपाएका वास्तविक जनताहरूलाई यथाशीघ्र उपलब्ध गराउने ।
अव्यवस्थित जग्गा पहिचान गरी सुकुम्बासीहरूलाई एकिकृत घर कार्यक्रमद्वारा घर बनाईदिने ।
पालिकाभित्र बसोबास गर्ने जाति समुदायलाई तिनको प्रथाजनिक कानून अनुसार चल्ने अधिकार सरकारले सुनिश्चित गर्ने ।
तिलोत्तमाबासीको समस्याको प्रकृति हेरेर ३ घण्टादेखि ३ दिनभित्र न्याय दिइने वा उचित न्याय नपाउँदासम्म सम्बन्धित निकायमा समन्वय गर्ने ।
स्थानिय स्तरका विभिन्न क्षेत्रमा उपलब्ध अवसरहरूमा सम्भव भएसम्म महिलाहरूका लागि ५०% कोटा सुनिश्चित गर्ने ।
२४ सै घण्टा दमकल, एमबुलेन्स, नगरप्रहरी र उद्धार दलको सेवा उपलब्ध गराउने ।
खेलकुदमा अब्बल तिलोत्तमाः
खेल क्षेत्रको संस्थागत विकासका लागि नगर खेलकुद एकेडेमी सञ्चालन गर्ने ।
हरेक वडामा खेल मैदान निर्माण गर्ने तथा १० वर्ष भन्दा कम उमेर देखि लक्षित गरी खेलको विभिन्न विधाको नियमित तालिम र वर्कसप आयोजना गर्ने ।
उत्कृष्ट खेलाडीहरूलाई खेलरत्न सम्मान र भत्ताको व्यवस्था गर्ने । उदयीमान खेलाडीहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिमको व्यवस्था गर्ने ।
तिलोत्तमाको पहिचान बन्ने गरी सुविधा सम्पन्न स्टेडियम निर्माण गर्ने ।
तिलोत्तमा, उन्नत कृषि योजनाः
५ वर्षभित्र नगरलाई आधारभुत कृषि उपजमा आत्मनिर्भर बनाउदै निर्यात गर्ने नगरपालिका बनाउने ।
परम्परागत कृषि प्रणालीमा आमूल परिवर्तन गरी उन्नत र प्राङ्गारिक (अर्गानिक) कृषि नीति लागु गर्ने ।
मल, बिज र सिंचाईको सुनिश्चिततासहित सामुहिक तथा पकेट कृषि कार्यक्रम गर्ने ।
कृषि व्यावसायिक पशुपालकका लागिघरदैलो प्राविधिक सेवा र पशुविमा कार्यक्रम ।
किसानले उत्पादन गरेको कृषि उत्पादनको २०% मुनाफासहित बजारको ग्यारेण्टी गर्ने ।
कृषि उत्पादनहरूलाई मध्येनजर गरी कोल्ड स्टोर र चिस्यान घर स्थापना गर्ने ।
तिलोत्तमा कृषि मेला आयोजना गर्ने ।
पूर्ण रोजगारी, उद्यमशिलता र उद्योगमय तिलोत्तमाः
तिलोत्तमा नगरपालिकामा सञ्चालन भएका र हुने उद्योगहरूमा कम्तिमा ६०% जनशक्ति नगर कै हुनु पर्ने नीति कार्यान्वयन गर्ने ।
विद्यार्थीहरूलाई लक्षित गरी पढ्दै–कमाउदै उद्यम कार्यक्रम गर्ने ।
उद्यम प्रतियोगिता आयोजना गर्ने तथा संचालित उद्यमहरुलाई मूल्य श्रृखलामा स्तरोन्नती गर्ने ।
नयाँ उद्यम वा उद्योग शुरु गर्ने युवा तथा महिलाहरूलाई दर्ता शुल्कसहित ३ वर्षसम्म ५०% कर छुट दिने ।
नयाँ उद्यमी, साना तथा लघु उद्यमी र कृषि उद्यमीहरूका लागि सहुलियत कर्जा(ऋचभमष्त न्गबचबलतभभ क्अजझभ) कार्यक्रम गर्ने ।
औद्योगिक तिलोत्तमाका लागि उद्योग मैंत्री नीति र तिलोत्तमा उद्योग ग्राम स्थापना गर्ने ।
