एमाले नेता विष्णु पौडेलसहित मेयर उपमेयरद्वारा मौन अवधि उल्लंघन, घर घर हिंडेका एमाले कार्यकर्तालाई स्थानीयले लखेटे


appharu

२९ बैशाख २०७९, बिहीबार २२:४५ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल नयांगाउंको नमस्ते पार्टी प्यालेसमा एमाले उपाध्यक्ष विष्णु पौडेल, बुटवलका मेयर र उपमेयरसहित सयौं एमाले नेताहरुले निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिको उल्लंघन गर्दै भेला भएपछि प्रहरीले पार्टी प्यालेस शिल गरेको छ ।

निर्वाचन आचार संहिता विपरित एमाले उपाध्यक्ष पौडेल मेयर शिवराज सुवेदी, उपमेयर गोमा आचार्यसहित ७–८ सय एमाले नेता कार्यकर्ताहरु पार्टी प्यालेसमा जम्मा भएर मतदाता प्रभावित पार्ने योजना बनाउंदै गर्दा कांग्रेस कार्यकर्ताले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले मौन अवधि उल्लंघन गरेको भन्दै एमालेलाई कार्यक्रम रोक्न निर्देशन दिंदै पार्टी प्यालेस शिल गरेको बताए ।
उता बुटवल ७ मा मौन अवधिमा मतदाता प्रभावित गर्न घरघर हिडेका एमाले कार्यकर्ता लखेटिएका छन् ।
बुटवल दीपनगरमा सरकारी कर्मचारी कल्पना थापाको नेतृत्वमा मतदातालाई भेट्दै हिडेको टोलीलाई स्थानीयले लखेटेका हुन् ।
गाडीमा उम्मेद्वार र पैसा लिएर हिडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेको स्थानीयले बताएका छन् ।
उनीहरू वडाका उम्मेदवार सहित भोट माग्दै पैसा दिने योजनाका साथ घरघरमा आएको स्थानीयले बताए । स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरूको टोली भागेको छ ।

प्रतिक्रिया दिनुहोस्