जांदाजांदै के भने सैनामैनाका चित्रबहादुरले ?


appharu

६ जेष्ठ २०७९, शुक्रबार २१:१७ मा प्रकाशित

पालिकापत्र, सैनामैना ।
बुटवल । सैनामैना नगरपाकिलाका निवर्तमान मेयर एवं यसपटकको चुनावमाएमालेबाट मेयर पदका उम्मेदवार चित्र बहादुर कार्कीले आफू चुनावमा पराजित भएपनि जनसेवामा जुट्न कुनै कुराले वाधा नपुराउने बताएका छन् । नगर प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका फणेन्द्र शर्मासहित निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै उनले यस्तो बताएका हुन ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पार्टी कार्यकर्ता जना जनतालाई निर्वाचनको परिणामलाई लिएर बिचलित नभई सहर्ष स्वीकार गर्नु पर्ने उल्लेख गरेका छन् ।
चित्रबहादुरको स्टाटस जस्ताको तस्तै

निर्वाचित र अनुभवी जनप्रतिनिधिका रुपमा यहाँहरुको निरन्तर सेवा गर्ने चाहना पूरा हुन नसकेपनि फिल्डमा रहेर जनसेवामा जुट्न कुनै कुराले वाधा पुर्याउने छैन । बरु सुन्दर र समृद्ध नगर बनाउने अभियानमा हाम्रो रचनात्मक सहयोग र सकारात्मक भूमिका नै रहने छ । निर्वाचनको परिणाम स्वीकार गर्दै उचित समयमा हामीले आन्तरिक समीक्षा गर्नेछौं र कारणहरु पहिल्याउने छौं । अहिले भने हामी सबै कमरेडहरुलाई रत्तिभर निराश नभइकन, एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्दछु । निर्वाचनमा अहोरात्र खट्ने सबै अग्रज कमरेडहरु, विभिन्न जिम्मेवारीमा रहनुभएका पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरु, निरन्तर खटिनु हुने युवा स्वयंसेवक, कलाकार, सञ्चारकर्मी, मुलुकका विभिन्न ठाउँ र प्रवासलगायतबाट समेत दुःखकष्ट सहँदै उपस्थित भएर हामीलाई मत दिनु हुने आदरणीय मतदाता र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु लगायत सबैप्रति आभार प्रकट गर्दछु ।

संविधान जारी भइसकेपछिको पहिलो स्थानीय सरकारको प्रमुखका रुपमा पाँच वर्ष सैनामैनाको नेतृत्वमा रहँदा हामीले सुरु गरेका आवधिक योजना पूरा भएको र दीर्घकालीन योजनाहरु प्रभावकारी रुपमा अगाडि बढेको कुरा विदित नै छ । यसअवधिमा हामीले आवश्यक कानुनी र संरचनागत व्यवस्थापन गर्दै सैनामैनालाई एउटा सुन्दर र समुन्नत सहर बनाउने बलियो आधार तयार पारेका छौं । प्रमुख प्रशासनिक भवनदेखि विभिन्न वडाका भवन, स्वास्थ्य शिक्षाका सामुदायिक भवन, मुलुकमै लामो चक्रपथ लगायतले गौरव गर्ने थुप्रै आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढेका छन् । समृद्ध सैनामैनाका लागि तय भएका आधारलाई साकार पार्ने काममा अब बन्ने नयाँ नगर सरकार केन्द्रित हुनेछ भन्ने विश्वास छ । निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । धन्यवाद
चित्रबहादुर कार्की
सैनामैना नगरपालिका

प्रतिक्रिया दिनुहोस्