पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा नगर प्रमुख र १७ मध्ये ९ वटा वडामा अध्यक्ष जितेको नेपाली कांग्रेस अल्पमतमा परेको छ । बुधबार ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै सदस्य एमालेले जितेको छ । ८ जना सदस्य जितेसंगै कार्यपालिकामा नेकपा एमालेको वहुमत पुगेको छ । जस अनुसार महिलातर्फ देवकी थारु, राधा शाही, लक्ष्मी घिले, तारा सुनार र सावित्रा पन्थी आचार्य तथा दलित र अल्पसंख्यकबाट सुरेन्द्र विक, नरबहादुर छन्तेल र रवि सेन्चुरी निर्वाचित भएका छन् । एमालेका उम्मेदवारहरुले ४४ मत र नेपाली कांग्रेसका उम्मेदवारहरुले ४२ मत पाएका तथा १ मत बदर भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए । २७ सदस्यीय कार्यपालिकामा एमालेको पक्षमा उपमेयर, ८ जना वडाअध्यक्ष र ८ जना सदस्य गरी १७ जना र मेयर जितेको कांग्रेसको पक्षमा १० जना मात्र भएका छन् । स्थानीय तह निर्वाचनमा यहां नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । मेयर कांग्रेसले जित्दा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार हेमन्त पाण्डे एमाले उम्मेदवार भन्दा आधा मत पाएर पराजित भएका थिए ।