तिलोत्तमा नगर ः सफा, सुन्दर, हरियाली र पर्यटनमय गाउँ–शहरः
सफा तिलोत्तमा, हाम्रो सभ्यता र हरियाली तिलोत्तमा, हाम्रो पहिचान बनाउने ।
फोहरमा मोहर तथा फोहरको दिगो व्यवस्थापन लागि डम्पिङ्ग साइड र रिसाईक्लिङको व्यवस्था गर्ने ।
‘पालिका–वडा हरियाली अभियान’ अन्र्तगत नियमित रुख रोप्ने तथा सरकारको हरेक कार्यक्रम (विशेष गरी पूर्वाधार) गर्दा रुख–विरुवा अनिवार्य रोप्ने नीति लागु गरिनेछ । हरियाली संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सक्रिय व्यक्ति र संस्थालाई पुरस्कार र सम्मान गर्ने ।
पालिका अन्तर्गतका सामुदायिक वनहरूलाई मिनी सफारी र रिसर्च पर्यटनको रूपमा विकास गर्ने ।
तिलोत्तमा बहुल जाति र संस्कृति सम्पन्न पालिका भएकोले होमस्टेको योजना लागु गर्ने ।
तिलोत्तमालाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक गौरवहरूलाई उत्थान, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने ।
तिलोत्तमालाई बुद्ध जन्मभूमि लुम्बिनी र मावली देवदहको पर्यटन करिडोर बनाउने ।
समृद्ध तिलोत्तमाका लागि थप १२ संंकल्पहरूः
पालिकामा अनलाईन सेवासहित दु्रत सेवा प्रवाह, सदाचार तथा सुशासनका लागि नमूना पालिका बनाउने ।
उत्कृष्ट राष्ट्रसेवक सम्मान तथा युग सापेक्ष क्षमतावृद्धि कार्यक्रम गर्ने ।
मासिकरूपमा जनतासंग जनप्रतिनीधि कार्यक्रम आयोजना गर्ने ।
सञ्चार क्षेत्रको गुणात्मक विकास र सञ्चारकर्मीको क्षमतावृद्धिको कार्यक्रम गर्ने ।
तिनाउ दोहनले निम्त्याउने भावि जोखिमलाई मध्यनजर गरी तिनाउ दोहन नभएर तिनाउ संरक्षण र नयाँ संभावना खोजीसहित समन्यायिक उपयोग गर्ने ।
युवाहरूलाई राष्ट्रसेवाको अवसरको लागि तिलोत्तमा ‘जनप्रशासन फेलोसिप कार्यक्रम गर्ने ।
पालिका र तिलोत्तमाबासीको संयुक्त लगानीमा ‘तिलोत्तमा गौरवको योजनाको नीति लिने ।
बहुआयामिक सम्मेलन (युवा सम्मेलन, महिला सम्मेलन, शैक्षिक र धार्मिक सम्मेलन) आयोजना गर्ने ।
तिलोत्तमाबासी भू.पू.सैनिक, प्रहरी र सुरक्षा सेवाबाट निवृत्त भएकाहरूको अनुभव, सीप र विज्ञताको नगरहितमा उपयोग हुने नीति लिने ।
आदिवासी जनजाति, दलित, तेस्रो लिङ्गी र अल्पसंख्यकहरूको पहिचान, पहुँच र प्रयासको सम्मान, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनार्थ कार्यक्रम गर्ने ।
बाढी पहिरो, दैवी प्रकोप, आगलागी र प्राकृतिक जोखिमलाई मध्येनजर गरी नगर र हरेक वडामा उद्धार सेल स्थापना गर्ने ।
शिक्षा, बन, स्वास्थ्य र सञ्चार क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गराउने ।

प्रतिक्रिया दिनुहोस्