मेयर खेलराजले सफाईकर्मी मजदुरसंग खाना खाएर मनाए गणतन्त्र दिवस , निवर्तमान शिवराजले नमस्कार पनि फर्काएनन्


appharu

१५ जेष्ठ २०७९, आईतवार १३:१३ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचत मेयर खेलराज पाण्डेयले सफाईकर्मी मजदुरसंग सहभोज गरेर १५औं गणतन्त्र दिवस मनाएका छन् । श्रमिक वर्गलाई पनि गणतन्त्र दिवसको महसुस होस् भनेर आफूले यस्तो कार्यक्रम आयोजना गरेको नगर प्रमुख पाण्डेयले बताए । ‘गणतन्त्र दिवसमा सफाईकर्मी मजदुरसंग सहभोज गरौं भन्ने लाग्यो र उपमेयरसंग प्रस्ताव राखें, उहांले एकदमै राम्रो भन्नुभयो’–मेयर पाण्डेयले भने । देशमा गणतन्त्र आएको श्रमजिवी वर्गले पनि अनुभूति गर्न पाउनुपर्छ, उहांहरु हेपिएको महसुस नहोस् भनेर आफूले सहभोज कार्यक्रम राखेको नगर प्रमुख पाण्डेयले बताए । नगरलाई सफा र स्वच्छ राख्न सफाईकर्मी मजदुरको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई खुशी बनाउन सके मात्रै नगर सफा र स्वच्छ हुने नगर प्रमुख पाण्डेयले बताए । उनले आगामी नीति तथा कार्यक्रम र वजेटमा सफाइकर्मी मजदुरको तलब भत्ता बृद्धिलाई प्राथमिकतामा राखिने बताए ।
सफाईकर्मी मजदुर जितबहादुर दर्जीले यसअघिका मेयर शिवराज सुवेदीले आफूहरुलाई बेवास्ता गरेको र नमस्कार पनि नफर्काएको गुनासो गरे । नयां मेयर आएपछि पहिलोपटक आफूहरुलाई सम्मान दिएको भन्दै खुशी व्यक्त गरे । ‘अहिले विरोध गरेजस्तो होला, तर यसअघिका मेयर शिवराज सुवेदीले हामीलाई पटक्कै वास्ता गर्नुभएन, नमस्कार गर्दा पनि फर्काउनुभएन’–दर्जीले भने–‘अहिलेका मेयर आएपछि हामी एकदमै खुशी छौं, अब हाम्रा समस्या गुनासा सुन्नुहुन्छ भन्ने विश्वास छ । कार्यक्रममा उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल, वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्