पालिकापत्र,बुटवल । सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने
टिप्पणी सदर गरेर बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले नगर प्रमुखको कार्यभार शुरु गरेका छन् । पाण्डेयले बुटवलमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या प्रमुख समस्या रहेको भन्दै अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा न्यून शुल्क लिएर अस्थायी प्रमाणपत्र दिई उनीहरुलाई जग्गाको मालिक बनाउने बताए । अस्थायी प्रमाणपत्र वितरण र नामसारीको काम दिने काम वार्डबाटै शुरु गर्ने मेयर पाण्डेयले बताए । दीर्घकालीनरुपमा भने राष्ट्रिय भूमि आयोगसंग सहकार्य गरेर जग्गाधनी प्रमाणपत्र वितरण गर्ने बताए ।
पदभार ग्रहणपछि पत्रकारहरुसंग कुरा गर्दै पाण्डेयले चौराहा–गोलपार्क सडक निर्माण छिटो पूरा गर्न पहल गर्ने, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरोको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले गृहिणी र विद्यार्थीलाई रोजगार दिने , बुटवलमा नयाँ अटो भिलेज र नयां कृषि थोक बजार केन्द्र निर्माणलाई पनि प्राथमिकतामा रोखर काम गर्ने बताए ।
पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । उनले बुटवललाई सबै दल र संघसंस्थाको साझा चौतारी बनाउने बताउंदै आएका छन् । मेयर पाण्डेयसंगै उपमेयर एमालेकी सावित्रादेवी अर्यालले पनि पदभार ग्रहण गरेकी छन् ।