मेयर पाण्डेयको फोटो दुरुपयोग गरेर मेलाको निम्तो


appharu

१९ जेष्ठ २०७९, बिहीबार ०८:०५ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल १२ स्थित आध्यात्मिक स्थल पीस पार्क नजिकै आयोजना गरिएको बेमौसमी एक मेलाको उद्घाटनको निमन्त्रणामा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयको फोटो अनुमति नलिई प्रयोग गरिएको छ । मेला आयोजक राजबीर जैसवाल र स्थानीय मनकामना युवा क्लबका अध्यक्ष दीपक पुन मगरको नाममा गरिएको निमन्त्रणामा मेयर पाण्डेयको फोटो दुरुपयोग गरिएको हो । कुनै व्यक्तिको अनुमति नलिई सार्वजनिकरुपमा फोटो प्रयोग गर्नु गैरकानुनी काम हो । त्यसमाथि ब्यापारिक स्वार्थको मेलामा मेयरले नमस्कार गरेको फोटो राखेर मेयरले मेलामा आउन निम्तो गरेको भ्रम पार्न खोजिएको छ । मेयर पाण्डेयले नमस्कार गरेको फोटोसहितको निमन्त्रणा सामाजिक सञ्जालमा मेला आयोजक र केही कलाकारले पोष्ट गरेका छन् । मेयर पाण्डेयले आफूसंग अनुमति नलिई फोटो प्रयोग गरिएको बताए । ‘मलाई सोधिएको होइन, किन प्रयोग गरेको हो म बुझ्छु’–मेयर पाण्डेयले भने । बेमौसमी मेलामा दर्शक नआउने स्थिति देखिएपछि मेयरको फोटो दुरुपयोग गरेर मान्छे तान्न सकिन्छ कि भनेर यस्तो गलत हर्कत गरिएको हुनसक्ने जानकारहरु बताउंछन् । पीसपार्क नजिकैको खेल मैदानमा १९ गतेदेखि २९ गतेसम्म जयमाता दी एम्युजमेन्ट प्रालिले मेला आयोजना गरेको हो । आध्यात्मिक र पर्यटकीय स्थलको रुपमा यसअघि नै विकास भइसकेको ठाउंमा पर्यटन विकासका लागि मेला गरेको भन्नु जनतालाई झुक्याउने वाइयात कुरा भएको स्थानीय बताउंछन् ।

प्रतिक्रिया दिनुहोस्